काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एकले अर्कोलाई आपेक्ष लगाउने चलन नयाँ होइन । आवश्यक पर्दा र मन मिलेसम्म एउटै टिममा काम गर्ने र नमिल्दा अनावश्यक लाञ्छना लगाएर छिन्नभिन्न हुने प्रचलन पुरानै हो ।
यसको उदाहरण खोज्न धेरै पर पुग्नु पर्दैन । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ टिमसम्म मात्र पुगे हुन्छ । यो टिमको ‘वडा नम्बर ६’ मा अधिकांश हास्यकलाकार थिए । सिताराम कट्टेल (धुर्मस), जितु नेपाल, शिवहरि पौडेललगायत कलाकार यसमा थिए ।
यो टिमबाट सुरुमा धुर्मुस निस्किए । अरू कलाकार ‘छक्का पञ्जा’का केही सिरिजसम्म आइपुगे । ‘छक्का पञ्जा’को सिरिज निर्माणक्रम अहिले पनि जारी छ । दीपक–दीपा ‘छक्का पञ्जा–५’ को छायांकनमा व्यस्त छन् ।
सितारामपछि यो टिमबाट निस्किए शिवहरि पौडेल र निर्मल शर्मा । सितारामले आफैँ चलचित्र निर्माण गरे, ‘सेन्टी भाइरस’ । रामबाबु गुरुङलाई निर्देशनको जिम्मा दिएका थिए ।
शिवहरि पौडेलले पनि आफैँ चलचित्र बनाए । ‘लक्का जवान’ उनले आफैँ निर्देशन गरे ।
यो टिमबाट ‘जितु नेपाल’ पनि निस्किए । अहिले उनी अरूकै ब्यानरका चलचित्रमा काम गरिरहेका छन् । निर्मल शर्मा भने पुरानै घर अथवा दीपक–दीपाकै टिममा फर्किएका छन् ।
दीपक–दीपाको टिमबाट अलग भएर सिताराम र शिवहरि दुवैले बनाएका सिनेमाले उल्लेख्य व्यापार गर्न सकेनन् । बक्सअफिसमा दुवै असफल भए । त्यसयता उनीहरूले पुनः सिनेमा बनाउन सकेका छैनन् ।
‘कबड्डी’ सिरिज बक्सअफिसमा सफल सिनेमा हो । यसले नेपाली बक्सअफिसमा नयाँ रेकर्ड राखेको छ । यो टिम पनि तितरवितर भएको छ । यही समूहबाट अलग भएका चलचित्रकर्मीले अहिले तीन ब्यानर स्थापित गरेका छन् । ‘सिनेमा आर्ट नेपाल’, ‘कबड्डी फिल्मस्’ र ‘बाँसुरी फिल्मस्’ एउटै टिमबाट गएकाहरूको ब्यानर हो ।
‘कबड्डी फिल्मस्’ उपेन्द्र सुब्बासँग छ । ‘बाँसुरी फिल्मस्’ रामबाबु गुरुङसँग छ । ‘सिनेमा आर्ट नेपाल’ रौनकविक्रम कँडेलसँग छ ।
रामबाबु र उपेन्द्र एकै ठाउँमा हुँदा उनीहरूले बनाएका चलचित्रले गजबको व्यापार गर्थे । जब उनीहरू अलग भए, उनीहरूका चलचित्र कमजोर साबित भए । बक्सअफिस र समीक्षा दुवैमा कमजोर हुँदा उनीहरूका चलचित्रले अपेक्षित कमाइ गर्न सकेनन् । लोभलाग्दो हाइप बनाए पनि बक्सअफिसमा तुलनात्मक रूपमा कमजोर साबित भए ।
रामबाबु निर्देशित ‘डिग्री माइला’ र उपेन्द्रको ‘मनसरा’ लोभलाग्दो हाइप बनाएर पनि चल्न सकेनन् । टिमबाट अलग भएपछि उनीहरूले पहिलोपटक यी चलचित्र बनाएका थिए । टिममा सँगै रहँदा रामबाबु निर्देशन गर्थे भने उपेन्द्र स्क्रिप्ट लेख्थे । रामबाबु निर्माता भएर उपेन्द्रको लेखन र निर्देशित चलचित्र ‘जारी’ वर्षकै सर्वाधिक धेरै कमाउने चलचित्र बनेको थियो ।
वर्षकै धेरै र इतिहासकै बढी कमाउने चलचित्र बनाउने निर्देशक र लेखक एउटै टिममा बस्न नसकेर फुटे । त्यसपछि उनीहरूले बनाएका चलचित्रलाई लगानी उठाउन समेत हम्मेहम्मे पर्यो ।
तितरवितर भएको अर्को टिम ‘प्रेमगीत’को पनि हो । सुरुमा यो टिममा सुदर्शन थापा, सन्तोष सेन, प्रदीप खड्का र पूजा शर्मा थिए ।
यो टिम सुरुमा फुटेर दुइटा भयो । सन्तोष र सुदर्शनले छुट्टाछुट्टै समूह बनाए । चारजनाको टिममा सन्तोषसँग प्रदीप बसे । सुदर्शनसँग पूजा रहिन् ।
सन्तोषले ‘प्रेमगीत’कै सिरिज बनाउँदै गए । सुदर्शनले यो सिनेमाको हिट गीत ‘म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस्’ बाट ‘म यस्तो गीत गाउँछु’ चलचित्र बनाए ।
सन्तोष र सुदर्शनले चलचित्र त बनाए, तर दुवैले टिम फुटको असर व्यहोरे । दुवै चलचित्रले आशातीत व्यापार गरेनन् । सन्तोषले ‘प्रेमगीत–३’ सम्म बनाए । सुदर्शनले ‘म यस्तो गीत गाउँछु–२’ सम्म बनाए । त्यसबाट अपेक्षित कमाए नभएपछि यी दुवैले अहिले अरू नै नाममा चलचित्र बनाइरहेका छन् ।
सन्तोष र प्रदीप पनि अलग भइसकेका छन् । सन्तोषले अरूलाई नै आफ्नो सिनेमाको मुख्य हिरोमा लिएर चलचित्र बनाइरहेका छन् । प्रदीपले पनि अरूकै ब्यानरका सिनेमा धमाधम गरिरहेका छन् ।
टिम फुटेपछि बनाइएका चलचित्र अपवादबाहेक राम्रो चलेका छैनन् । समूहबाट केही व्यक्ति अलग भए पनि ‘छक्का पञ्जा’को सिरिजलाई बक्सफिसमा खासै फरक परेको छैन । यसलाई अपवाद नै मान्न सकिन्छ । तर, जब समूहमा दरार देखिन्छ, त्यसपछि छोडेर गएका र बाँकी रहेकाले बनाएका चलचित्रको अवस्था कमजोर देखिएको छ ।
यस्तो अवस्थामा पनि चलचित्रकर्मीबीच फुटको शृंखला रोकिएको छैन । पछिल्लो उदाहरण हो, ‘बोक्सीको घर’को टिम । केही दिनअघि ‘बोक्सीको घर’का निर्देशक सुलक्षण भारतीले आफूलाई निर्माण टिमले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाए । उनले असन्तुष्टि मात्र जनाएनन्, बौद्धिक सम्पत्ति भनेको के हो भन्दै प्रश्न पनि गरे ।
काम एकजनाले गरे पनि जस अर्कैले लिएको भन्दै सुलक्षणले असन्तुष्टि जनाएका थिए । उनले व्यंग्य गर्दै फेसबुकमा लेखेका थिए– काम गर्ने कालु, माम खाने आलु !
उनले अब आफूले सिनेमा किन बनाउने भन्दै प्रश्न गरेका थिए । ‘बोक्सीको घर’का लेखक तथा अभिनेता समेत रहेका निर्देशक सुलक्षणले आफूलाई यही चलचित्रका कुनै कार्यक्रममा सहभागी नगराइएको भन्दै आपत्ति जनाएका हुन् ।
सिनेमाले इनिसियल नै राम्रो कलेसक्सन गरेपछि ‘बोक्सीको घर’ निर्माण टिमले यसको सिक्वेल बनाउने घोषणा गरेको थियो । चलचित्रको क्रेडिट लाइनमा नै ‘बोक्सीको घर–२’ निर्माण गरिने जानकारी थपिएको थियो । यो चलचित्रले १० करोड रुपैयाँभन्दा बढी कलेक्सन गरेको छ ।
सुलक्षणले अब आफूले सिनेमा किन बनाउने भनेपछि उनले ‘बोक्सीको घर’को सिक्वेलमा काम गर्छन् कि गर्दैनन् भन्ने संशय छ । टिम फुटेर निर्माताले अरूलाई नै लिएर चलचित्र बनाए यसले पनि असफल नियति त भोग्नुपर्ने होइन भन्ने सन्देह छ । ‘बोक्सीको घर’ केकी अधिकारीले निर्माण गरेको चलचित्र हो । केकी यो सिनेमाकी केन्द्रीय चरित्र पनि हुन् ।
आइडिन्टिटी क्राइसिस, आर्थिक अपारदर्शिता र वैचारिक द्वन्द्व सिनेकर्मीका समूह फुट्नुको मुख्य कारण भएको निर्देशक मनोज पण्डित बताउँछन् । “जहाँ सिर्जनात्मक काम एकजनाले गरेको हुन्छ, तर उनीहरूले क्रेडिट पाउँदैनन् । त्यस्तो अवस्थामा सँगै काम गरिरहेका व्यक्तिहरू फुटिइरहेका छन्,” मनोज भन्छन्, “अर्को, व्यक्तिको स्टारडमले सर्जकको आइडिन्टिटी छोपिएपछि वा क्रेडिट नदिने गरेका कारण सँगै काम गरिरहेका व्यक्तिहरू अलग–अलग भइरहेका छन् ।”
आर्थिक अपारदर्शिता पनि एउटा मुख्य कारण हो, चलचित्रकर्मी सँगै बसेर काम गर्न नसक्नुको । घाटामा जाँदा होस् वा नाफामा, लगानी र मुनाफा बाँडफाँटमा पारदर्शिता नदेखिनु पनि एउटै समूहमा बसेर काम गरिरहेका चलचित्रकर्मी फुट्नुको कारण भएको मनोजको बुझाइ छ ।
“वैचारिक द्वन्द्व पनि अर्को कारण हो । हरेक व्यक्तिको आ–आफ्नै विचार हुन्छ, सधैँ सबैसँग विचार मिलिरहन्छ भन्ने हुँदैन,” उनी भन्छन्, “जब विचारमा चरम विमति हुन्छ, सँगै बसेर काम गर्ने अवस्था रहँदैन ।”
लामो समय सँगै बसेर काम गरिरहेका व्यक्तिहरू अलग भएपछि सिनेमा कमजोर हुनु स्वाभाविक रहेको मनोजको धारणा छ । एउटाबाट छुट्टिएपछि उसलाई देखाउनकै निम्ति ‘इगो’स्वरूप बनाइएका सिनेमा स्वाभाविक रूपमा कमजोर हुने उनको जिकिर छ ।
“हरेक व्यक्तिको सम्बन्ध सुरुमा अर्ग्यानिक रूपमा बनेको हुन्छ । अर्ग्यानिक सम्बन्धबाट निस्किएको काम पनि त्यस्तै हुन्छ,” मनोज अगाडि थप्छन्, “जब इगोमा सिनेमा बनाइन्छ, त्यो मेकानिकल हुन्छ । मेकानिकल हुनेबित्तिकै राम्रो काम बन्दैन ।”
केही राम्रा टिम पनि छन्, जसले सफल सिनेमा दिइरहेका छन् । दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेले चलचित्रमा सहकार्य गर्दै आएका छन् । उनीहरूले अरूको सिनेमा नै नगर्ने त होइन, तर एउटै टिममा धेरै चलचित्र गरिसकेका छन् । अहिले लाइनअपमा पनि उनीहरूका चलचित्र छन् ।
प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ र दीपेश खत्री म्याक्सको समेत एउटा टिम छ, जसले सफल सिनेमा दिइरहेको छ ।
निर्माण र निर्देशनमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालको टिम छ, जसले ‘आमा’, ‘चिसो मान्छे’जस्ता विषयप्रधान चलचित्र बनाउँदै आएको छ ।
सँगै काम गरिरहेका सिनेकर्मी विभाजित भएर चलचित्र बनाउँदा राम्रो नबनेको र आर्थिक क्षति भइरहेको छ । कतिपय चलचित्र भने टिम विभाजनका कारण बन्न नसकेको मनोज सुनाउँछन् ।
यसलाई रोक्न एकले अर्कोलाई क्षमता र सिर्जनशीलताअनुसार क्रेडिट दिनुपर्ने, आर्थिक पारदर्शिता अपनाउनुपर्ने र अस्तित्व स्वीकार गरिनुपर्नेमा उनको जोड छ । अन्यथा, फुटको शृंखला नसकिने उनको भनाइ छ ।