site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘बंकर टु ब्यारेक’ : १३ वर्षमा २१ अर्ब खर्च भयो, संरचना अझै पूरा बनेनन् 
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली सेनाले आफ्ना सैनिक जवानहरूलाई सुरक्षित राख्न १० वर्षे कार्ययोजनासहित सुरु गरेको ‘बंकर टु ब्यारेक’ कार्यक्रम सुरु गरेको थियो । तर, १३ वर्ष बित्दा पनि पूरा हुँदा पनि लक्ष्य हासिल भएको छैन । 

कार्यक्रम सुरु गरेको १३ वर्ष बित्दा २१ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ, काम भने मात्र ६४.६४ प्रतिशत सकिएको छ । निर्धारित समयभन्दा तीन वर्ष बढी बित्दा काम अझै ३५.३६ प्रतिशत बाँकी छ । 

“पुराना भवन मर्मत संहार र २०७२ सालको भूकम्पले थप भवनहरूमा क्षति गर्दा लक्ष्य अनुसार काम भएको देखिँदैन । तर, जति बजेट हामीलाई प्राप्त भएको छ, त्यो अनुसार हामीले काम सम्पन्न गरेका छौं,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बाह्रखरीसँग भने । 

Prabhu Bank
Agni Group
NIC Asia

सैनिक प्रवक्ता केसीका अनुसार, ‘बंकर टु ब्यारेक’ कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८०/८१ मा मात्र ६० वटा संरचना गरिएको छ । योसहित ३ हजार ७८२ संरचना निर्माण कार्य सम्पन्न भएको छ । “बंकर टु ब्यारेक कार्यक्रम सुरु गर्दा हाम्रो लक्ष्य ५ हजार ८५० वटा संरचना निर्माण गर्ने भन्ने थियो । हालसम्म ३ हजार ७८२ वटा संरचना हामीले बनाइसकेका छौं,” सैनिक प्रवक्ता केसीले जानकारी दिए ।
 
आगामी आर्थिक वर्ष २०८१/८२ मा ७३ वटा संरचना निर्माण गर्ने लक्ष्यसहितको कार्य योजना सेनाले बनाएको छ । सरकारले यसका लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । 

२०५२ सालमा सुरु भएको माओवादी सशस्त्र संघर्षको प्रभाव बढ्दै गएपछि सरकारले सेनाको संख्या बढाउने निर्णय गरेको थियो । सरकारले ४८ हजारको हाराहारीमा रहेको सेनाको संख्यालाई ९६ हजार पुर्याउने निर्णय गरेको थियो । यो निर्णयसँगै सेनाको संख्या त बढ्यो, तर आवासका लागि संरचना बढेनन् । जसले गर्दा सेनाहरू बंकर, टेन्ट, त्रिपाल, जस्ताले बारेका टहरामा बस्न बाध्य भएका थिए । 

Global Ime bank

२०६२/६३ को जनआन्दोलनपछि तत्कालीन विद्रोही माओवादीसँग शान्ति सम्झौता भएपश्चात् आर्थिक वर्ष २०६५/६६ मा पहिलो पटक ‘बंकर टु ब्यारेक’ अवधारणा ल्याइएको थियो ।

त्यतिबेला राज्य व्यवस्था समितिका सदस्य (सांसद)हरूले रोल्पा, रुकुम, अछाम, सिन्धुलीलगायतका जिल्लामा नेपाली सेना रहेका स्थलको निरीक्षण गरेका थिए । अवलोकनका क्रममा सैनिक जवानहरू टेन्ट, त्रिपाल, जस्ताले बारेका टहरा, ओडारभित्र रहेको पाइएपछि उनीहरूलाई सुरक्षित स्थान सार्नुपर्ने बहस अघि बढेको थियो ।

यसैक्रममा समितिले सेनालाई सुरक्षित संरचनाको व्यवस्था गर्न भन्दै दिएको निर्देशनलाई कार्यान्वयन गर्न सरकारले ‘बंकर टु ब्यारेक’ कार्यक्रम स्वीकृत गरी अघि बढाएको थियो । आर्थिक वर्ष २०६८/६९ देखि जंगी अड्डाका लागि बजेट छुट्टयाउन थालिएको हो ।

‘बंकर टु ब्यारेक’ कार्यक्रम सुरु गरेको १० वर्षमा लक्ष्य पूरा गर्ने योजना बनाइएको थियो । उक्त अवधिमा कुल ५ हजार ८५० वटा संरचना निर्माण गर्ने लक्ष्य राखिएको थियो । 

अर्थ मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०६८/६९ देखि २०८०/८१ सम्म आइपुग्दा १३ वर्षको अवधिमा २१ अर्ब २ करोड ७५ लाख ६ हजार रुपैयाँ खर्च भइसकेको छ । उक्त रकम खर्च हुँदा हालसम्म ३ हजार ७८२ संरचना बनाउने काम सकिएको छ । सुरुमा तय गरिएकामध्ये २ हजार ६८ संरचना निर्माण गर्न बाँकी छ । 

पछिल्लो १३ वर्षमा यसमा प्रत्येक वर्ष औसतमा १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ । यत्रो रकम खर्च भइसक्दा पनि तत्लो तहका सैनिक जवान पाल, कच्ची घर, जस्ता पाताले बारेका पोष्टबाट पक्की भवनमा सरी ओत लाग्न पाएका छैनन् । 

‘बंकर टु ब्यारेक’ अन्तर्गत कहाँ कस्तो संरचना निर्माण गर्ने भन्ने निर्णय लिन रथीको अध्यक्षतामा समिति हुन्छ । सोही समितिले प्राथमिकताका आधारमा संरचना निर्माण गर्ने भन्ने निर्णय लिन्छ र निर्माण कार्य सुरु गरिन्छ । 

“यो अवधिमा २० वर्षभन्दा पुराना भएका पुनःनिर्माण गर्नुपर्ने ५०० संरचना थपिएका छन् । यो समेत जोड्दा ‘बंकर टु ब्यारेक’ कार्यक्रमअन्तर्गत अझै २ हजार ५६८ संरचना निर्माण गर्नुपर्ने देखिन्छ,” सैनिक प्रवक्ता सहायक रथी केसीले बताए । 

सरकारले यो कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको थियो । यसैकारण १५औं पञ्चवर्षीय योजनामा यसलाई समेटिएको थियो । १५औं पञ्चवर्षे योजनामा आर्थिक वर्ष २०७५/७६ मा १६९ वटा, २०७६/७७ मा १२१ वटा, २०७७/७८ मा १५० वटा, २०७८/७९ मा १७५ वटा, २०७९/८० मा १८० वटा र २०८०/८१ मा २०० वटा संरचना बनाउने लक्ष्य राखिएको थियो । 

योजनामा पाँच वर्षमा ९९५ वटा संरचना निर्माण गर्ने उल्लेख गरिएको थियो । तर ७०० सयको हाराहारीमा मात्र संरचना बनेका छन् । पर्याप्त बजेट नहुँदा लक्ष्य अनुसार संरचना बनाउन नसकिएको भनाई सेनाको छ । 

‘बंकर टु ब्यारेक’ कार्यक्रम सञ्चालन हुनुअघि पनि सरकारले जंगी अड्डालाई भवन निर्माण शीर्षकमा यस्तो रकम उपलब्ध गर्दै आएको थियो । आर्थिक वर्ष २०६५/६६ मा सरकारले जंगी अड्डालाई ब्यारेक निर्माणका लागि २५ करोड उपलब्ध गरेको थियो । यसको अर्को वर्ष २०६६/७७ मा व्यारेक निर्माणका लागि सरकारले सेनालाई ४५ करोड रुपैयाँ दिएको थियो । आर्थिक वर्ष २०६७/६८ मा यो रकम बढेर ७१ करोड २५ लाख रुपैयाँ पुगेको थियो । 

यो कार्यक्रम सुरु भएकै वर्ष (आर्थिक वर्ष २०६८/६९) सरकारले जंगी अड्डालाई संरचना निर्माण गर्न ९० करोड रुपैयाँ बजेट दिएको थियो । उक्त वर्ष जंगी अड्डाले छुट्टयाइएको भन्दा २ करोड २२ लाख २० हजार बढी रकम उक्त कार्यक्रम शीर्षकमा खर्च गरेको देखिन्छ । 

आर्थिक वर्ष २०६९/७० मा ‘बंकर टु ब्यारेक’ कार्यक्रमका लागि ८० करोड ८५ लाख ९० हजार रुपैयाँ रकम विनियोजन गरेको थियो । तर खर्च ९३ करोड ८५ लाख ७७ हजार रुपैयाँ भएको थियो ।  

आर्थिक वर्ष २०७०/७१ मा एक अर्ब रुपैयाँ बजेट छुट्टयाइएकोमा ९९ करोड ९९ लाख ४६ हजार रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७१/०७२ मा यो खर्च बढेर १ अर्ब ४२ करोड ९६ लाख १९ हजार रुपैयाँ पुग्यो, जबकि उक्त वर्ष ‘बंकर टु ब्यारेक’ कार्यक्रमका लागि १ अर्ब ११ करोड १ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

आर्थिक वर्ष २०७२/७३ मा लागि १ अर्ब २२ करोड रुपैयाँ बजेट छुट्टयाइएकोमा खर्च १ अर्ब ५० करोड ७२ लाख ४४ हजार भएको थियो ।  

यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा सरकारले जंगी अड्डामा ब्यारेक निर्माण गर्न १ अर्ब २४ करोड ९२ लाख ३३ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको थियो । उक्त वर्ष जंगी अड्डाले १ अर्ब २९ करोड ९० लाख रुपैयाँ खर्चेको देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा जंगी अड्डाले १ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ ‘बंकर टु ब्यारेक’ कार्यक्रमको नाममा खर्च गरेको छ ।

अर्थ मन्त्रालयबाट प्राप्त विवरण अनुसार ‘बंकर टु ब्यारेक’ कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ, २०७६/७७ मा १ अर्ब ४३ करोड २२ लाख रुपैयाँ, २०७७/७८ मा १ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ, २०७८/७९ मा १ अर्ब ६२ करोड ४ लाख रुपैयाँ, २०७९/८० मा ३ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ र २०८०/८१ मा १ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय