site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
हेर्नुको अर्थ, देख्नुको अभिप्राय
SkywellSkywell

बिछ्याएर आँखाहरू गोरेटोका धमिला धब्बाहरूमा । पर्खाइ पनि कति पट्यारलाग्दो, क्षणभर पनि दिनभरजस्तो शक्तिशाली पदचाप पछ्याउनु छ । देउरालीलाई पाती चढाएको पनि अन्धविश्वासको पछि लागेजस्तो भयो ।

यो उदासी, बेचैनी मेटेर भेट्नु छ उर्वर दिनहरू । उत्साहले भरिएका ऊर्जाशील क्षणहरू । अनि, हेरेर सन्तुष्टिको श्वास फेर्नु छ । देखेर आनन्दले वशीभूत हुनु छ । हेर्नुको अर्थ र देख्नुको अभिप्राय खोल्नु छ । हेरेपछि भोको पेटमा पनि अघाउँजी–अघाउँजी हुनु छ ।

नहेरौँ कसरी ? हेरिरहौँ पनि कति ? हेरौँको भोक, नहेरौँमा झोक देखाउनु हुँदैन । नहेरौँको झोक हेरौँमा वाक्क पार्नु भएन । तथापि, अघाइन्न रहेछ हेरेर । जति हेरे पनि हेरिरहूँ हेरिरहूँ नै लागिरहने । हेर्न नपाउँदा, देख्न नसक्दा कति छट्पटीहरू । कति बेचैनका दिनहरू । आशाजति सबै मरेर निराशाले घेरिएका दिनहरू । हेर्नै नपाई चुपचाप टोलाउनुपरेका दिनहरू ।

Dabur Nepal
NIC Asia

हेर्नैका लागि आँखा । देख्नैका निम्ति आँखा । हेरेरै थाहा पाइने धेरै कुरा । देखेरै जान्न सकिने कति कुरा । आँखाले नहेरी दिए कसरी हिँड्ने पाइलाहरू ? कसरी पुग्ने गाउँठाउँहरू ? कसरी चिन्ने आफन्त र पराईहरू ?

जुनसुकै प्राणीलाई पनि सबैभन्दा बढी आँखाको महत्त्व र आवश्यकता हुन्छ । त्यसमा पनि मानिस चेतनशील भएकोले मानिसका लागि आँखाले देखेर गर्नुपर्ने कामहरू अनेक हुन्छन् । त्यसैले आँखा सबैका लागि अति नै प्यारो हुन्छ । आँखाले आँखा हेर्नुको छुट्टै आनन्द मिल्छ । आफ्नै आँखासामुन्ने आफूले खोजेको, भेट्न चाहेको र हेर्न मन लागेको कुरा प्रत्यक्ष देख्न पाएपछि आह्लादमय पलले स्वतः अँगालो हाल्न आउने रहेछ ।

आँखाले देखेरै त भएका हुन् नयाँ आविष्कार, विज्ञान प्रविधिमा फड्को । अन्यथा ढुंगेयुगमै मानिसको जीवन पशुपक्षीभन्दा के कम हुने थियो होला र ! हामीले आज बाँच्न पाएको सुविधाको जीवनमा आँखाकै योगदान छ । आँखाले नहेरी दिए मनले कसरी पढ्न सक्नु अक्षरहरू ? नदेखी कसरी लेख्न सक्नु मनका भावनाहरू अनुभूतिको अक्षरमा ?

कसरी देख्न सक्नु प्रिय मान्छेका अनुहार र प्राकृतिक छटाका छविहरू ? तिनले हेर्न र देख्न नपाए आँखा हुनुको के अर्थ ? आँखा नहुनुको के अर्थ ? आँखाले नै संसार चिनाउँछ । आँखाले देखेरै संसार चिनिन्छ ।

आँखाले नदेख्ने कुरा के देख्दो रहेछ त्यो खोजीखोजी नियालेर हेर्छु । नृत्यमग्न प्रकृति, शोकमग्न प्रकृति, रोगग्रस्त सन्तति, खडेरीले खङ्ग्रङ्ङ प्रकृति र जलमग्न प्रकृति । उत्सवमा उल्लसित प्रकृति । आँखाले सन्तान थरीथरी देख्छ । प्रकृति अनेक परी देख्छ । यसरी देखेपछिका भावानुभूतिले जीवनलाई ऊर्जा दिन्छ । सकारात्मक गति र सोचशैलीमा रूपान्तरण गर्छ ।

हेराइलाई मापन गर्न सक्नुपर्छ । हेराइमा आफूलाई बिलाएर सुखद भविष्यको साँचो सपना देख्न सक्नुपर्छ । कल्पना होइन, यथार्थको धरातलमा उभिन सक्नुपर्छ । हाम्रा हेराइका चाहना र कामनाहरू यस्ता हुन्, जहाँ हामी आफैँले आफूलाई निर्भय भेटेर भलाकुसारी गर्न सकियोस् ।

जस्तै, हामीले हिँड्ने बाटोभरि फूलैफूलको बिस्कुन भइदेओस् । हामीले देख्ने आँखाभरि सौन्दर्यको दर्शन गर्न पाइयोस् । हामीले लेख्ने अक्षर र पढ्ने पुस्तकभरि प्रकृति र जिन्दगीको चखिलो वर्णन भएको होस्, जसले केही सन्देश दिन सकोस् । हेरेर, लेखेर र पढेर प्रगतिको पाइला हिँड्न सकियोस् ।

हेर्न खोज्दा ओझेलिएका र देख्दादेख्दै नदेखिएका कुराहरू अफसोसका हुन्छन् । कोही आँखाले देखेर पनि नदेखेको स्वाङ पार्नेहरू हुन्छन् । कोही नदेखेर पनि देखेको झुटो बोली बोल्नेहरू भेटिन्छन् । हेरेर आँखा झिम्क्याएर मायाको आह्वान गर्नेहरू पनि पाइन्छन् । आँखामा आँखा मिलाएर संसार बिर्सिएर कोही कसैलाई नदेख्ने, नचिन्नेहरू हुन्छन् । पहिलो हेराइमा लट्ठ्याएर फसाउनेहरू पनि हुन्छन् । मूलतः हेर्नुको अर्थ र अभिप्राय बुझ्न सक्नुपर्छ ।

लेख्दालेख्दै नलेखिएका र नलेखीकन पनि लेखिएका विषयहरू जीवनका अनुरागहरू हुन् । जीवनका विश्वास र विम्बहरू हुन् ।

अतः हेर्नु नै पर्छ आँखाले । देख्नु नै पर्छ आँखाले । खराब कुराहरू होइन, नराम्रा दृश्यहरू होइन, देख्नुपर्छ आँखाले सुन्दरताका स्वरूपहरू । हेर्नुपर्छ आँखाले प्रकृतिका लस्करमार्गहरू । जहाँ आँखा हिँडेर पाइलाले तृप्तिको स्वाद पाउँछ, जहाँ आँखा देखेर अनुभूतिको आकार निर्माण हुन्छ, त्यहाँ रमाइलो पहेलीका सुहाग–सौन्दर्यहरू पुष्पित र पल्लवित भइरहेका हुन्छन् । त्यहाँ मायाको हार्दिकपनले सुमधुर झंकार प्रदान गरिरहेका हुन्छन् ।

सुदूरअतीतबाट सम्झनाका धूमिल स्मृतिमा बौरिँदै क्रमशः जीवनमार्गमा बामे सर्न हेर्नुको कति सुन्दर स्पर्श स्पन्दित भएको हुन्छ ।

अनि, आँखाले नहेरूँ कसरी ? आँखाले नदेखूँ पनि कसरी ? देख्नैका लागि रहेछन् यी लोभी आँखाहरू । हेर्नैका लागि नै रहेछन् यी चतुर आँखाहरू । कसैलाई देखेर भुतुक्कै हुने यही आँखा, कसैलाई देख्न नपाएर टोलाउने पनि यही आँखा । कसैलाई देख्नुपर्ला भनेर तर्किंदै भाग्ने पनि यही आँखा ।

आँखा नभए दिउँसै अन्धकार । आँखा भए सुन्दर संसार । आँखाकै ज्योतिले झलमल्ल रङका अनेक रूपहरू । आँखाले देखेर मनले महसुस गरेपछि नै हुन्छ त्यसको प्रभाव र प्रेरणाका बयान–विवरणहरू । प्रथमतः देख्नु नै ठूलो कुरा हुन्छ । हेर्न सक्नु वा हेर्न पाउनु नै पहिलो प्राप्तिको खुड्किला हुन्छ । तत्पश्चात् त्यसले उत्पन्न गर्ने प्रतिक्रियाका बेलीविस्तार गरी साध्य हुँदैन ।

अनि, नहेरौँ कसरी ? हेरिरहौँ पनि कति ? हेर्नुको परिणाम र देख्नुको प्रगति त्यसले मनमा पार्ने छापमा निर्भर हुन्छ । त्यो त्यस्तो छाप जहाँ मरुभूमिमा पनि हराभरा फूलको मुस्कान पाउन सकिन्छ । कडा कठोर पत्थरमा पनि मायाको नरम स्पर्श पाइन्छ । जसरी कि हिलो माटोमा पनि कमलको फूलले फुल्ने अवसर पाएको हुन्छ । देख्ने आँखाले त्यसलाई आत्मसात् गर्दा भावनाका बग्रेल्ती भेलबाढी नै पनि बग्न सक्छ ।

देख्नेले पो देख्छन्, नदेख्नेले चाहिँ के देख्छन् ? तर, देख्छन् झन् धेरै कुराहरू नदेख्नेले । भित्री आँखाले समेत देख्छन् उनीहरूले । देख्नेका आँखाले समेत देख्न नसकेका कुराहरू देख्छन् ती नदेख्ने आँखाहरूले । देख्ने आँखाहरूले ‘देखिएका कुराहरू’ मात्रै देख्छन् । नदेख्ने आँखाहरूले त हामीले ‘नदेखेका कुराहरू’ समेत देख्छन् मजाले । र, बताउँछन् आँखाले देखेकै जस्तो गरेर खरर्र सिलसिलाबद्ध ।

हिमालका चुलीचुचुराका तरेलीहरूजस्तै सुन्दर । झरनाका पानी प्रवाहजस्तै एकनाशको वेग । फूलको सुगन्ध र रङलेपनको आकर्षक सुन्दरताजस्तै प्रिय । लहरलहर समुद्रका छाल–तरंगहरूजस्तै प्रवाह । हेर्नुको रहस्य र रोचक दृश्यावलीहरू । आहा, क्या मजाको हेराइका दृश्यहरू ! क्या बिछट्टैका देखेका दृश्यहरू ।

अन्ततोगत्वा देख्नुको बेग्लै आनन्द हुन्छ । हेर्नुको अलग्गै आनन्द मिल्छ । त्यही भएर होला, हेर्नका लागि मरिहत्ते हुन्छ । देख्नका निम्ति कति इच्छा र चाहनाहरू जन्मिन्छन् । आफूलाई मन परेको कुरा हेर्न कति चौचौ र हतार हुन्छ । आफूले नदेखेको कुरा देख्न कति रहर र उमंगहरू हुन्छ ।

एकप्रकारले हेर्नुको भोक त्यहाँ जागृत हुन्छ । देख्नुको दृश्य जहाँ उपस्थित हुन्छ । त्यहाँ औँसीको अन्धकारमा पनि जीवन–घाम झलमल्ल झल्किन्छ ।

आखिर हेरेरै हो गन्तव्यसम्म पुगिने । देखेरै हो कहाँ, के, कस्तो, को भन्ने कुराको ज्ञान हुने । नहेरे कहाँ पुग्नु गन्तव्य ? नदेखे के थाहा पाउनु के हो ? कहाँ हो ? कस्तो हो र किन, कसरी, कहिलेजस्ता प्रश्नहरू उब्जिने ।

आँखाले हेरेर मनले देख्नुको दिव्यज्ञान अध्ययनको गहिरो प्राप्ति हो । यसरी हेरेर देखिनु र देखेर भेटिनुले खोजेको सत्य मिल्छ । नयाँ परिवेशको पूर्ण मिठास महसुस गर्न सकिन्छ ।

अन्ततः हेरेपछिको सुखद सन्तुष्टि त्यहाँ मिल्छ । देखेपछिको उपलब्धि सार्थक हुन्छ । ती हेर्ने आँखाहरूलाई के थाहा ? मनले महसुस गरेर हृदयले आनन्द पाउनुको पल एक दिव्यानुभूति हो । आफूले चाहेको कुरा देख्न पाउनु र हेर्ने अवसर मिल्नुको खास लक्ष्य सधैँसधैँ स्मरणीय रहन्छ ।

आँखालाई बन्द गरेर कहाँ संसारबाट एक्लिन सकिन्छ र ! कहाँ केही नहेरी चुपचाप बस्न र बाँच्न सकिन्छ र !

केही नदेख्नुको पीडा अथवा केही हेर्न नपाउनुको सकसक साह्रै कष्टदायक हुन्छ । कल्पना गर्न सकिँदैन एकछिन नहेरी बस्न ।

जीवनमा एकपटकको हेराइ र देखाइलाई जिन्दगीभरि नै बिर्सिन नसकिने छाप परेको हुन्छ, जुन स्मृति बेलाबेला आँखामा झल्झली नाचिरहन्छ ।

त्यसैले नहेरिरहन सकिँदैन । नदेखी बस्न मन मान्दैन । हेर्ने आँखालाई चिम्म चिम्लेर कहाँ देख्नुको मिठास पाउन सक्नु ! मूलतः हेर्नुको अर्थ र देख्नुको अभिप्राय स्पष्ट हुनुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu