
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भाइरल तस्बिरमा परराष्ट्रमन्त्री श्रेष्ठ सेतो पोसाक (कुर्ता पाइजा)मा देखिएका छन् । तस्बिरमा उनले एकजना गेरु वस्त्र लगाएका व्यक्तिको गोडामा हात राखेर ढोगेका छन् । परराष्ट्रमन्त्री श्रेष्ठले घुँडा टेकेर निहुरिएर ती व्यक्तिको गोडामा ढोगेका छन् । तर, ती गेरु वस्त्र लगाउने व्यक्तिको अनुहार भने उक्त तस्बिरमा देखिएको छैन ।
अर्को तस्बिरमा परराष्ट्रमन्त्री श्रेष्ठ र ती व्यक्ति दुवैको अनुहार देखिएको छ । ती व्यक्ति थिए– ९३ वर्षीय म्यानमारका बौद्ध भिक्षु (गुरु) पा औक सायादव ।
उक्त तस्बिर दोलखाको शैलुङ गाउँपालिका वडा नं. ७ मा लिइएको थियो । “उहाँ (पा औक) यहाँ आउनु भएको तीन महिना भयो । म्यानमारमा उहाँ छैटौँ गौतमबुद्ध भनेर चिनिनुहुँदो रहेछ,” शैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुजन खड्काले बाह्रखरीसँग भने, “सोमबार परराष्ट्रमन्त्रीज्यू उहाँलाई भेट्न यहाँ आउनु भएको थियो ।”
वडाध्यक्ष खड्काका अनुसार बौद्ध भिक्षु पा औक शैलुङ गाउँपालिका वडा नं. ७ स्थित नेपाल धम्मदायाद ध्यान केन्द्रमा बस्छन् । त्यहाँ अहिले एक सयजना नेपाली र एक सयजना विदेशी खासगरी थाइल्यान्ड, म्यानमार, कम्बोडियाका नागरिक ध्यान गर्छन् । “बौद्ध भिक्षु पा औकको स्याहार गर्ने मात्र यहाँ २२ जना हुनुहुन्छ । चारजना त चिकित्सक छन्,” वडाध्यक्ष खड्काले जानकारी दिए ।
बौद्ध भिक्षु पा औक ६ महिनाको भिसामा नेपालमा आएको उनले बताए । उनको भिसा थप गर्न अनुरोध गर्न एक टोली शैलुङबाट सोमबार काठमाडौं आएको थियो । उक्त टोलीले परराष्ट्र मन्त्रीलाई भेटेको थियो । त्यसपछि सोही टोलीले परराष्ट्रमन्त्री श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, लुम्बिनी विकास कोष बोर्डका सदस्यसहितको टोलीलाई हेलिकोप्टरमा राखी शैलुङ लगेको थियो ।
“शैलुङबाट आएको टोलीले अनुरोध गरेपछि परराष्ट्रमन्त्रीज्यू दक्षिण पूर्व एसियामा ख्याती कमाउनु भएको बौद्ध भिक्षुलाई भेट्न जानु भएको हो,” परराष्ट्रमन्त्री निकट स्रोतले बाह्रखरीसँग भन्यो, “उहाँले प्राप्त गरेको ज्ञान र उमेरका कारण परराष्ट्रमन्त्रीज्यूले बौद्ध भिक्षुलाई ढोग्नु भएको हो ।”
अहिले सामाजिक सञ्जालमा एउटा कम्युनिष्ट नेताले भिक्षुको गोडामा ढोगेको भन्दै परराष्ट्रमन्त्री श्रेष्ठको आलोचना भइरहेको छ ।
शैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खड्काका अनुसार म्यानमारका बौद्ध भिक्षु नेपालमै बस्न चाहन्छन् । उनले थप स्पष्ट पारे, “उहाँले हामीसँग बुद्ध जन्मेको देशमा आफ्नो मर्ने इच्छा भएको र यसको लागि नेपालमै रहने वातावरण बनाइदिन अनुरोध गर्नुभएको छ । सोही कारण उहाँको भिसा थप गर्ने प्रयास गरिएको हो ।”
भियतनाम, म्यानमार, सिंगापुर, थाइल्यान्ड, कम्बोडिया, लाओस, श्रीलंकालगायत देशमा बौद्ध भिक्षु पा औकलाई जिवित भगवान मान्ने गरेको उनले सुनाए ।