अस्पतालको काउन्टरमा दुइटा लाइन– जनरल र इमर्जेन्सी । जनरलमा मान्छे नै मान्छे । लाइन पनि निकै लामो । इमरजेन्सीमा भने सीमित मान्छे । लाइन पनि छोटो ।
लाइनको व्यवस्थापनमा खटिएको थियो, एक चौकीदार । चौकीदारले आधा घण्टाजति अघि सुर्ती थुकेको थियो ।
गणेश सुर्ती मोल्दै पुग्यो, चौकीदारनेर । ‘सुर्ती खाने दाइ ?,’ गणेशले सोध्यो । चौकीदार किञ्चित् मुस्कुरायो र एक डोज सुर्ती टिप्यो ।
‘लाइन लामो रहेछ । अलि हतार थियो,’ गणेशले भन्यो । चौकीदारको के जान्थ्यो र ! उसले गणेशलाई इमरजेन्सीकै लाइन दियो ।
जनरलमा मान्छे थपिएका थपियै थिए । गणेशले पैसा बुझायो, फार्मेसीबाट लुतोको ओखती लियो र शिवसामु पुग्यो ।
बेन्चमा बसेर छोराको सबै गतिविधि हेरिरहेको शिव मुसुक्क मुस्कुरायो । ऊ गौरवान्वित भयो ।
‘तेरो छोरो धेरै बाठो छ,’ घरमा शिवले श्रीमतीसँग कुरा गरेको गणेशले सुन्यो ।
उसो त कुन लाइनमा उभिँदा समाजले प्रशंसा गर्छ भन्ने गणेश आफैँले पनि नबुझेको थिएन ।
(महालक्ष्मी—३, ललितपुर)