
काठमाडौं । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङको आत्मकथा ‘सन अफ दि पिपुल’ प्रकाशित गरिएको छ । केही वर्षअघि उनको आत्मकथा जनताको छोरो प्रकाशित थियो ।
सोही आत्मकथालाई अंग्रेजी संस्करणमा शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।
पूर्वप्रधानसेनापति गुरुङका सम्धीद्वय मीनबहादुर गुरुङ र पूर्वउपरथी ओमबहादुर पुनले पुस्तकको विमोचन गरेका थिए ।
पुस्तक विमोचन गर्दै व्यवसायीसमेत रहेका मीनबहादुर गुरुङले अहिले विश्वका विभिन्न कुनामा नेपालीहरु पनि पुगेको उल्लेख गर्दै उनीहरुलाई नेपालीका बारेमा बुझ्न र बुझाउन सहज होस् भनेर पुस्तक प्रकाशित गरेको बताए ।
उनले नेपालको बारेमा र नेपालीका बारेमा बुझ्नका लागि यो पुस्तक महत्वपूर्ण भएको बताए ।
पुस्तकको अनुवाद चिरन कार्कीले गरेका थिए । समारोहमा स्वागत मन्तव्य राख्दै डा. प्रतीक गुरुङले बुबाले आफूलाई नै अनुवादका लागि आग्रह गरेको भए पनि आफूले कार्कीलाई अनुवाद गर्न लगाएको उल्लेख गरेका थिए ।
उनले पनि विदेशमा रहेका नेपालीहरुका लागि उक्त पुस्तक महत्वपूर्ण हुने बताएका थिए ।
अर्का छोरा प्रवलमानसिंह गुरुङले बुबासँग बाल्यकालमा बिताएका कुरालाई उल्लेख गर्दै पुस्तकका बारेमा धारणा राखेका थिए । उनले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।