site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस बैठकमा आफ्नै पूर्वअर्थमन्त्रीको आलोचना, आरजूले भनिन्– कानुन ‘रेडिमेट’ आयो
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा आफ्नै दलबाट अर्थमन्त्री बनेकाहरूको आलाेचना भएकाे छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै सांसदहरूले पार्टीबाट अर्थमन्त्री बनिसकेका डा. प्रकाशशरण महतको विरोध गरेको एक सांसदले जानकारी दिए । 

बैठकमा पार्टी सहमहामन्त्री समेत रहेका सांसद बद्री पाण्डेले बजेट ल्याउने विषयमा पहिलेको अर्थमन्त्रीले पनि ठिक नगरेको बताएका थिए ।

“हाम्रै अर्थमन्त्री हुँदा पनि बजेट ठिक आएको थिएन । अहिलेको अर्थमन्त्रीले पनि बजेट ठिक ल्याएनन्,” बैठकमा सहभागी एक सांसदले भने, “हामीले ठूला कुरा गर्नुपर्दैन भन्दै बद्रीजीले प्रकाशशरणप्रति इंगित गर्दै भन्नुभयो ।”

बैठकमा सांसदहरूले बजेट समानुपातिक नआएको भन्दै आपत्ति जनाएका थिए । बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीले करौडौं बजेट दिन्छु भनेर प्रतिबद्धता जनाए पनि कतै लाख दिएर, कतै बजेट नदिएर कांग्रेसका सांसदलाई हेपेको भन्दै सांसदहरूले आक्रोश पोखेका थिए ।

सांसद दिलेन्द्रप्रसाद बडूले राष्ट्रियता देखाउने सरकारले कालापानी लिपुलेकमा कति बजेट छुट्याएको छ हेर्न सबैलाई अनुरोध गरे । उनले पुराना पनि बजेट काट्ने सरकारले चुच्चे नक्सा देखाएर राजनीति गरेकोमा आपत्ति जनाएको एक सांसदले बताए ।

“चुच्चे नक्सा भनेर राष्ट्रियता देखाउनुभयो । त्यहाँको बजेट जतिचाहिँ सबै काटियो,” बडूले गुनासो गरेका थिए ।

सांसद प्रदीप पौडेलले भने बजेट सिस्टममाथि नै प्रश्न उठाए । उनले सिस्टममा सुधार नभएसम्म बजेट कहिल्यै समानुपातिक नआउने भन्दै सुधारमा लागौं भन्ने प्रस्ताव राखेका थिए ।

आरजूको गुनासो–  कानुन बनाउने भूमिका पाइएन

बैठकमा सांसद आरजू राणा देउवाले कानुन बाहिरबाट बनेर आउने भन्दै गुनासो पोखेकी थिइन् । उनले सांसदहरूले आफ्नो मुख्य भूमिका निर्वाह गर्न नपाएको भन्दै गुनासो पोखिन् ।

अर्का एक सांसदले दिएको जानकारीअनुसार आरजुले विधायिकी भूमिकामा सांसदहरू हुनुपर्ने बताएकी थिइन् । “कानुन रेडिमेट भएर आउन थाल्यो । सांसदहरूले कानुन बनाउन पाएनन्,” आरजूको भनाई उद्धृत गर्दै ती सांसदले भने ।

पूर्वअर्थमन्त्री कार्कीले बजेट पाइन भनेपछि हाँसो

बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो क्षेत्रमा बजेट परेन भनेपछि हाँसो छुटेको थियो । कार्की सुनसरीबाट प्रतिनिधित्व गर्छन् । उनले आफ्नो क्षेत्रमा बजेट परेन भनेपछि सांसदहरूले हाँसोमा उडाउँदै भनेका थिए, “पूर्व अर्थमन्त्रीकोमा नपरेको बजेट अरुकोमा के पर्दथ्यो र ।”

गोदावरीमा बिहे दर्ता पनि हुन पाएन, कांग्रेस बोल्नुपर्छ

बैठकमा बोल्दै ललितपुरबाट प्रतिनिधित्व गर्ने सांसद उदयशमशेर राणाले गोदावरी नगरपालिकाको विषयमा कांग्रेस बोल्नुपर्ने धारणा राखे । यो नगरपालिका प्रमुख र उपप्रमुखविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।

सांसद राणाले प्रमुख र उपप्रमुखको अभावमा नागरिकको काम ठप्प भएको छ । “बिहे दर्ता पनि गर्न पाएका छैनन् । दैनिक काम रोकिएको छ । यसमा कांग्रेस बोल्नुपर्छ,” उनले भनेका थिए ।

बैठकमा पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाले निरन्तर प्रतिपक्षको बेन्चबाट खबरदारी गर्न र आफ्नो भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro