site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिवंगत पितालाई पुत्रको पत्र !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

ढोग गरेँ बुवा ! हजुरले इहलोक त्याग्नुभएको झन्डै पाँच वर्ष बितेछ । आशा गर्छु, उता वैकुण्ठतिर सबै थोक राम्रै होला ! यता आमा पनि ठिक हुनुहुन्छ । तर, उहाँको शरीर दिनानुदिन दुर्बल हुँदै गएको छ । तथापि, सदैवझैँ बिहान चार बजे उठिहाल्नुहुन्छ । नित्यकर्म सकाएर घरको पूजाकोठामा हाजिरी लगाइहाल्नुहुन्छ । उहाँको मोटामोटी दुई घण्टा त्यही पूजाकोठामा बित्छ । घुँडा र दमको रोग बढ्दै गएको छ । तर, प्रत्येक बिहानी छिमेकको मन्दिर नगई मान्नु हुन्न । सम्झाउन खोज्दा सुन्नु हुन्न । प्रिया बैनीले एल्मुनियमको एउटा लट्ठी पठाइदिएकी थिई, त्यसैको सहारा लिएर यताउता डुलडाल गर्नुहुन्छ । हजुर हुँदा उहाँ एउटा टीभी सिरियल छुटाउनु हुँदैन थियो । अचेल टीभीतिर फर्किएर पनि हेर्नु हुन्न । थोरै बोल्नुहुन्छ । सोधिएका कुराको जवाफ छोटकरीमा दिनुहुन्छ । आफूसँगै कतै घुमाउन लैजान खोज्दा पनि जान मान्नु हुन्न ।

एक वर्षअघि हजुरकी बुहारीले चारवटा नयाँ साडी ल्याइदिएकी थिई, सप्पै दराजमा जस्ताको तस्तै राखिएका छन् । अझै पनि हजुरकै बेलाको साडी लगाउने गर्नुहुन्छ । गहनाको नाममा तुलसीको मालाबाहेक केही लगाउनु हुन्न । सुनको औँठी र कण्ठी दराजमै थन्किएका हुन्छन् अचेल । उहाँको खाली निधार र सादा पहिरन देखेर हाम्रो मन पनि निमोठिन्छ । तर, केही गर्न सक्या छैन । खानामा नुन कम होस् अथवा धेरै, केही बोल्नु हुन्न, चुपचाप खाएर उठ्नुहुन्छ । उहाँको नुहाउने साबुन अथवा टुथपेस्ट सकियो भने त्यतिकै काम चलाउनुहुन्छ, तर केही बोल्नु हुन्न । हामीले नै थाहा गरिराख्नुपर्ने । अस्ति कुन्नि कता लडेर उहाँको घुँडा फुटेको थियो, हामीलाई क्यै भन्नु भएन । घाउमा नरिवल तेल लगाउँदै गर्दा हजुरकी बुहारीले भेउ पाइन् । हामीलाई किन भन्नु भएन भनेर सोध्दा ‘दिनभरि सेवा गराएकै हुन्छु, अरू कति दुःख दिनु ?’ भनेर जवाफ फर्काउनुभयो ।

उहाँ अचेल फिटिक्कै रिसाउनु हुन्न । आफ्नो कोठमा बसेर बच्चाहरूको फोटो हेरेर टोलाइरहनुुहुन्छ । कुन्नि, कस्तो सोचमा हराउनुहुन्छ ! ‘कुन सोचमा हराउनुभयो आमा ?’ भनेर सोध्दा ‘क्यै होइन’ भनेर कुरा टार्नुहुन्छ । मनका कुरा कसैलाई भन्नु हुन्न । अनुहारमा मुस्कानको हलुको आभा त रहन्छ, तर खुलेर हाँस्न बिर्सनुभएको जस्तो छ । मैले बुझेसम्म उहाँ नितान्त एक्लो हुनुभएको छ । ठूलो मामा जिउँदो रहुन्जेलसम्म उहाँ दुई दिनका लागि भए पनि माइत पुगेर मन भुलाउने गर्नुहुन्थ्यो । अब माइत आवतजावत पनि छुट्यो । ‘तीर्थयात्रामा हिँड्ने हो आमा ?’ भनेर सोध्दा ‘यो जुनीमा त सक्दिनँ’ भनेर उदास स्वरमा जवाफ फर्काउनुहुन्छ । उहाँको ज्यानप्राण आफ्ना नातिनातिनी कालु र सुनयनामा अड्किएको हुन्छ । तर, तिनीहरू आफ्नै दुनियाँदारीमा अस्तव्यस्त छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

छोरो कालु ठूलो निर्माण व्यवसायी भएछ । दुई वर्षदेखि बुहारी र नातिनातिनीसहित धापासीस्थित आफ्नो नयाँ बंगलामा बस्ने गरेको छ । आफ्नै जन्मघर कसैलाई थोत्रो लाग्न थालेपछि के उपाय ! गत साल ऊ प्रदेशसभा सदस्यको लागि निर्दलीयबाट चुनाव लडेको थियो । बाक्लै पैसा खर्च भयो, तर जितेन । आगामी चुनावलाई ध्यानमा राख्दै विभिन्न पार्टीसित उसको बार्गेनिङ चल्दै छ भनेर आज बिहान मात्र मैले उसको एकजना साथीमार्फत थाहा पाए । ऊसित भेटघाट नभएको कहिलेकाहीँ एक महिना पनि पुग्दो रहेछ । उसकी मुमाले साह्रै कचकच गरेपछि झुल्किन्छ, तर केही बेरका लागि । उनीहरूको आफ्नै लाइफस्टाइल छ, त्यसमा हामी बुढाबुढीलाई फिट हुनै गाह्रो । उसकी दुलही कुनै ठूलै बोर्डिङ स्कुलकी साहुनी भएकी छे । स्कुल राम्रै चल्दै छ भनेर सुनेको छु, तर उता पुग्न पाएको छैन । बोलाए पो जाने ! त्यतिकै जान ठिक पनि लाग्दैन । जे होस्, छोराबुहारीहरू सदा सुखी रहून् । हामीलाई उनीहरूबाट अरू क्यै चाहिएको पनि छैन ।

हजुरकी बुहारी पनि सरकारी सेवाबाट निवृत्त भएकी छे । उसलाई पनि सन्चो रहँदैन अचेल । गलब्लाडर स्टोनको सर्जरी भएदेखि उसलाई चिल्लोपिरो खानेकुरा बन्देज लागेको छ । हरेक पाँचसात दिनको अन्तरालमा माइग्रेनको पीडाले आफ्नो उपस्थिति जनाइहाल्दो रहेछ । आफ्नी सासूमाको सेवामा कुनै कमी राखेकी छैन । तर, शरीरले भ्याए जति त हो । कुनै बेला अनाहकमै मउपर खनिन्छे । अनि, उसको मनमा के चल्दै छ भनेर थाहा पाउन छोरी सुनयनालाई प्रयोग गर्नुपरेको छ । कहिलेकाहीँ यस्तो संवेदनशील कुरा झिकिदिन्छे, जसको जवाफ मसँग हुँदैन । अस्ति गहभरि आँसु चुहाउँदै भनी, ‘यो बिधुवाको जीवन बडो कठिन हुँदो रहेछ, मलाई बिधुवा त नबनाउनु होला !’

Royal Enfield Island Ad

खैर, हजुरको पनाति सुयश र पनातिनी एलिना दुवैजना राम्रो कलेजमा प्लस टु गर्र्दै छन्, यतातिर विरलै आउँछन् । बेलाबखत ह्वाट्सएपमा भिडियो गफ गरेर सन्तोष गर्ने गर्छौं । फरर्र अंग्रेजी बोल्छन् । नेपालीमा बोल्दा पनि विदेशी जिब्रोको छनक आउँछ । अस्ति ‘यशस्वी भएस्’ भनेर आशीष दिँदा सुयशले निधार खुम्च्याउँदै सोधिहाल्यो, “हजुरबा, यो ‘यशसवी भनेको के ? कुनै सरकारी ओहदा हो ?”

पठनपाठन सकिएपछि उनीहरूलाई विदेशतिर व्यवस्थित गर्ने छोराबुहारीले योजना बुनेका छन् । मेरी श्रीमती अथवा हजुरकी बुहारीलाई चित्त नबुझे पनि क्यार्नु ! आफैँलाई सम्झाउने गर्छौं, ‘बच्चा उनीहरूको हो, हामी बुढाबुढीले धेरै कचकच गर्नु हुन्न ।’ तर, हजुरसँग के लुकाउनु ! हजुरकी बुहारीको ज्यानप्राण सुयश र एलिनाकै चिन्तामा अड्किएको हुन्छ ।

अनि, छोरी सुनयनाबारे हजुरसित के लुकाउनु ! व्यापारमा ठूलै घाटा परेर ज्वाइँ सापलाई ठूलै समस्या परेको थियो । घर बैंक लिलामीमा जाने अवस्था आएको थियो । बेकारमा टेन्सन हुन्छ भनेर हामीले आमालाई कुनै छनक लाग्न दिएनौँ । बरु, कालु अथवा उसकी दुलहीलाई थाहा नहुने गरी सकेजति आर्थिक सहयोग पठाइदिएका थियौँ । उनीहरूले अन्य स्रोतबाट समेत थोरबहुत रकम जोहो गरेका थिए । जे होस्, घर जोगियो । मलाई याद छ, हजुरले पनि बेलाबखत फुपूलाई केहीकेही सहयोग पठाइराख्नुहुन्थ्यो । ‘त्यति पठाउनु पर्दैन’ भनेर उति बेला म नै कचकच गरिराख्थे । मलाई खुब याद छ, फुपूप्रति मेरो व्यवहार अलि रुखो नै हुन्थ्यो । आज त्यही पुराना कुरा स्मरण हुँदा मनभित्र पछुतोको हुन्डरी सुरु हुन्छ । हजुरले इहलोक त्यागेदेखि फुपूको आवतजावत पनि नगन्य भएको छ । भन्छिन्, ‘बाआमा उहिले नै संसार त्यागे । माया गर्ने एकजना दाइ थिए, उनी पनि हिँडे । अब पितृघरमा मन लाग्दैन ।’

हेर्नोस् नि, फुपूजस्तै अचेल बैनी प्रिया पनि उदास स्वरमा त्यस्तै उटपट्याङ कुरा झिक्न थालेकी छे, ‘मेरो माइत भनेको हजुरहरू रहेसम्म त हो ।’ उसको यस्तो वचन सुनेर मन कमिलाले चिलेझैँ पोल्न थाल्छ । बैनीको कुरा सुनेर छोरीबारे सोच्न बाध्य हुन्छु, हामीपछि कालुले उसको सोधखबर राख्ला कि नराख्ला ? कल्पना गर्न थाल्छु, हजुरकी बुहारीको मनमा समेत आफ्नो माइतको मामिलामा यस्तै भावनाको हुन्डरी चल्दो होला । एक वर्षअघि उसकी मुमा बितिन्, उसका बा पनि ओछ्यानमै रहन्छन् अचेल । उसको पनि माइतमा दुईजना भाइ छन्, आकलझुक्कल नै फोनमा आफ्नी दिदीको खोजखबर लिन्छन् । तर, गर्ने के ! कहानी हरेक घरमा यस्तै त हो ।

खैर, मेरा लागि धेरै चिन्ता नलिनु होला । पैँसट्ठी काटिसकेँ, अलिअलि रोगशोक त लागि नै हाल्छ । पेन्सन खाएर बसेको छु । टोल सुधार समितिको अध्यक्ष भएको कारणले दिउँसोको अधिकतम समय समितिको कामकाजमा बित्ने गर्छ । अन्यथा, प्रत्येक बिहान एक घण्टा हिँड्ने गर्छु । खानपिनमा पूरै नियन्त्रण राखेको छु । राति परेपछि घरबाहिर निस्किदिनँ । मलाई आज पनि सम्झना छ, म कुनै बेला राति अबेलासम्म घरबाहिर नै रहन्थेँ । हजुर बार्दलीमा बसेर मेरो प्रतीक्षा गरिराख्नुहुन्थ्यो । मुख जति गन्हाए पनि कहिल्यै गाली गर्नु भएन । आमा पनि कुदेर ‘बाबुलाई भोक लाग्यो होला, खाना लगाइदिऊँ ?’ भन्दै सोध्न आउनुहुन्थ्यो । बुवा, आज म खुलेर नै भन्छु– उति बेला हजुरहरूको त्यस्तो व्यवहार मलाई अनावश्यक लाग्थ्यो । अचेल म पनि त्यही बार्दलीमा बस्ने गर्छु । आँखा सडकतिर नै गडेका हुन्छन् । मनमा आस हुन्छ, छोराबुहारीहरू झुल्किहाल्छन् कि !

अँ, बुवा एउटा कुरो भन्न छुटाएँ – पहिलापहिला हजुरका जुनजुन आनीबानीसित मलाई झर्को लाग्थ्यो, त्यहीत्यही बानी मभित्र पलाएका छन् । घरमा कोही भेट्न आयो कि आफ्ना अतीतका कथाहरू दोहोर्‍याइतेहर्‍याइ सुनाउन थालेको छु । आज भेट भएको मान्छेको नाम भोलि नै बिर्सिन थालेको छु । पुरानै अखबार बारम्बार पढ्न थालेको छु । कसैले रुचाओस् अथवा नरुचाओस्, अर्तीउपदेशको झरी लगाउने गरेको छु । मुगले आजम जमानाका सिनेमाहरू दोहोर्‍याएर हेर्न थालेको छु । साथमा कोही नभए पनि एक्लै बरबराउने गरेको छु । पुरानापुराना फोटोको एल्बम बारम्बार पल्टाइराख्छु । सबैजना सुतिसकेपछि राति लुकेर गुलियो खान्छु । टहटह घाम लागेकै बेला करेसाबारीमा खट्न थाल्छु । कुनै खास काम नभए पनि कालुलाई विभिन्न बहानामा फोन गर्छु । ऊ जतिसुकै व्यस्त भए पनि जबरजस्ती गफ गर्न खोज्छु । उसको स्वर अलि मलिन लाग्यो कि चिन्तित हुन्छु ।

बुवा, मलाई मेरो हजुरबाले भन्ने गर्नुभएका कुरा आज पनि याद छ– नेपालमा साठी काटेका मान्छे सरकारी जागिरका लागि अयोग्य हुन्छन् । सत्तरी काटेका मान्छेलाई समाज उपेक्षाको दृष्टिले हेर्न थाल्छ, पचहत्तर काटिसकेपछि परिवारका लागि भार हुन्छन् । र, असी काटेका मान्छेको कट्टर शत्रु त उसको आफ्नै ज्यान भइदिन्छ ।

उति बेला उहाँको कुराको गहिराइसम्म पुग्न सकेको थिइनँ । आज बुझ्न थालेको छु । मलाई लाग्छ, हजुरबाकै वचनलाई ध्यानमा राखेर हजुरले पनि आफ्नो बुढेसकालमा जीवनचर्या निर्धारण गर्नुभएको थियो – सक्दो स्वयंनिर्भर रहने, कसैसित कुनै अपेक्षा नगर्ने, चाहना अथवा रुचिको मात्रा घटाउँदै लैजाने र आफ्नो स्वास्थ्यमा हेलचेक्र्याइँ नगर्ने । सायद आमा पनि हजुरकै बाटो पछ्याउन खोज्दै हुनुहुन्छ । रह्यो, मेरो कुरो – साह्रै गाह्रो कुरो हो, तैपनि प्रयासमा छु । हेरौँ, कति सकिन्छ ।

आजलाई यो पत्र यतिमै टुंग्याए । आफ्नो ख्याल राख्नुहोला ।

हजुरको छोरो !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro