site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन पूर्वअर्थमन्त्रीको नजरमा कस्तो छ बजेट ? ‘सरकारले निजी क्षेत्रलाई मूर्ख बनायो’

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले सुन्दा राम्रो तर ऐनहरू पल्टाउँदा झस्किनुपर्ने अवस्थाको रहेको बताएका छन् । आइतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले यो वर्ष पनि बजेट निजी क्षेत्रले सुन्दा राम्रो तर करका दर र नीतिले झस्किनुपर्ने रहेको उल्लेख गरे । निजी क्षेत्रलाई खास देखिने गरी ‘इन्सेन्टिभ’ नै आवश्यक भए पनि अर्थमन्त्री वर्षमान पुनले त्यसो गर्न नसकेको उनले बताए ।

उनले छलफल नगरी धेरै विषय बजेटमा समेटिएका कारण कतिपय योजना र कार्यक्रममा लय नमिलेको बताए । ‘११ खर्ब उठ्दैन भन्ने जान्दाजान्दै पनि राजस्वको लक्ष्य ठूलो किन बनाउनु ?’ भन्दै अर्थमन्त्रीलाई उनले प्रश्न गरे ।

उनले बजेटमा मुख्य कर परिवर्तनमा पनि व्यवसायीलाई आन्दोलित बनाउने गरी ल्याइएको देखिएको बताए । सरकारले निजी क्षेत्रलाई बजेटमार्फत पुनः एकपटक मूर्ख बनाएको उनको भनाइ थियो ।

उनले हरेक वर्षका बजेटमा समस्यापछि मात्र समाधानको बाटो खोजिने गरेको उल्लेख गरे । ‘आगो लागेपछि कुवा खन्न लागेको जस्तो’ निजी क्षेत्र र समग्र नागरिकले बजेटमा के चाहन्छन् भन्ने थाहा हुँदाहुँदै पनि फरक प्रकारले ल्याइने गरेको उनले बताए ।

उनले बजेटले संघीयतालाई कतै समाउन र कतै छोड्न खोजेको टिप्पणी गरे । करका विषयमा केही नबोली र बिजुलीमा छुट नदिई निजी क्षेत्रको पुनरुत्थान गर्न सम्भव नभएको उनले बताए ।

बजेट घाटा बढ्दै जानु खतरापूर्ण : पाण्डे
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पछिल्लो समय बजेट घाटा बढ्दै जानु खतरापूर्ण रहेको बताए । उनले ट्रेजरी डेफिसिट र बजेट डेफिसिटलगायत बढिरहँदा यसले अर्थतन्त्रमा सहजताभन्दा झन् अप्ठ्यारो र खतरा थपिरहेको उल्लेख गरे ।

उनले असार मसान्तसम्म नगद घाटा हुन सक्ने आकलन गरे । कर्जा तिर्न नै कर्जा लिनुपर्ने अवस्था नआउला भन्न नसकिने उनले बताए । उनले देश समस्यामै रहेको र अर्थतन्त्रमा मन्दी छाएको उल्लेख गरे । पुँजीगत खर्च हुँदैमा सबै ठिक हुन्छ भन्ने नहुने उनले टिप्पणी गरे । सबै अर्थमन्त्रीले अर्काेपटक आफूले ल्याउन पाउने/नपाउने वास्तै नगरी बजेट ल्याउनाले एकैपटकमा सबैजसो कुरा थपिने गरेको उनको भनाइ थियो ।

उनले अर्थ मन्त्रालय पछिल्लो समय धेरै अनुशासनहीन भएको पनि बताए । उनले सीमामा रहेर खर्च नगरे अझै खाल्डोमा जान सकिने निश्चित रहेको उनको बुझाइ छ ।

पुँजीगत मात्र नभएर चालु खर्च पनि उचित र सही विषयमा खर्च नभएका कारण नेपालको अर्थतन्त्र अझ अप्ठ्यारोमा पर्दै गएको उनले जिकिर गरे । रचनात्मक तरिकाले बजेटको कार्यान्वयन गरिए मात्र केही उपलब्ध हुने उनको टिप्पणी छ ।

बिनातयारी बजेट खन्याइयो : डा. महत
पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले वाहवाही कमाउन र बजेटको आकार बढाउनकै लागि ९० अर्ब रुपैयाँ थप आन्तरिक ऋण उठाउन खोजिएको बताए । उनले बैंकहरूबाट सरकारले ९० अर्ब लिइसकेपछि अब झन् निजी क्षेत्र चलायमान हुन नसक्ने जिकिर गरे । निजी क्षेत्रले पाउने पैसा सरकारको खातामा जाने उनको भनाइ थियो ।

बजेटले कर्जाको ब्याजदर वृद्धि गर्ने, ऋण लिएर कार्यकर्तालाई रकम वितरण, लडाकु खर्च, विविध, अनुदानलगायत भनेर वितरण गर्ने देखिएको उनले बताए । विनियोजन गरिएको बजेटको कति प्रतिशत उपलब्धि हुने भन्ने यकिन नगरी बजेट ल्याइएको उनले टिप्पणी गरे ।

उनले नेपालमा उत्पादन न्यून हुँदै गएको र भएको लगानी पनि ठिक ठाउँमा नगएका कारण आर्थिक वृद्धिमा अप्ठ्यारो अवस्था बन्दै गएको बताए । तलबभत्ता र सामाजिक सुरक्षालगायतमा हुने लगानी उच्च रहेको र पुँजीगत खर्चलाई पनि प्राथमिकीकरण नगरी बजेट ल्याइएको उनले आरोप लगाए । उनले आउँदो आर्थिक वर्षको बजेटले निजी क्षेत्र र अर्थतन्त्र चलायमान हुन रोक्ने समस्यालाई नहेरेको बताए ।

पुराना परियोजनामा नदिई बिनातयारी र डिजाइन बजेट खन्याइएको जिकिर गरे । अर्थ, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मात्र बजेट थपिएको उनले बताए । नेपाली युवालाई स्वदेशमै रोक्नुपर्नेमा झन् बाहिर पठाउने गरी बिनाधितो कर्जा दिने प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro