
बादलहरूको चिसो छानामुनि
घोत्लिँदै बसिरहन पाऊँ एक्लै
दिन बितोस् त यसरी ।
कुनै बूढो रुखको ढाडमा
आफ्नो ढाड जोडेर
घण्टौँ आफैँसँग कुरा गरिरहन पाऊँ
दिन बितोस् त यसरी ।
मलाई अटाउन नसकेको
उनको हृदयको फैलावटभन्दा निकै विशाल
कुनै हरियो चौरमा घाँस चपाउँदै उत्तानो सुतेर
हावाको चिसो वदन स्पर्श गरिरहन पाऊँ एक्लै
दिन बितोस् त यसरी ।
बादलको मसीले आकाशको कागजमा बनाएको
विभिन्न आकृतिहरू नियालिरहन पाऊँ
चराहरूको पखेटाले हावामा लेख्ने कविता पढिरहन पाऊँ
दिन बितोस् त यसरी ।
छेउमा कोही नहोस्
बरु, अरू थोक होस्
घाँस टन्नै होस्, जहाँ सपना हराओस्
रुख टन्नै होस्, जहाँ जीवन बिलाओस्
नदीको संगीत होस्,
जहाँ मिसियोस् पद्य पीडाको चित्कार
अनि, गद्य चैनमा परिणत होस्
दिन बितोस् त यसरी ।
मस्तिष्कमा कसैको यादको फूल नउम्रियोस्
हृदयमा कुनै जिम्मेवारीको घाउ नबल्झियोस्
आँखामा आँसु झर्ने कुनै कारण नअल्झियोस्
मनभित्र पश्चात्तापको आगो नसल्कियोस्
दिन बितोस् त यसरी ।
साँझ घर फर्किंदै गर्दा
यस्तो महसुस गरूँ कि
म खाली आकाश भएको छु
जो सम्पूर्ण ताराहरू खसालिदिएर
तृप्त अनि स्वतन्त्र भएको छ ।
दिन बितोस् त यसरी ।