site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अतीत र वर्तमान

हरिको मन कहिलेकाहीं बडो बिथोलिन लाग्छ । एक्लै कोठामा छटपटिन लाग्छ । आफूसित आफ्नै मनका तरंगहरूसित संघर्ष गर्दै प्रतिवाद गर्न थाल्छ– म किन यति कमजोर भएको भनेर, तर आफ्नो अन्तरद्वन्द्वसित ऊ हार खान पनि चाहँदैन ।

ऊ आफंैलाई ढाढस दिन पुग्छ यी सब हावादारी कुरा हुन् । मैले केही अपराध गरेको छैन । मीनूलाई मैले डेरामा ल्याएर के अपराध गरेको छु र ? सबैले बाहिर स्वास्नी राखेकै छन्–भनेर ।

तर शान्तालाई थाहा दिने कसरी ? शान्ताले थाहा पाई भने उसको दुष्कर्मको पर्दाफास हुँदैन र ? यही कुरा थियो उसको मनलाई बिथोलिरहने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफ्नो नकारात्मक प्रवृत्तिदेखि तर्सिनु, कुनै कुराको पनि निश्चय गर्न अनकनाउनु– उसको कमजोरी केवल शान्तालाई सम्झेर थियो ।

ऊ आफ्नै मनको अध्ययन गरिरहेको थियो–आफ्नो विक्षिप्ति र त्यसदेखि सचेत हुनु । कसैले थाहा पत्ता पाउला भनेर डराउनु अनि डेरा घरमा बस्ने अरू डेरावालहरूदेखि पनि शंका लाग्नु, तिनको मौन अनुहारमा सशंक भई हेर्नु र कसैले आफूतिर ननिहारिरहेको पाएर आफ्नो सतर्कतादेखि पश्चात्ताप गर्नु– यी यस्ता मानसिक प्रवृत्तिहरू थिए जसलाई सम्झँदा उसलाई केही हास्यास्पद पनि लाग्दथ्यो ।

ऊ यस्तै जिल्ल परेको अवस्थामा कमीजको खल्तीबाट चुरोटको बट्टा निकाल्दथ्यो र एउटा खिल्ली सलाई कोरेर सल्काउँथ्यो । तर सलाई कोरेर चुरोट मुखमा राख्नुको सट्टा सलाईको काँटीले मुख झोस्न पुग्थ्यो । कस्तो दयनीयता ! आफ्नो यस भुल्ने स्वभावदेखि उ हालसालै परिचित भएको छ र सोच्न लाग्थ्यो अवश्यै मैले शान्ताप्रति नचाहिँदो अपराध गरेको छु ।

अनि ऊ त्यस्ता अपराधीहरूलाई सम्झन पुग्छ– जो आफ्नो कुकर्मलाई छोप्ने प्रयासमा यस्तो प्रवृत्ति देखाउँछन् र प्रहरीहरूको शंकालाई आफूतिर आकर्षित गर्छन् । त्यस्तो सम्झेर ऊ आफैसित प्रतिवाद गर्न लाग्थ्यो हुँदै होइन । मैले केही पापकर्म गरेको छैन भनेर ।

अब त ऊ टाउको हल्लाएर मात्र होइन मुखले पनि हुँदै होइन भन्ने शब्द निकाल्थ्यो अस्पष्ट भए पनि । ऊ आफ्नो वरपर हेर्न लाग्थ्यो– कसैले हेरिरहेको छ कि उसले सुन्यो कि भन्ने सतर्क भावले ।

हरिलाई यो थाहा थिएन– शान्ता अचेल पनि त्यही पुरानो डेरामा छ वा त्यहाँ छाडेर गइसकेकी छ ? ऊ कहाँ होली र के काम गरेर गुजारा गर्दी होली ?

करीब दुई वर्षअघि शान्तासित बिदा भएको थियो ऊ । बिदा हुँदा उसले आफ्नी पत्नीलाई सान्त्वना दिएर भनेको थियो– म त भैरहवा खटिएर जानुपर्‍यो । तिमीलाई पनि लैजाने थिएँ, तर परदेशमा थोरै तलब, फेरि कतिन्जेल बस्नुपर्ने हो, एक–दुई महीनापछि के हुन्छ, सकभर आउनेछु । आइनँ भने तिमीलाई महीनैपिच्छे डेराको भाडा रजिष्टरी गरी पठाइदिन्छु बढ्ता पठाउन नसके पनि ।

तर दुई वर्ष बित्यो । दुई महीनैमा फर्कन पाएन उसले । शान्तालाई दुई महीनाको लागि चाहिने सामलतुमल छाडेर गएको थियो उसले । त्यसपछि उसले के गरी होली । कसैको घरमा घन्दा सुसारे काम गरी होली । एक दुइटा चिट्टी रजिष्टरी पनि उसले नपठाएको होइन तर कुनै उत्तर नपाएकोले चिट्ठी पठाउन उसले छाडिदियो ।

हरि डेराको कोठामा पस्यो आफ्ना सबै कमजोरीहरूलाई आवरणझैँ मिल्काइदिने चेष्टा गर्दै । तर उसका चेष्टा चेष्टा मात्र साबित हुन्थे । झन् ती कमजोरीहरू उसका अन्तरभित्र जान्थे । आफ्नो यस मानसिक ग्रन्थिलाई फुकाइदिने उ कुनै निहुँ पाउदैन र कोठाभित्र ओछ्यानमा घोप्टो परेर कुनै सस्तो जासूसी उपन्यास पढेर बसिरहेकी मीनूलाई थाहा नदिएझैँ बिस्तारै मीनूको पछिल्तिर पुग्छ ।

गर्मीले गर्दा मीनूले फाइबरको बुट्टेदार पेटिकोट र हाफ बाहुले ब्लाउज मात्र लाएकी हुन्छे । उसले कपाल नकोरेर पिठ्यूमा छाडेकी छ जुन भर्खर नुहाएर आएकोले नओभाएझैँ र सफा देखिन्छ । उ मोटी–घाटी छ राम्री तरुनी पनि ।

हरि तरुनीको सधैं ईष्र्यालु छ । तर तरुनीका व्यवहार र घनिष्ठतादेखि सधैं पन्छिन र सतर्क रहन चाहन्छ ऊ ।

मीनूले यस्तो भए पनि उसलाई आफ्नो रूप र यौवनको शक्तिले दबाइराखेकी ऊ अनुभव गर्छ । उसले हरिलाई थिचिराखेकी छ चटपट गर्न नदिएर– त्यही पोजिशनमा ऊ अहिले पढ्न तल्लीन देखिन्छे पोइकै चरित्रलाई पढिरहेकी झैँ ।

चुरोटको गन्ध थाहा पाएर मीनूले मुन्टो फर्काएर पछिल्तिर हेरी ‘कस्तो मान्छे ! चालचुल नगरी आउन सकेको ।’

‘तिमी पढ्न लागेकी देखेर ‘डिस्टर्ब’ होला भनेर–’ हरिले उसको सम्मानमा मुस्काउँदै भन्यो ‘के पढ्न लागेकी ?’

‘उपन्यास ।’

‘कहाँबाट पायौ ?’

‘खै के ?’ भन्दै हरिले स्वास्नीको हातबाट उपन्यासको आवरण र शीर्षक हेर्‍यो । ‘नराम्रो रैछ ।’ भन्दै ऊ हरिलाई हेर्न लागी, उसको भावमुद्राको परिवर्तनलाई ।

हरिले पनि आफ्ना कमजोर भावहरू दबाउँदै स्वास्नीको मुखमा हेरेर हाँसिदियो विनाअर्थ । तर स्वास्नीले उसको मुस्कानमा अर्थ लुकेझैँ भनी, ‘त्यसै पनि के हाँसेको !’

‘आफ्नी प्यारी स्वास्नीले उपन्यास पढेकी देख्ता नहाँस्ने त ?’ हरिले कमीज फुकालेर भुइँमा पर हुत्यायो ।

‘जान्छु बाहिर । कस्तो गर्मी ।’ भन्दै मीनू पुस्तक समातेर कोठाबाहिर गई । स्वास्नीको हिँडाइ र उसका वजनदार पाइलापिच्छे उसका आँखाले मक्ख पर्दै अनुसरण गरिरहे । अनि पहिलेकी स्वास्नी शान्ता उसको दृष्टि र सम्झनामा बिलाउँदै हराई अतीतको स्मृतिझैँ ।

(कोइरालाको कथाकृति ‘सुर्तीको पातमा झुन्डिएको जीवन’ बाट ।)
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्