site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षालाई पूरा गर्ने दृष्टिकोण अघि सार्‍यो : पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री एवं सत्तासाझेदार दल नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेटले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सिंगो आकांक्षालाई पूरा गर्ने दृष्टिकोण अघि सारेको बताएका छन् । तर, बजेट निर्माणका क्रममा सरकारमा सहभागी राजनीतिक दलका प्रमुख नेतासँग सल्लाह र सुझाव नलिइएको भन्दै उनले गुनासो गरे ।

आइतबार प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना र सामना गर्ने अठोट बजेटमा लिएको टिप्पणी गरे । सहज यात्रा जोकोहीले गर्ने उनको भनाइ थियो ।

“जेठ १६ सम्म आठ खर्ब ६७ अर्ब मात्र राजस्व उठेको छ । चालु आर्थिक वर्षमा ११ खर्ब उठ्ला भन्ने देखिन्छ । १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण उहाँले गर्नुभएको छ, यो लक्ष्य हासिल गर्न त्यति सहज छैन । राज्यका सबै संयन्त्र प्रभावकारी ढंगबाट लाग्ने भए असम्भव छैन,” उनले भने ।

वैदेशिक सहयोगको सन्दर्भमा पनि अर्थमन्त्री पुनले ५२ अर्बको लक्ष्य निर्धारण गरेको भन्दै उनले मिहिनेत गर्नुपर्ने उल्लेख गरे । वैदेशिक ऋण परिचालनको सन्दर्भमा पनि प्रस्ताव चुनौतीपूर्ण भएको उनले बताए ।

राजस्वले साधारण खर्च धान्न नसक्ने र ऋण तिर्न ऋण लिनुपर्ने अवस्थामा ३३० अर्ब आन्तरिक ऋण उठाउने प्रस्ताव ‘अपर लिमिट’मा भएको भए पनि परिस्थितिले साथ दिए यो लिमिटमा नजान उनले सुझाव दिए ।

बजेट तुलनात्मक रूपमा सन्तुलित भएको उनले बताए । तर, स्रोतको निश्चितता गर्न सहज नभएको उनले उल्लेख गरे । उनले बजेट तुलनात्मक रूपमा संक्षिप्त ल्याइएको पनि बताए । तीन, साढे तीन घण्टा बजेट सुन्नुपर्ने अन्त्य गर्दै दुई घण्टामा वाचन सकाउनु छोटो भएको उनले उल्लेख गरे । “महत्त्वाकांक्षी भन्दिनँ, उच्च आकांक्षा राखेको बजेट छ । महत्त्वाकांक्षी भन्दा उच्च आकांक्षी भन्नुपर्छ,” उनले भने ।

खर्च गर्ने क्षमता अत्यन्तै चिन्ताजनक भएको उनले बताए । उनले आउँदो आर्थिक वर्षमा तीन खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ पुँजीगत खर्च गर्छु भनेर अर्थमन्त्रीले गरेको अठोट सराहनीय भए पनि कति सम्भव छ भन्दै प्रश्न गरे । “यो अठोट प्रशंसनीय छ । यो अठोट पूरा गर्न सफल हुनुहोला, शुभकामना दिन चाहन्छु,” उनले भने ।

उनले पानीजहाज, रेलमार्ग, मदन भण्डारी राजमार्गलगायत आयोजनालाई निरन्तरता दिने विषय सकारात्मक भएको बताए । यी आयोजनामा स्रोतको अभाव हुन नदिन उनले आग्रह गरे । उपभोक्ता अदालत बनाउने विषय पनि सकारात्मक भएको उनले उल्लेख गरे ।

“६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको छ । जस्ता समस्या हाम्रो अगाडि छ, यो आर्थिक वृद्धि कायम गर्न सहज देखिँदैन । तर, असम्भव छैन । त्यो हासिल हुने गरी स्रोत परिचालन र खर्च व्यवस्थापन गर्ने गरी लक्ष्य हासिल हुन्छ,” उनले भने ।

सांसद पौडेलले नयाँ चरणको आर्थिक सुधार भनेको के हो त्यसलाई ‘क्लियर’ गर्न आवश्यक रहेकामा जोड दिए ।

उनले कृषिमा बजेट घटेको भन्दै ध्यानाकर्षण गराए । “गाँजाको विषयमा विश्वव्यापी बहस छ । यहाँचाहिँ व्यावसायिक उत्पादन गर्ने विषयमा, यसको लाभ र नोक्सानीको विषयमा अध्ययनको आधारमा मात्र त्यसतर्फ जान उपयुक्त हुन्छ । निष्कर्षमा पुग्न हतारो हुन्छ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro