site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशभर तापक्रम केही घट्यो, यो वर्षकै बढी कहाँ कति ?

काठमाडौं । देशभर तापक्रम थोरै घटेको छ । शुक्रबारको तुलनामा शनिबार तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“हिजो र अस्तिको तुलनामा तापक्रम घटेको छ,” महाशाखाका मौसमविद् रोजन लामिछानेले बाह्रखरीसित भने, “बदली (आकाशमा बादल) र वर्षाले तापक्रम केही घटेको हो ।”

तत्काल तापक्रम धेरै बढ्ने सम्भावना नरहेको उनले उल्लेख गरे । तराईमा पनि अब तापक्रम ४० डिग्री सेल्सियसको आसपासमा रहने अनुमान गरिएको उनको भनाइ छ । “तत्काल तापक्रम बढ्नेजस्तो स्थिति छैन । ४२/४३ अब पुग्नेजस्तो अहिले अवस्था देखिँदैन,” उनले भने ।

यही जेठ १७ गते कैलालीको टीकापुरमा ४५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यो नै यो वर्ष नेपालभित्र मापन गरिएको अहिलेसम्म उच्च तापक्रम भएको मौसमविद् लामिछानेले जानकारी दिए ।

सोही दिन कैलालीको धनगढीमा अधिकतम तापक्रम ४४.१२ र बाँकेको नेपालगन्जमा ४४.२ डिग्री सेल्सियस मापन गरिएको उनले बताए । अहिलेको अवस्थाअनुसार अब त्यति तापक्रम पुग्ने सम्भावना नदेखिएको उनले स्पष्ट पारे ।

हाल देशमा स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुका कारण काठमाडौंसहित शनिबार देशका विभिन्न स्थानमा वर्षा भएको उनले बताए ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये यस दिन नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा धेरै ४१.४ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार (हिजो) नेपालगन्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस थियो ।

शनिबार धनगढीको अधिकतम तापक्रम ४०.७, दिपायलको ३९.४, वीरेन्द्रनगरको ३८.१, भैरहवाको ३७.२ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार धनगढीको अधिकतम तापक्रम ४२.५, दिपायलको ४१.२, वीरेन्द्रनगरको ४०.४ डिग्री सेल्सियस मापन गरिएको थियो । भैरहवाको अधिकतम तापक्रम भने शनिबारको तुलनामा शुक्रबार केही कम ३६.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

शनिबार काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

यो वर्ष अहिलेसम्म काठमाडौंको सबैभन्दा बढी तापक्रम गएको बिहीबार (जेठ १७) र जेठ ११ मा समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौंमा हालसम्मकै उच्च तापक्रम भने सन् १९८९ मे ७ मा मापन गरिएको थियो । त्यस दिन काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, १९८९ पछि काठमाडौंमा सबैभन्दा धेरै गर्मी २०१५ जुलाई २८ मा भएको थियो । त्यस दिन काठमाडौंको अधिकतम तापक्रम ३४.६ डिग्री सेल्सियस मापन गरिएको थियो । उक्त वर्ष नेपालमा जुन १३ मा मनसुन भित्रिएको थियो ।

नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीमा मापन गरिएको तापक्रम नै अहिलेसम्म नेपालमा सबैभन्दा धेरै हो । त्यस दिन धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ ।

wefidsmgm-1717249335.JPG
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro