गजल – १
एउटा सुन्दर मन थियो त्यो मन हरायो
हेर्दाहेर्दै आफन्तको आफ्नोपन हरायो
गएछ कसरी सकिएर भएछ लौ खाली
मुटुभित्रै पनि छैन क्यारे धड्कन हरायो
आँखा बन्द गरेर हो लागेको सबै उस्तै
माथि गगन हरायो तल आँगन हरायो
कुनै सपनाहरू रंगिएनन् जिन्दगीमा
शृंगारबिना जीवनबाट यौवन हरायो
आजकल मान्छे पनि मान्छेजस्तै छैन
भित्रैदेखि दुर्जन आयो सज्जन हरायो
०००
गजल — २
म यसरी बाँचेको छु अलिकति सास बोकेर
कसरी उभियो धर्ती ? अनन्त आकाश बोकेर
धड्कनहरू ओहोरदोहोर गरिरहन्छन किन हो
मरेका आशा अनि सपनाहरूको लास बोकेर
यति धेरै नाचिरहन्छन् पातहरू केका लागि
यति चिसो सिरेठो अनि हुरहुर बतास बोकेर
तिमी जति प्रिय छौ बुझेन समयले कहिल्यै
यसैगरी चल्छ र जिन्दगी प्रेमको पास बोकेर
आइरहने होला याद त सायद उसैको निम्ति
जो उदाउँथ्यो हरपल जवानीमा मिठास बोकेर