site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
त्यो यात्रा 
SkywellSkywell

अखबार लेख्छ– यी तीन दिन नागरिकहरू बाहिर कतै आवश्यक कामले बाहेक यात्रा नगरून् । लाग्थ्यो, प्रकृतिले आफ्नो रौद्ररूप देखाउनेछ । विज्ञान हरक्षणको मौसम पूर्वानुमान गरेर दैवीय घटना न्यूनीकरण गर्ने ‘गुड सर्भेन्ट’ बनेको छ । मानव जति समय पछाडि जन्मँदै जान्छ, त्यति नै विज्ञान ‘बेटर फ्रेन्ड’ बन्नेछ । प्रकृतिको त्यो रूपको भयमा मलाई रत्तिभर केन्द्रित हुनु थिएन ।

हाम्रो गाडी त्रिशूलीको किनारतिर हुँइकियो । तिब्बत हुँदै बगेकी यी आफ्नो घाँटीसम्म पुरिएकी थिइन् । यी भरिएकी थिइन् । सुसाएकी थिइन् । र, टन्न कुहिरोले ढपक्क ढाकिएकी थिइन् । हामीलाई त्यो कुहिरो र नदीबीचको वार्तालाप के हुँदै थियो थाह भएन । हामी वेगमा थियौँ, बेँसीसहर पुग्न ।

बीचबीचको बर्सातले आकाश र धर्तीको सन्धि लगभग बराबर स्थानमा थियो । बाटो अवरुद्ध हुने पक्का थियो । तर, हाम्रो यात्रा तय भइसकेको थियो । हामीले निरन्तरता दियौँ । वर्षाले जंगल धोएर सफा, स्निग्ध बनाएको थियो । त्यसैले आँखाहरूमा शान्त शालीन शीतलताको अनुभूत हुन्थ्यो ।

Dabur Nepal
NIC Asia

भाइ केशव र मित्र गगन आफ्ना यात्राहरूमा मलाई कमै छुटाउँछन् । घुम्न पनि रहर गर्ने भएकाले उनीहरूसँग हिँड्न आनन्द नै लाग्छ । बाटोहरूको स्थिति बिग्रँदो थियो । सधैँझैँ बर्खामा दुःखदायी मुग्लिन सडकखण्ड कहिले स्तरीय होला ? कुनै सजक नागरिकले आकलन गर्न सक्दैन ।

हामी निस्फिक्री भएर गुड्दै गर्दा उता राजधानी सरकारलाई दिइएको सहमति फिर्ता लिइँदै थियो । प्रदेश सरकारहरू पनि अस्थिरतातर्फ उन्मुख हुँदै थिए । जसरी हाम्रो भौतिक पूर्वाधारको विकास अलपत्र छ, त्यसरी नै हाम्रो राजनैतिक विकास पनि अलपत्र छ । विश्वमञ्चमा हाम्रो जीवनस्तर, कूटनीति, मुद्रा, पासपोर्ट, सुरक्षाको जसरी अवमूल्यांकन छ, त्यसरी नै हाम्रो राजनैतिक नेतृत्वको अवमूल्यांकन छ । यी विकास सूचक र नेतृत्वको क्षमताबीच अन्योन्याश्रित सम्बन्ध छ ।

न्युज पढ्दै गर्दा हामी मर्स्याङ्दी नदी किनारतिर हुँइकिँदै थियौँ । यो देशको प्राकृतिक छटा विचित्र अनुपम छ । हामी लमजुङको गेट वे हिमालय रिसोर्ट पुग्दा रातिको करिब ९ बजिसकेको थियो । यो दुईदिवसीय टुरमा म एसडी मुनीको ‘डब्लिङ डिप्लोमेसी’ सिद्ध्याउने योजनामा थिएँ ।

साथीहरूको डिनर पार्टीबाट अलग्गिएर कोठामा पुगेर समाचार हेर्दा बेलायती कन्जरभेटिभ पार्टीका नेता सर कियर स्टार्मर लेबर पार्टीलाई हराएर भारी बहुमतबाट प्रम बनिसकेछन् । स्वास्थ्य सेवा प्रवाहको ढिलाइ र आप्रवासनको समस्या मात्र होइन, कन्जरभेटिभ पार्टीमा भएको तीन प्रमको बदलाब र अस्थिर राजनीति बेलायत सरकार परिवर्तनका कारक हुन् ।

यात्रा जोखिमपूर्ण थियो हाम्रो । हामीलाई पूर्वानुमान थियो । रातको बर्सातले ठाउँठाउँमा पहिरो, बाढी र खोलानाला बढेका थिए । जहाँ पुग्छौँ त्यहीँ घण्टौँ बिताउनुपर्ने अवस्थामा थियौँ ।

बेँसीसहरबाट हिँडिसकेपछि काठमाडौंमा पनि भीषण बर्सातको समाचार थियो । यो प्राकृतिक सिस्टम न कसैले चाहेर बन्द हुने न चाहा गरेर सञ्चालन हुने ! यो त समग्र सृष्टिको विधान हो, जो सबैले स्वीकार गर्नुपर्छ । जोखिम अनि चुनौतीको सामना गर्न तयार हुनु र भोग्नु नै भोगाइ र बुझाइको स्तरोन्नति हो । बढ्दो जलवायु परिवर्तन, आधुनिक विज्ञान प्रविधिले ल्याएको विकासको प्रतिस्पर्धा, आन्तरिकदेखि बाह्य द्वन्द्वले मानवको शान्ति खलल हुँदै गएको अवस्थामा यसअनुकूलन गुण अनिवार्य भइसकेको छ ।

हाम्रो आजको गन्तव्य पोखरा छ । मर्स्याङ्दी हिजोभन्दा आज रातको पानीले बढी उर्लेकी छिन् ।

जब तनहुँको घाँसीकुवामा खाना खान बस्यौँ, वर्षा झनै बढेर आयो । वरपर समेत नदेखिने भयो । खाना खाइसकेपछि लमजुङको भोर्ले हुँदै पोखरा लाग्यौँ । मादी नदीसँगको मेरो साक्षात्कार जीवनको पहिलोपटक थियो । मादी नदीको तटहरूमा कैयन् ऋषिमुनिको तप मात्र होइन, तपोभंग पढ्न केवल अक्षरमा मात्र सीमित थिए । ऋषिहरूको ध्यानस्थल क्रीडास्थलमा परिणत भएको यो जलधि स्थान पुग्ने मौका मिल्यो । म याद गर्छु, उनीहरूको ध्यान विधि र सम्भोगको कल्पना विधि दुवै उन्नत थियो होला ।

सोचको तरानामा डुब्दै गर्दा माथि बेगनासको डाँडा पुगिसकेछौँ । मलाई मलेसिया र मस्कोदेखि सेन्ट पिटर्सबर्गबीचको मानवनिर्मित जंगलभन्दा कैयन् गुणा सुन्दर जंगल लाग्यो । यस अनोखा वातावरणभित्र पसेर मुटु छुने संगीत सुन्दा यति भावुक बनायो, जसले यो यात्राले पुरापुर अर्ग्याजम प्राप्त ग¥यो ।

यात्रा, जीवनप्रतिको बुझाइ, अध्ययन, संगीत जिउँदो हुँदासम्म जीवनलाई सार्थक दिने कुरा हुन् । यसैमा जीवनको आनन्द र खुसीको ग्राफ चढ्ने गर्छ । छोटो जीवनमा धेरै अनुभव लिएर, थोरै शब्दमा धेरै अर्थ अटाएर टुंग्याउनु जीवन अर्थपूर्ण मानिन्छ । भौगोलिक यात्राहरू तय गर्न मन पराउनुहोस् । जीवनप्रतिका अनुत्तरित सवालहरूको जवाफ यात्राले प्रदान गर्न सक्छ ।

(लेकसाइड, पोखरा) 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu