site stats
बाह्रखरी :: Baahrakhari
विदेश
१० दिनसम्म जंगलमा हराएका व्यक्ति कसरी बाँचे ? भन्छन्– जुत्तामा पानी जम्मा गरेर पिउँथे

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा १० दिनदेखि पहाडमा हराएका एक जना फेला परेका छन् । सीएनएनका अनुसार ३४ वर्षीय लुकास म्याक्लिस जुन ११ मा सान्ता क्रुज पहाडमा घुम्न गएका थिए ।

जुन ११ मा उनी तीन घण्टाका लागि हाइकिङमा निस्किएका थिए । तर, फर्किने क्रममा उनी जंगलमा हराएका थिए ।

म्याक्लिससँग केही जामुन र चार लिटर पानी थियो । यसैको सहयोगमा उनी १० दिनसम्म बाँचे ।

Argakhachi Cement Island Ad

क्यालिफोर्निया प्रहरीका अनुसार बिहीबार जंगलको बीचमा एउटा ड्रोनको सहयोगमा उनलाई भेटाइएको हो । उनी माटोले ढाकिएको र निकै कमजोर अवस्थामा फेला परेका थिए ।

परिवारका सदस्यहरूका अनुसार उनीहरूले पहिले म्याकक्लिसलाई घर नजिकै खोजेका थिए । तर, जुन १६ मा परेको फादर्स डेको दिन पनि उनी नभेटिएपछि स्थानीय प्रहरीमा हराएको उजुरी दिएका थिए ।

यसपछि लुकास म्याक्लिसलाई खोज्न प्रहरीले ३०० जनाको विशेष उद्धार अभियान सुरु गरेको थियो । उनलाई खोज्न प्रहरी र वन विभागले २६ सय वर्ग किलोमिटर जंगलमा ड्रोनमार्फत खोजी गरेका थिए ।

आगलागीले हराए, जुत्तामा पानी जम्मा गरेर पिए !

अमेरिकी न्युज च्यानल एबीसीलाई दिएको अन्तर्वार्तामा म्याकक्लिसले १० दिनसम्म जंगलमा एक जोडी प्यान्ट, जुत्ता र टोपी लगाएर मौसमको सामना गरेको बताएका छन् । उनले आफूले जुत्तामा पानी जम्मा गरेर पिउने गरेको पनि खुलाएका छन् ।

म्याकक्लिसका अनुसार जंगलमा भएको आगलागीका कारण उनी हराएका हुन् ।

अहिले उनले आराम गरिरहेका  छन् । उनको दुवै हात र काँधमा चोट लागेको छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्