site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रेको जंगलमा विभत्स हत्या घटनाको कसरी गर्दैछ प्रहरी अनुसन्धान ? को–को छन् प्रहरीको निगरानीमा ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । विष्णुप्रसाद सुवेदीको विभत्स तरिकाले हत्या भएको एक महिना बित्दा पनि प्रहरीको टोली ‘क्लु’ कै खोजीमा छ । 

दोलखा भिमेश्वर नगरपालिका–२, राम्पाका सुवेदीको शव २८ वैशाखमा काभ्रेको पाँचखाल नगरपालिका–४, जिरोकिलो नजिकको वनमा तारले बाँधेर जलाएको अवस्थामा फेला परेको थियो ।

घाँस दाउरा गर्न वन पुगेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  स्थानीयको खबरपछि प्रहरीले शरीरको बाहिरी भाग पूर्णरूपमा जलेको शव फेला पारेको हो । 

उनको घाँटी र खुट्टामा फलामको तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको थियो । त्यसको पाँचदिनपछि मात्रै शव सुवेदीको भएको पुष्टि भएको थियो । ललितपुरको टीकाथली बस्दै आएका सुवेदी घरबाट २३ वैशाखमा दोलखा जाने भनेर निस्किएका थिए । 

लोकन्थलीबाट दोलखा जाने बस चढेका सुवेदी पाँचखालको जिरोकिलो पुगेपछि भने ओर्लिएका थिए । आफूले प्रयोग गर्दै आएको मोबाइल फोनसमेत ललितपुरस्थित घरमै छाडेर गएका सुवेदीले जिरोकिलोका एक स्थानीयसँग फोन मागेर श्रीमतीलाई फोन गरेको खुलेको छ ।

उनले आफू दोलखा जान लागेको हुँदा घरमा त्यो दिन फर्किन सम्भव नभएको जानकारी गराएका थिए । तर, उनको त्यही दिन हत्या भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।  सुवेदीलाई जीवितै बाँधेर हत्या गरेको निष्कर्ष निकालेको प्रहरीले अनुसन्धान जटिल देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत खटिएको छ ।

तर, हत्याको कारण नै प्रहरीले केलाउन नसक्दा अनुसन्धान जटिल बन्दै गएको छ । प्रहरीले घटनास्थल नजिकको टावरसँग कनेन्सन भएका सयौं मोबाइलको बीटीएस अध्ययन गरिरहेको छ । शंकास्पद मोबाइल नम्बर संकलन गरेर प्रहरीले अनुसन्धान थालेको हो ।

दुई छोरा र एक छोरी रहेका सुवेदी हार्डवेयर व्यवसायी हुन् । उनको दोलखा चरिकोटमै मेसिनको पार्टपुर्जाको पसल समेत छ ।  सीआईबीका टेक्निकल विश्लेशक प्रहरी निरीक्षक सुनिल धोजुसहित तीन जनाको टोली काभ्रे मै बसेर अनुसन्धान गरिरहेको छ ।

सीआईबीको जघन्य अपराध अनुसन्धान पिलरमा कार्यरत सुनिल गएको चैत १९ मा पर्वतको जलजला गाउँपालिका–२, स्थित ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्याको घटना अनुसन्धान गर्न पर्वत पुगेका थिए ।

उनकै टोलीले करिब एक महिना पछि वैशाख १८ मा हत्यामा संलग्न म्याग्दीका कृष्ण विक र दीपक परियारलाई पक्राउ गर्न सफल भएको थियो ।

को–को छन् प्रहरीको निगरानीमा ?

सुवेदीको घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार अहिलेसम्म हत्याको कुनै विश्वस्त ‘क्लु’ फेला नपरे पनि केही आशंका गरिने शंकास्पद गतिविधिको सूचना भने प्रहरीले पाएको छ । अनुसन्धानमा खटिएका ती प्रहरी अधिकारीले भने, “हामीले केही शंकास्पद गतिविधि र त्यसको सूचना पाएका छौं । टेक्निकलरुपमा त्यसको विश्लेषण हुँदै छ । हामी आशावादी छौं ।”

प्रहरीले हालसम्म सुवेदीसँग निकट देखिएका १२ जनालाई प्रहरी कार्यालयमै बोलाएर गहन सोधपुछ गरेको छ । त्यो बाहेक सिन्धुपाल्चोकको मेलम्ची, चरिकोट, जिरोकिलो आशपासका सयौं जनालाईसमेत सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुवेदीका आफन्तहरुको गतिविधिसमेत विश्लेषण गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) बसुन्धारा खड्काले अनुसन्धान तीव्र पारिएको जानकारी दिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro