site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालको नजरमा कुन दल कस्ता ? (पूर्णपाठ) 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक दलहरूप्रतिको नजर प्रस्तुत गरेको छ । जारी महाधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूप्रतिको नजर उल्लेख छ ।

नेकपा एसले सबैभन्दा ठूलो दल कांग्रेसलाई यथास्थितिमा रमाउने पार्टीको संज्ञा दिएको छ । “काँग्रेस पुँजीवादी चरित्रको पार्टी हो । नवउदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल–नोकरशाही पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । प्रजातान्त्रिक समाजवादको वकालत गर्ने र लोकतन्त्र एवं गणतन्त्र प्राप्तिको संघर्षमा सकारात्मक भूमिका निर्वाह गरेको यो पार्टी यथास्थितिमा रमाउने गरेको छ,” प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, नेकपा (एमाले)लाई दक्षिणपन्थी अवसरवादी प्रवृत्ति भएको पार्टीको रूपमा हेरेको छ । “मुलुकमा जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा समाजवादी कार्यक्रम र कार्यदिशा अंगाल्नु पर्नेमा त्यसो गर्न नसकेको हुनाले यस पार्टीको विचार र व्यवहार दुवै दक्षिणपन्थी भएको स्पष्ट हुन्छ,” प्रतिवेदनमा उल्लेख छ, “संविधानको मूल मर्म र भावनामाथि प्रहार गर्न पछि नपरेको यो पार्टी नीति प्रधान नभएर नेता प्रधान हुँदै गएको छ ।”

सत्तारुढ नेकपा (माओवादी केन्द्र) सैद्धान्तिक अन्योलतामा फसेको निष्कर्ष अध्यक्ष नेपालको छ । “सशस्त्र द्वन्द्वको सञ्चालनदेखि शान्तिप्रक्रिया हुँदै अहिलेसम्म आउँदा रूपान्तरणको प्रक्रियाबाट गुज्रिएको छ । नेकपाको विभाजनपछि फेरि माओवादी अंगालेको हुँदा यो पार्टी स्वयं सैद्धान्तिक अन्योलमा फसेको छ,” प्रतिवेदनमा भनिएको छ । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुँजीवादी चरित्रको पार्टी भएको प्रतिवेदनमा जनाइएको छ । यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको उल्लेख छ । त्यस्तै, संविधान, गणतन्त्र र संघीयताप्रति पनि दृष्टिकोण नदेखिएको अध्यक्ष नेपालको ठम्याइ छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सामन्ती तथा दलाल–नोकरशाही पुँजीवादी चरित्रको पार्टी रहेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा विभाजन अघिकै जनता समाजवादी पार्टीबारे उल्लेख छ । मुख्यतः मधेस प्रदेशमा प्रभाव राख्ने यस पार्टीले मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधित्व गर्ने उल्लेख छ । 

उदयीमान जनमत पार्टीमा विगतको धङ्धङी कायम रहेको ठम्याइ नेकपा एसको छ । “विगतमा मधेसलाई नेपाली आन्तरिक उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोच अंगालेर आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेको पार्टी हो,” प्रतिवेदनमा भनिएको छ, “अहिले संविधान मान्ने र त्यसअन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ । यो पार्टी गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध देखिन्छ । यस पार्टीमा अझै पनि विगतको धङ्धङी झल्किन्छ ।”

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro