काठमाडौं । काठमाडौंमा बदली र वर्षा कम हुँदा गर्मी बढेको छ । काठमाडौंमा धेरै समय मौसम बदली नहुनु र धेरै ठाउँमा लामो अवधिसम्म वर्षा नहुँदा गर्मी बढेको हो । जलवाष्पयुक्त वायु काठमाडौंको वायुमण्डलमा कम हुँदा ठूलो र लामो अवधिसम्म वर्षा हुन सकेको छैन । जसका कारण गर्मी बढेको हो ।
काठमाडौंमा बुधबारको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस मापन भएको थियो । बिहीबार (आज) पनि यसकै सेरोफेरोमा तापक्रम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो वर्ष काठमाडौंमा सबैभन्दा बढी ३४.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम जेठ ११, १७ र २८ मा समान ३४.४ डिग्री सेल्सियस नै मापन गरिएको थियो ।
यो गत वर्षकोभन्दा काठमाडौंको बढी तापक्रम हो । विभागका अनुसार गत वर्ष काठमाडौंको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस मापन गरिएको थियो । १० जुनमा गत वर्षको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस थियो ।
पछिल्लो १० वर्षको काठमाडौंको अधिकतम तापक्रम
सन् २०१५ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस थियो । ०१६ मा ३४.२, ०१७ मा ३२, सन् ०१८ मा ३३.३, ०१९ मा ३३.५, ०२० मा ३३.४, ०२१ मा ३२.७, ०२२ मा ३२.६, ०२३ मा ३३.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । तथ्यांकअनुसार यो वर्ष काठमाडौं पछिल्ला नौ वर्षयताकै गर्मी बनेको छ ।
सन् २०१५ को जुन ६ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको विभागको तथ्यांक छ । त्यसयता ०१६ मा ३४.२ डिग्री सेल्सियस अधिकतम तापक्रम थियो । जुन तापक्रमलाई यो वर्षको तापक्रमको रेकर्डले उछिनिसकेको छ ।
काठमाडौंको ताता वर्षहरू
विभागका अनुसार काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ भएको छैन ।
सन् १९९९ अप्रिल २६ मा काठमाडौंको तापक्रम ३५.६ डिग्री सेल्सियस मापन गरिएको थियो । १९९४ मे ४ मा काठमाडौंको अधिकतम तापक्रम ३५.२ मापन गरिएको थियो । यो पनि काठमाडौंका ताता वर्षहरूमध्ये एक थियो ।
२००९ मा पनि काठमाडौंको अधिकतम तापक्रम ३५.२ डिग्री सेल्सियस थियो । यो वर्षको अप्रिल २४ का दिन ३५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको तथ्यांक छ । २०१२ जुन १३ मा पनि काठमाडौंमा ३५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
शीतल काठमाडौं
विभागका अनुसार सन् १९७१ लाई सबैभन्दा काठमाडौंको शीतल वर्ष मान्न सकिन्छ । यो वर्षको अधिकतम तापक्रम २९.६ डिग्री सेल्सियस तापक्रम थियो । सन् १९७१ जुलाई १५ मा त्यो वर्षको अधिकतम तापक्रम २९.६ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् ।
काठमाडौंमा सन् १९७६ मा २९.८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । उक्त वर्षको मे २८ मा २९.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । यो काठमाडौंमा दोस्रो शीतल वर्ष थियो ।
गर्मी बढेकै हो
मौसमविद् सुदर्शन हुमागाईं समग्रमा यो वर्ष गर्मी बढेको बताउँछन् । सबै ठाउँमा तापक्रमले यो वर्ष रेकर्ड नराखे पनि केही ठाउँमा गत वर्षको रेकर्ड तोडेको उनको भनाइ छ ।
“आठ/दशवटा स्टेसनमा यो वर्ष तापक्रमले गत वर्षको रेकर्ड तोडेको छ,” मौसमविद् सुदर्शन भन्छन्, “त्यसैले समग्रमा यसको असर तापक्रममा देखिन्छ । यो वर्ष विगतका वर्षको तुलनामा तापक्रम बढेको भन्न सकिन्छ ।” समग्रमा पछिल्ला वर्ष तापक्रम बढ्दै गएको तथ्यांक छ ।
२०२३ सन् २००० पछिको तातो वर्ष बनेको थियो । विभागका सन् २०२३ मा नेपालको वार्षिक अधिकतम तापक्रम औसतमा २७.९ डिग्री सेल्सियस पुग्यो । अघिल्लो वर्षको औसत अधिकतम तापक्रमभन्दा ०.६ डिग्रीले बढी हो ।
सन् २०२४ ले तापक्रमका हिसाबले २०२३ को रेकर्ड तोडेकाे मौसमविद् हुमागाईं बताउँछन् । अघिल्लो वर्षकै अनुपातमा यो वर्ष पनि तापक्रम बढ्ने पूर्वानुमान छ ।
गर्मी बढ्नुको कारण
हिउँदे वर्षा नहुनु, पृथ्वीको तापक्रम निरन्तर बढ्नु, प्राकृतिक हिसाबले पनि सामुद्रीक प्रणालीहरू परिवर्तन भइरहनु तापक्रम बढ्नुको कारण हो ।
यो वर्ष काठमाडौंमा अझै गर्मी बढ्नसक्ने सम्भावनालाई नकार्न नसकिने मौसमविद् रोजन लामिछाने बताउँछन् । तर, कोसी प्रदेशबाट मनसुन नेपाल भित्रिसकेका कारण ३२ देखि ३४ डिग्री सेल्सियसकै हाराहारीमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ ।
“यहाँभन्दा तापक्रम बढ्दैन नै त भन्न सकिन्न । यो गर्मी सिजन भएकाले कहिलेकाहीँ लामो समय बदली भएन र पानी परेन भने तापक्रम बढ्न पनि सक्छ,” मौसमविद् लामिछाने भन्छन्, “तर, मनसुन नेपाल प्रवेश गरिसकेको छ । मनसुन सक्रिय रहेको कोसी प्रदेशको तापक्रम केही घटिसकेको छ । त्यसैले अब काठमाडौंको तापक्रम थप बढ्दैन कि भन्ने हो ।”
मनसुन सुरू भइसकेपछि पनि सधैँ शीतल हुन्छ भन्ने हुँदैन । ‘मनसुन ब्रेक’ भएको अवस्थामा प्रि–मनसुनजस्तै अथवा योभन्दा पनि बढी गर्मी हुनसक्छ । ‘मनसुन ब्रेक’ भनेको मनसुनी प्रणाली धेरै भइसकेपछि पनि लामो समय पानी नपर्नु हो । यस्तो अवस्था आयो भने पनि प्रि–मनसुनजस्तै गर्मी बढ्ने मौसमविद् बताउँछन् ।
वायुमण्डलमा रहेको हावामा पानी पार्ने वाष्प कम हुनु, लामो समयसम्म पनि पानी नपर्नु, बदली नहुनु र घाम लागिरहनु अहिले गर्मी महसुस हुनुको मुख्य कारण भएको मौसमविद् लामिछानेको भनाइ छ ।