site stats
बाह्रखरी :: Baahrakhari
देश
हेलम्बुकी उपाध्यक्षको चेतावनी– माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

काठमाडौं । हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु–मेलम्चीवासीका माग पूरा नगरिएसम्म मेलम्चीको पानी काठमाडौं पठाउन नदिने चेतावनी दिएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

संघीय सरकारले बारम्बार हेलम्बुवासीका मागको बेवास्ता गरिरहेको भन्दै उनले त्यो सम्बोधन गरेपछि मात्र त्यहाँको पानी काठमाडौं पठाउन दिने उल्लेख गरिन् । उनले स्थानीले वर्षायाममा आफूहरूलाई आवतजावत, शिक्षा, स्वास्थ्यका निम्ति समस्या रहेको प्रदेश र संघ सरकारलाई बारम्बार भने पनि बेवास्ता गरिएको बताइन् ।

Argakhachi Cement Island Ad

“...हामीले बाटोघाटो, वर्षामा कठिन छ भनेर माग गरिरहेका छौँ । हामीलाई प्रदेश र संघ सरकारले किन बेवास्ता गरिरहेको छ ? काठमाडौंवासीले रित्तो गाग्री सडकमा आएर देखाउनेबित्तिकै पानी पाउनुहुन्छ भने हामीले पनि हाम्रो माग सम्बोधन गरेपछि मात्रै पानी पठाउँछौँ भन्ने कुरा यो फोरमबाट एडीबीका प्रतिनिधि र नेपाल सरकारले आवाज सुनोस्,” उनले भनिन् ।

अबको बजेटमा सरकारले हेलम्बु–मेलम्चीवासीका माग सम्बोधनका निम्ति छुट्टै व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन् । उनले विद्यालयस्तरमै विपद् शिक्षा हुन जरुरी भइसकेको पनि बताइन् । वर्षमा ६ देखि १० करोड रुपैयाँ बजेट विपद्‌मा खर्च गर्नुपर्दा गाउँपालिकाको विकास योजनाअनुसार गर्न नसकेको उनको भनाइ थियो ।

“...विद्यालयस्तरमै विपद् शिक्षा हुन जरुरी छ । खानेपानी बोर्डबाट तत्काल १५ करोडजति पैसा विनियोजन भएर केही काम गरेका पनि छौँ । आन्तरिक स्रोतमा हामी करोड पनि पुग्न सक्दैनौँ,” उनले भनिन्, “एक वर्षको ६ देखि १० करोड बजेट विपद्‌मा नै खर्च गरिरहेका छौँ । हामी हरेक वर्ष त्यो पीडामा बस्न सक्दैनौँ । हामीसँग समन्वय गरेर हाम्रो माग सम्बोधन गर्ने कि नगर्ने ?”

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य तथा विपद् व्यवस्थापनविज्ञ डा. गंगालाल तुलाधरले हेलम्बु—मेलम्चीवासीका जायज माग पनि सरकारले पूरा गर्न नसकेको बताए । उनले त्यहाँका स्थानीयलाई जोखिमपूर्ण स्थानबाट सारेर व्यवस्थित बनाउनका निम्ति दिने भनिएको रकम पनि नदिइएको उनले उल्लेख गरे ।

उनले कोप २८ मा समेत हेलम्बु–मेलम्चीको विषय ज्वलन्त ढंगले उठाइएको सुनाए । हेलम्बु–मेलम्चीमा ठूलो वर्षा भए फेरि पनि जोखिममा पर्न सक्ने, बाढीबाट बग्नुपर्ने स्थिति रहेको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्