काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिस धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्नाम भइरहेको बताए ।
सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको महामन्त्री थापाको भनाइ छ । “कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन । कांग्रेसभित्रको सफाको अंश धेरै छ । तर, त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ,” उनले भने ।
उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताए । महामन्त्री थापाले कांग्रेसमा योगदान दिएका पात्रहरूलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए ।
“हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएकोजस्तो भएको छ । त्यो मिसन हराएकोजस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ । कांग्रेसमा योगदान दिनुभएका पात्रहरूलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक छ,” उनले भने ।