site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
घुम्नुको हैरान र पुग्नुको थकान होइन

घुम्नुको भोक, देख्नुको सबथोक हुन्छ । त्यसले नै तनाव कम गर्दै उत्साह उमार्न मद्दत गर्छ । सहरी घुइँचो र घचारोमा अचेल एकछिन एकान्तमा गफिने समय छैन । फुर्सदमा आफूलाई एकैछिन फर्किएर हेर्ने समय पनि हुँदैन ।

देख्नलाई फूलको सुगन्ध र सौन्दर्य टाढिँदै गइरहेछ । भेट्नलाई आफन्तहरू क्रमशः पराई हुँदै गइरहेछन् । हरियाली हराउँदै जाँदै छ । पुष्पपत्र, मुनामुजुरा पाउलिनु छाड्दै छन् । चराका चिरिबिरीको सुमधुर गुञ्जन बिरानो बन्दै गइरहेछ ।

यस्तोमा कहाँ भेट्न सकिन्छ र प्राकृतिक मिठास । कहाँ पाउन सकिन्छ र स्वच्छ मौसमको अनुकूल परिवेश । बरु, प्रदूषणले आहत प्रकृति र जीवनका छरपस्ट ढुकढुकीहरू । मधौरो बन्दै, मुर्छा पर्दै, मर्दैमर्दै गइरहेका ज्यान–प्राणहरू ! विस्तारै माटोमै विलीन हुँदै गइरहेका कठै ती प्रिय प्राण–पखेरुहरू !

Prabhu Bank
Agni Group
NIC Asia

तिनलाई बचाउन सकिएन । जोगाउन थालिएन । उकेरा लगाउन जानिएन । माया गर्न, मनले हेर्न छाडियो भने बर्बादै हुन्छ । किनभने, त्यसमा हाम्रो सनातन सत्त्व छ । गौरवमय अतीत र त्यही अतीतले बनेको हाम्रो वर्तमान छ ।

यस्तो धराधाम भताभुंग भई भत्किन सक्छ । त्यसबाट जोगाउनु हाम्रो कर्तव्य पनि हो । परन्तु, हिजोआज हामी कतिपय कर्तव्यहरूबाट च्युत हुँदैहुँदै गइरहेका छौँ ।

Global Ime bank

व्यस्त जीवनमा अस्तव्यस्त अवस्था भित्रिँदै आइरहेछ । अतः यस्तैमा हो आफूलाई खोज्ने प्रयत्न । केही पर गएर, अलि टाढा पुगेर चुपचाप नियाल्ने प्रयास । जहाँ मिल्छ खोजेका कुराहरू । जहाँ पाइन्छ खोजेपछिका प्राप्तिका उरुङखात उपलब्धिहरू ।

त्यसकै लागि हो घर छोड्नुपर्ने । पहाड चढ्नुपर्ने । पाइला हिँडाउनुपर्ने । उकालो र ओरालोमा आफूलाई अभ्यस्त राख्नुपर्ने । यसकै लागि हो मन मिल्नेहरूका साथ कतै बाहिर जानुपर्ने ।

बिदाको सदुपयोग गर्दै रमाउनका लागि । साइत जुरेको सौजन्य–संयोग घुम्नुको भोकमा देख्नुको सबथोक प्राप्तिका निम्ति । पारिवारिक वनभोजको नाउँमा भक्तपुर, सूर्यविनायक, घ्याम्पेडाँडा, रानीकोटका पाखाभरि मान्छेको ओइरो । जेष्ठको गमी अचाक्ली बढेर आगो बलेजस्तो ।

जंगलमा शीतल खोज्दै मान्छेको ओइरो लागेको । ठूलै मेलाको उत्सवजस्तो बाइक र गाडीले बाटै छेकेको । अलि खुला ठाउँमा नाचिरहेका, गाइरहेका, हेरिरहेका कति सर्जक र दर्शक । पकाइरहेका त्यहीँ, खाइरहेका, घुमिरहेका, गफमा मस्त मनहरू त्यहाँ । बालबच्चाहरू खेलिरहेका, रमाइरहेका खुला चौरमा उफ्रीपाफ्री गरिरहेकाहरू ।

कतिचाहिँ गुराँस खोज्दै वन डुल्दै लखतरान । हातमा गुराँसका गुच्चा बोकेर हिँडिरहेका भेटिएपछि जंगलमा कहाँ भेट्नु र ! काफल, ऐँसेलु चाख्न झोरझाडीमा पस्दै । ती पनि कहाँ पाउनु ?

‘खानु न पिउनु’ काँडाले घोचेर, भुइँमा पछारिएर रगताम्मे ज्यान । तैपनि, यसमै रमाइलो चरम सास्ती खाएर पनि । यौटा अलग्ग प्रकृति–रमणको पाटो यो जंगलमा ।

यसरी जाँदा मनले देख्न सक्नुपर्छ आफूले खोजेका कुराहरू । आँखालाई दोष लगाउनु हुँदैन । किनभने, देख्ने आँखाले त जे पनि देख्न सक्छ । जहाँ पनि र जो जससँग पनि आँखा जुध्न सक्छ । होसियार भइएन भने आफैँलाई बात लाग्न सक्छ । घात पर्न पनि सक्छ ।

त्यसैले आँखाले देखेर मात्र हुँदैन । आँखाले हेरेर मात्रै पुग्दैन । आँखाको हेराइमा आफूले, आफ्नै मनले राम्रोपन अँगाल्न जान्नुपर्छ । त्यसबाट सुन्दर र सकारात्मक पक्ष ग्रहण गर्न सक्नुपर्छ, जुन सार्थक र यात्राको मुख्य लक्ष्य हुन्छ । मनले छुट्ट्याएर फाइदा लिन सक्दा साँच्चै त्यसबाट उपलब्धिको उचाइ निकै अग्लै बन्न सक्छ । जहाँ घुम्नुको भोक मेटिन्छ । देख्नुको सबथोक मिल्छ ।

यसरी वास्तवमा घुम्नुको भोक, देख्नुको सबथोक हुन्छ । पुगे देखिन्छ, नपुगे केही देखिँदैन भनेको सायद यही हो । घुम्नचाहिँ हिम्मत जुटाउनुुपर्छ । घुमेपछि र पुगेपछि देख्नचाहिँ सक्नुपर्छ । देखेपछि त्यसमा जीवन र प्रकृति सन्तुलित सौन्दर्य पाउनुपर्छ । अन्यथा, त्यो घुमाइ अर्थहीन बन्छ । समय व्यर्थ खेर जान्छ । देखाइमा सुख भेट्न सक्नुपर्छ । हेराइमा आनन्द पाउनुपर्छ ।

त्यही सुख र सन्तुष्टिका लागि हो यात्रा भनेको । केही न केही कुरा नयाँ देख्ने । कुनै न कुनै किसिमले प्रकृतिको नौलो रूप भेट्ने । यात्रामा यसरी भेटिएजति दृश्यहरू, देखिएजति सुन्दरताहरू र पाइएजति यात्राका आनन्दहरू नै यात्राका खास उपलब्धि हुन् ।

यात्रामा एकोहोरो हिँडाइको दोहोरो फाइदा नभई हुन्न । यात्रामा हिँडाइको स्वाद पनि बेग्लै हुन्छ । ठेस लागेको सम्झना आलै रहन्छ । काँडाले घोचेको दुखाइ पनि मिठै मान्नुपर्छ । सामान्य घटना र घाउलाई ठूलै चोटको भाउ दिनु हुँदैन । अपरिचितसँगको संवाद र संलाप जानकारीमूलक बन्छ । बिरानो ठानेर पराई भनि तर्किनु हुँदैन ।

आफन्त खोज्न सक्नुपर्छ । आफन्त बनाउन जान्नुपर्छ । जसरी कि घुम्ने ठाउँको रोजाइमा भेटिने सुखद क्षणजस्तो । हेरेर नअघाइने दृश्यको सुन्दरतामा मनले महसुस गर्ने पाटाहरूजस्तो । अनि, साँचो मनका पराईबाट पनि मिल्छ हामीले खोजेका कुरा र कामहरू !

प्रत्येक सुस्केरा र श्वासमा प्रकट हुनुपर्छ जीवनका स्पन्दनहरू । अन्ततः ज्यान गलेर खत्रक्कै भएको अर्थ रहनुपर्छ । अर्थहीन हिँडाइ हिँड्नु हुँदैन । त्यसको केही अर्थ रहँदैन । गन्तव्य पुगेर देखेको दृश्यमा रमाउन सक्नुपर्छ । घुम्न जान्नुपर्छ । घुमेर देखेको दृश्यलाई महसुस गर्न सक्नुपर्छ । तिनलाई आत्मसात् गर्न सकिँदा आहा ! त्यहाँ भेटिनेछ भावनाका बग्रेल्ती खजानाहरू खचाखच ।

तिनै खजानाहरूको माला उनेर गलामा लगाउँदाको क्षण कस्तो हुनेछ ? एकछिन घोत्लिएर परिकल्पना गर्नु वा सपना देख्नुको पनि पृथक् अध्याय र आयाम हुन्छ ।

खुसी पाउनुसँगै खुसी साट्न सक्नु पनि ठूलो कुरा हो । खुसीका रङहरूमा रमाउनुको बेग्लै मज्जा । खुसीका रहरहरूमा हराउनुको पनि अलग्गै आनन्द । खुसीका उच्छ्वासहरूमा उल्लासले रंगीन सक्नु पनि झन् ठूलै कुरा हो ।

यसरी एक दिनको यात्रा, दुई दिनको भ्रमण मात्र होइन, एकछिनको घुमाइमा पनि नवीनताको आस्वादन गर्न पाउनु कम तृप्तिदायक पल हुँदैन । जहाँ हप्ता–दश दिनको यात्राभन्दा अझ बढी प्राप्तिहरू मिल्छन् । जहाँ खुसीले म्वाइँ खान तँछाड मछाड गर्छन् । जहाँ सौन्दर्यका आभाहरूले आँखा चुम्न आउँछन् । जहाँ दुखाइ र तनावका घाउचोटहरूमा मल्हम लागेर आरामको आनन्द मिल्छ । हामी सबैले खोजेको सुखको अनुभव सायद यही हो, यस्तै हुनुपर्छ ।

आखिर यही खुसीकै लागि हुन् हाम्रा सारा कामहरू । हामीले पसिना बगाएको यसकै निम्ति । हामी बेफुर्सद खटेको केही पाउनकै लागि । केही हुन्छ कि भन्ने आशाले नै हो गरिएका तमाम कामहरू । प्रयास गरेपछि नै हो पाइने । हिँडेपछि नै हो पुगिने । पुगेपछि नै हो नदेखेको दृश्य देखिने । नभेटिएका मानिसहरू भेटिने । अनुभूतिका चाकाचुलीमा सिलसिलाबद्ध अभिव्यक्तिको प्रस्फुटन हुने ।

घुमन्तेलाई नै थाहा हुने कुरा हो । पुग्नुको भोक कति हुन् ? पुगेपछिको उल्लास छचल्किएर पोखिन्छ पनि । कहिले मनपेट भरिभराउ भई अघाएर लट्ठ पर्छ । तथापि, थाकेर बस्नु, बिसाइरहनु हुँदैन कदापि । उकालो देखेर तर्सिनु र ओरालो भनेर आत्तिनु पर्दैन कहिल्यै । तिनै हुन यात्राका सौजन्य भेटका प्रीतिकर ठाउँहरू !

सम्हाल्न सक्नुपर्ने रहेछ । अनुभूतिमा भेटाउन जान्नुपर्ने रहेछ । तथापि, यात्राको भोक सधैँ लागिरहन्छ । यो यायावरी स्वभाव यस्तै हो । यसैगरी यात्रा हिँडिरहनुपर्छ । यसरी नै पाइला चालिरहनुपर्छ । तब पो देखिन्छ यात्रीका भिडमभिडमा जीवनको खोजी गर्ने मनहरू । बरालिन, बयिलन वा वनभोज खान पुगेका मानिसहरूमा पनि केही न केही नयाँपनको ऊर्जा उम्रिन सक्छ त्यहाँ ।

गलेर लखतरानै भइयो भनेर हैरान मान्नु हुँदैन । हिँड्दा थाकिएको मात्र ठान्नु हुँदैन । त्यसबाट आफूले केही पाएँ भन्ने सोच्नुपर्छ । त्यसर्थ घुम्नुको हैरान होइन, हुनु पनि हुँदैन । पुग्नुको थकान मान्नु हुँदैन । देख्नुको मुकामलाई बरु उपलब्धिको उपमा दिनुपर्छ । बस्नुको आरामलाई यात्रापश्चात्को सुखद मिलन ठान्नुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय