site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आमाछोरी र ऊ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

यो दुर्लभ दृश्य हुने गर्थ्यो, केटी नुहाएपछि छतमा उभिएर कपाल कोर्दै गरेको । खलल पुग्ने कुरो यो थियो, केटीकी आमा पनि छेउमा उभिएर कपाल कोर्न लागेकी हुन्थी । ऊ पनि नुहाइसकेकी हुन्थी । यसको अर्थ यो पनि लगाउन सकिन्थ्यो, आमाले छोरीको गतिविधिमा नजर राख्न त्यसो गरेकी हो ।

आमा नयनाभिराम थिइन् । अब यसको अर्थ जे लगाउनोस्, तर भन्नुको मतलब ऊ ढसुल्ली थिई । यसो भन्दा आमाहरूको अपमान नहोस् । तर, सुन्दरी छोरीको प्रसंगमा आमालाई यति भन्दा सह्य हुनसक्छ ।

छोरीको नाम अनुष्का हो । ऊ केटो नवराजसँग प्रेममा फसेकी थिई । आमाको रायमा उसलाई फसाइएको थियो । प्रेमलाई असाध्य रोग पनि भनिन्छ । रोग त हो, तर यो यस्तो रोग हो जसको तात्कालिक उपचार छैन । यस्तो हुने गर्छ । नवराजले झ्यालबाट केटीले कपाल कोरेको हेरिरहेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उसको दृष्टिमा आमा बाधक थिई, अर्जुनदृष्टिमा त्यो आमारूपी महिलाको ठूलो जिउ बाधक थियो । उसले इसाराइसारामै अनुष्कालाई भन्यो– आमालाई दृष्टिपथबाट हटाऊ । अनुष्काले पहिले त टाउको हल्लाई, तर नवराजको पटकपटकको इसाराले उसले आमातिर फर्केर के भनी कुन्नि, आमा हाँस्दै तल कोठातिर ओर्र्ली । आमा छोरीलाई प्रेम गर्दी हो, पुलपुल्याएर पालेकी हुँदी हो । बाउ विदेश गएको थियो केटीको ।

आमाको लोग्ने भन्नुपर्‍यो केटीको बाउलाई ! तर, टोलमा एउटा यस्तो गाइँगुइँ थियो– केटी झड्केली छोरी थिई । यो कुरो पछि । तर, त्यसले यहाँ खासै दखल राख्दैनथ्यो । झड्केलो बाउ भए पनि केटीकी आमालाई विदेश गमन गरेको पोइले माया गर्थ्यो । विश्वास गर्थ्यो । यहाँ विश्वास महत्त्वपूर्ण थियो । विश्वास गर्थ्यो, त्यसैले कमाएको रकम श्रीमती रमाको नाममा पठाउँथ्यो ।

Royal Enfield Island Ad

छोरी पनि खुस थिई र आमा पनि । आर्थिक अभाव पनि थिएन र कुनै दुःख थिएन । केटीकी आमा रमा भन्थी, ‘छोरी, सबैथोक पैसा रहेछ । पहिले हाम्रो अवस्था कस्तो दुःखदायी थियो, अहिले हामी सम्पन्न छौँ र खुस छौँ । पैसाकै करामत हो ।’

छोरी ‘हो’ सूचक टाउको हल्लाउँथी । सुखसम्पन्नतामा छोरी कलिलो तामाझैँ हलक्क बढेकी थिई । पहिले खडेरीमा सुकेको बालीजस्ती च्याउसी छोरी अहिले वसन्त आएर लहलहाउँदी भएकी थिई ।

टोलका केटाहरूमध्ये उसको नाम थाहा नपाउने कोही थिएन । केटाहरू भमरा थिए, ऊ मगमग बसाउने गुलाफको फूल थिई । त्यति मात्र होइन, बा र आमालाई त्यै केटी पाए बिहे गर्छु भनेर अड्डी लिने वा प्रतिज्ञा गर्ने केटाहरूको सेना नै खडा गर्न सकिन्थ्यो । सेना भनेर अलि अतिशयोक्ति भयो होला !

मुलुकमा त्यस्तो संकट परेको थिएन र त्यस्तो सेना खडा गर्नुपर्ने खाँचो पनि थिएन । तर, नवराजको लागि केटी एक सपना थिइन । कारण, केटी उसको प्रेमपाशमा फसेकी थिई । मात्र कति अड्चन थियो भने, केटीकी आमा नवराजलाई देखेपछि खासै उज्यालो मुख लगाउँदिन थिई । कुनै अप्रिय वस्तु देखापरेझैँ नाकमुख नजानिँदो पाराले खुम्च्याउँथी ।

तर, केटी प्रेममा समर्पित थिई । सच्चा प्रेम झुक्दैन भनेझैँ ऊ आमाकै अगाडि नवराजसँग हाँस्नेबोल्ने गर्थी र मौका परे चन्द्रागिरितिर वा यस्तै अन्य ठाउँतिर हाकाहाक्की डुल्न निस्कन्थी । आमा यो देखर मुर्मुरिन्थी । कोठाभित्र थुनेर छोरीका गालामा एकपछि अर्को झापड दन्काएर लगाउन खोज्थी । जगल्ट्याएर यताको भित्ताबाट उताको भित्तासम्म लतार्दै लगेर फेरि यता ल्याएर लात्ताले हान्दै उसको हुर्मत लिन चाहन्थी ।

तर, यो सब गर्न उसको हिम्मत हुँदैनथ्यो । छोरी भन्थी, ‘बाउलाई आउन देऊ ।’ बाउ आएपछि के ? यो एउटा रहस्यजस्तो लाग्थ्यो । सबैले नबुझ्ने धम्की हुन्थ्यो । छोरीसित यो एउटा ब्रह्मास्त्र थियो जसले उसकी आमाले जितेको युद्ध पनि पराजयमा परिणत गरिदिन्थ्यो ।

खासै राम्रो कुरो त होइन यो, आमाछोरीका बीच यस्तो कुनै रहस्यले रजाइँ गर्न पाउनु । आमाछोरीका बीच भन्नाले छोरीको हातमा आमालाई पराजित गर्न सक्ने शस्त्र थमाउनु । छोरीले बाउलाई त आउन देऊ भन्नेबित्तिकै आमा लत्रक्क पर्थी । ‘के गर्ने होस् तैँले ?’ आमाले नडराएको हाउभाउ देखाउँदै झोक्किएर सोधिहाले पनि स्वर काँतर भइसक्थ्यो । छोरी केही भन्दैन थिई । आँखामा व्यंग्यात्मकता भरेर यत्ति मात्र भन्थी, ‘डराउने भए किन लड्नु ?’ बडो सैद्धान्तिक वाक्य बोल्थी ऊ । आमा परास्त भइहाल्ने मनस्थितिमा नभए पनि छोरीलाई अझ जिस्क्याएर बोल्ने गराउन चाहँदैन थिई ।

‘नवराजसँग म भोलि पिकनिक जाँदै छु,’ छोरी गर्जन्थी । पिकनिक एउटा पुरानो चलन भइसकेको छ । अचेल पिकनिक लगेर केटी फसाउने काम गर्न रुचाइन्न । तर, छोरीलाई नवराज रिसोर्टमा लिएर जान सक्थ्यो । यहाँ एउटा असमर्थ पाटो थियो नवराजको ।

ऊसँग पर्याप्त रकम हुँदैनथ्यो । रिसोर्ट महँगा पर्थे । केटी साथमा ल्याएको छ भनेपछि रिसोर्टवालाले बिलमा रकम बेसी ठोक्थे । पुरानो समयको कुरा, सुनौलीमा लाहुरेहरूलाई रातभरि स्टे गराएपछि रक्सीका खाली बोतल राखेर बढी पैसा असुल गर्थे रे ! हो त्यस्तै, रिसोर्टमा पनि केटी लिएर आएको छ मोज गर्न भनेपछि बिलमा आइटम र पैसा बढिहाल्छ, रुम चार्जसहित ।

नवराजले गाउँ पठाउने रकमबाट जोहो गरेर अनुष्कालाई पिकनिकसम्मको अफर दिन सक्थ्यो । गाउँको घरमा उसका बुढा आमाबाबु थिए र एउटा यस्तो बन्धन पनि थियो त्यहाँ, जसलाई ऊ तोड्न सक्दैनथ्यो ।

उसकी एउटी छ वर्षकी छोरी पनि थिई । नवराजकी श्रीमती ऊ सहरमा कमाउन आएको बेला अर्कैसँग हिँडेकी थिई । यो एउटा अवसरका रूपमा उसकी पत्नीले प्रयोग गरेको प्रतीत हुन्छ । नवराजकी पत्नी छरछिमेकीसँग भनिरहन्थी रे— आमाबाले के देखेर यस्तासँग बिहे गरिदिए कुन्नि, कस्ताकस्ता धनाढ्यका छोरा माग्न आएका थिए !

यसपछि त्यो पोइल जवाइलाई खासै ठूलो घटनाका रूपमा गाउँघरमा लिइएन । कसैले छेकथुन पनि गरेन, ‘ए, तँ अर्काकी श्रीमती भएर परपुरुषसँग छिल्लिएर हिँड्छेस् !’ परपुरुषहरू छिल्लिने, अरूकी स्वास्नी ताक्दै हिँडेका त हुन्छन् !

त्यो कुरो पुरानो भए पनि नवराजका मनमा पिरो भएर आइरहन्थ्यो । अहिले सधैँका लागि अनुष्काको साथ पाए ऊ त्यो पिरलो मेट्न सक्थ्यो । पोइल गएकी स्वास्नीभन्दा राम्री ल्याउन सकेँ भनेर ऊ साथीभाइका बीच शिर ठाडो गरेर हिँड्न पनि सक्थ्यो । गाउँकी छोरीलाई अनुष्काले स्वीकार गर्ने हो कि होइन भन्नेमा नवराजलाई सरोकार थिएन ।

उसकी छोरी हजुरबा–हजुरआमासँग सहजै बस्न सक्थी । तिनको स्याहारसुसार गरेर जीवन बिताउने उपाय गर्न सक्थी । मानिसको वासनाजन्य स्वार्थ ठूलो बनेपछि के छोरी के आमाबाबु ! अनुष्काका अगाडि कुनै चिज कुनै वस्तु वा कुनै नातागोकोको मूल्य थिएन ।

नवराज यही ताकमा हुन्थ्यो, कति बेला अनुष्का नुहाएर छतमा निस्कन्छे र केश फिँजाएर कोर्दै उसलाई देखाउन अनेक पोज दिनेछे । अनुष्काको जिउ पनि त्यस्तै मिलेको थियो र जुन कोणबाट हेरे पनि कामातुर बनाउँथ्यो नवराजलाई ।

तर, अनुष्काकी आमा रमा थिई जसले नवराजलाई एक रत्ती मन पराउँदिन थिई । टक्कर थियो, टसल थियो । किन ? स्पष्ट गरिरहनुपर्ने थिएन, ऊसँग पर्याप्त पैसा थिएन । पैसा भनेपछि केके न सानो कुरो मानिन सक्छ । के प्रेमको अगाडि पैसा सानो हो ? नवराज यसै प्रश्नमा रुमल्लिरहन्थ्यो । तर, यो सही हो, नवराजसँग पैसा छैन । अरूको घरमा डेरा गरेर बसेको छ ।

अनुष्कालाई उसले प्रेमजालमा फसाएको छ, अनुष्काकी आमा रमा यो मान्दछे । अनुष्काकी आमा रमा पनि पोहोर साल गाउँकै परिचित एकजना लाहुरेसँग डुल्न गएकी थिई । ती दुईदुई रातपछि घर फर्केका थिए । दुईजना दुई रात एउटा अनुप्रास मिलाएजस्तो भएको थियो ।

लाहुरे धरानतिरको थियो । धरानतिरको भन्थ्यो । हुनसक्छ, दैलेखको होस् । अनुष्काकी आमासँग उसको पुरानो परिचय रहेछ । कसरी रहेछ पुरानो परिचय, त्यो कोट्ट्याउन कसको पछि को लागिरहोस् । अनुष्काले यो थाहा पाई र त्यो आमा रमालाई नचाइरहने एउटा साँचो बन्यो । ऊ त्यही साँचो घुमाइरहन्थी आमा रमालाई तर्साउन । एउटा अपराध अनुष्काकी आमा रमाले गरिसकेकी थिई र त्यो नखुलोस् भनेर छोरीका अगाडि शिर निहुर्‍याएर मौन बस्न बाध्य थिई ।

तर, हिजो मात्र फेरि त्यो लाहुरे टुप्लुक्क अनुष्काहरूको घरको ढोका ढकढक्याउन आइपुगेको थियो । उसको साथमा उसको भतिज रामलाल पनि थियो । ती दुवैले शिष्टाचारपूर्वक भलाकुसारी गरे । हाँसो पनि घन्काए । अनुष्काले लाहुरेको हृष्टपुष्ट जिउडाल भएको भतिज रामलालतिर धेरैपटक चोरीचोरी हेरिरही । उसभित्र एक किसिमको आसक्ति जाग्यो ।

भित्रको नवराजको खियाउटे रूप भत्किन लागेको थियो । बेलाबेला ऊ झसंग पनि हुन्थी, प्रेममा धोका दिनु भएन भन्ने मान्यताले । उसलाई त्यो वर्जनाले लाहुरेको भतिजलाई हेर्न वर्जित गर्थ्यो ।

म कसैकी भइसकेँ भनेर ऊ प्रतिज्ञा गर्न खोज्थी, तर लाहुरेको भतिजको बलिष्ठ कायाले उसलाई लोभ्याउँथ्यो । अहिलेसम्म नवराजको दुब्लोपातलो कायातिर लोभिने गरेकोमा ऊ पछुताउन थालेकी थिई ।

लाहुरेको भतिज हङकङको लाहुरे हो रे ! हङकङको लाहुरे नभए पनि हङकङको लाहुरेको छोरो त अवश्य हो । यसमा कुनै दुई राय थिएन । लाहुरे र लाहुरेको भतिज तीनचार दिन आउनेजाने गरिरहे र कहिले रेस्टुराँमा लगेर कहिले अनुष्काहरूकै घरमा भोजजस्तो आयोजन गरेर खानेपिउने मात्र होइन, सुत्ने पनि गरे । तीनचार दिनपछि एक साँझ हङकङको लाहुरेको छोरो रामलालले अनुष्कालाई एउटा चिल्लो च्वाँकको कारमा राखेर डुलाउन लग्यो ।

नवराजले अचेल दारी खौरन छाडेको छ, पाल्नलाई होइन, अनुष्काको पिरले । अनुष्का अचेल छतमा निस्कने गर्दिन । न कालो बाक्लो लामो नागकेश फिँजाएर कोर्ने गर्छे न जिउ घुमाइघुमाइ अनेक पोज दिन्छे । उसकी ढसुल्ली आमा पनि छतमा निस्कन्न ।

नवराजले चियो गरेर पत्तो लगाएको छ, अनुष्का अचेल त्यो रामलाल भन्ने हङकङको लाहुरेको छोरोसँग पल्केकी छ । पल्केकी छ भनेर उसले आफ्नै प्रेमिकाको अपमान गरेको चस्स आत्मानुभूति त गरेको हो, तर अनुष्काले उसलाई चटक्कै छोडेकीमा ऊ सबैथोक त्यागेर (तर, त्याग्नु के थियो र डेरामा बसेकाले), प्रेमको धोकामा परेपछि सबैथोक छोडेर गाउँतिर जाने सोच बनाउँदै थियो ।

एउटा पे्रमेकथा थियो यो जुन यसरी दुःखान्तमा बदलियो । तर, दुःख कसलाई ? अनुष्का र उसकी आमा त हाँसीखुसी सुखी देखिन्थे । अचेल प्रेमको दुःखान्त कथा भनेर पुरातनपन्थी कोही हुन चाहन्न ।            
   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro