संसारभरि आर्थिक मन्दी भएकामा दुईमत छैन । एकातिर गरिबी झेल्ने राष्ट्रका जनताको पीडा चरम छ भने अर्कातिर धनी राष्ट्रहरूले युद्धमा बराबर धन खर्च हुने गरेको तथ्य जगजाहेर छ ।
जति युद्धमा सामरिक महत्वका हात–हतियार बम, गोला पड्काइने वा तिनको उपयोगका निम्ति युद्ध क्षेत्रहरूमा ड्रोनहरू उडाइएका छन् । त्यो खर्च बराबरको कूल धनराशी मानवीय परोपकारका लागि खर्चिने हो भने विश्वभरिका जनता, भोका नाङ्गा सायदै रहने थिए होलान् ।
नेपाल एक गरिब राष्ट्र हो । परापूर्व कालदेखि यहाँका जनताले गरिबी झेल्दै आएका छन् ।
शाहकालमा त्यस बखतको शासन शैली राज्यले या त युद्धमा खर्च गरेर सिमाना बढाउने काम गर्दर्थ्यो वा पौवा, पाटी, मन्दिर, धर्मशाला निर्माण गर्ने काम गर्ने गरेका थिए ।
त्यस बखतका शासकको पुरुषार्थ तिनै कुरामा मानिएका थिए । राणा शासनकालमा जनताको शोषणबाहेक अरु के नै पो भएको हो र ? तत्कालीन शासकहरूको सौखसयलका निम्ति जनतासँग भएका कुनै पनि बहुमूल्य बस्तु प्रत्यक्षतः अपहरण हुनु कुनै नौलो कुरा मानिँदैन थियो ।
न त त्यो समयमा कल्याणकारी राज्यको अवधारणा थियो । अझ एसियाली मुलुकहरूमा विरलै कायम थियो । जब शासकको बोली नै कानुन हुन्थ्यो भने त्यस समयमा जनताले जनहित र सुशासनको अपेक्षा राख्ने सवाल पनि थिएन ।
युगौँ युगदेखि निरन्तर कृषि प्रधान देशको रुपमा कहलिएको मुलुक नेपाल, अब चेलीबेटी ओसार–पसार, भाडाको सेना, तथा श्रम बेच्न वैदेशिक रोजगारमा जान ललायित हुने मुलुकको रुपमा पहिचान भएको छ ।
किनकि नेपालको कृषि क्षेत्र आधुनिक युगमा आएर पनि आधुनिक बन्न सकेन ।
उही परम्परागत हल गोरुको प्रयोग र सिचाइँको अभावमा आकासको बादलले कतिखेर वर्षात् ल्याइदेला, त्यसैमा निर्भर हुनुपर्ने । मरेर उब्जाएको अन्नपातले भर पेट खान नपुग्ने । अरु खर्चको त कुरै छाडौँ, बाली लगाउँदा लागेको खर्च र परिश्रम जोड्दा साफानाफा एउटै हुने ।
यसका कारण हो, आमजनताको मुख्य पेशा रहेको कृषि क्षेत्रमा गर्नुपर्ने यथोचित् लगानी सरकारले जति गर्नुपर्ने हो त्यतिमात्रामा गरेको छैन ।
त्यसमाथि मूल्य किसानसँग असुलेर पनि सरकारी संस्थानहरूले नक्कली बिऊबिजन, नक्कली मलको बिक्री वितरण नै बेलाबखतमा गर्ने गरेका छन् । त्यही बिऊबिजन मल पनि किसानले समयमा पाउँदैनन् ।
जब मरेर केही उब्जन्छ, त्यो ब्यापारीको हातमा कौडीको मोल भाऊमा बिक्री हुने गर्छ ।
हिलो माटोमा हिउँद–वर्षा केही नभनी पौठेजोरी खेलेर दिनरात संघर्ष गर्नेहरूको जीवन भन्दा सुकिलामुकिला भएर पाँच सय पचपन्न चुरोट फुकेर दिनरात कुरा ओड्ने, कुरा बछ्याउने, कुरा नै चपाउनेहरूको जीवन यहाँ हाइसञ्चोमा छ ।
एकथरि बिहान उठेर, मुख धोई, दात माझेर नेता नेताका बैठकमा गफिएर चियाले कुल्ला गर्न दैनिक धाउने वर्गहरू छन् । काम केही गर्दैनन्, तर पजेरो चढेका छन् ।
सन्तानको बिहेवारीदेखि साना तिना कार्यमा पनि होटेल र पार्टी प्यालेसमा करोड करोड खर्चिन्छन् । हिलो पनि टेक्नु नपर्ने, माटो पनि कुल्चिनु नपर्ने, इधरका माल उधर गर्ने, अर्को ब्यापारी वर्ग छ जसले पैसाले कहिल्यै अघाएका छैनन् ।
बरु सधैँ भोकाएका कर्मचारी, नेताहरूलाई पशुपतिका भोकाएका बाँदरहरूलाई चारो छरे जस्तो नोट छरेको भरमा उनीहरू दिनो दिन कुवेर हुन सफल छन् । संविधानले लोककल्यणकारी र विधिको शासन कायम भएको मानिने गणतन्त्रीय शासनमा ब्यापारीको जति ठूलो हैकम छ त्यो आमजनताको छैन ।
वर्तमान शासकको नजरमा नेपाली जनता धेरै धनी छन् । तर ब्यापारी वर्गलाई उनले सदैव घाटामा रहेको देखेको छ ।
तसर्थ, नेपाली किसानले उत्पादन गरेको बस्तु बिक्री गर्ने बखतमा सरकारले त्यो उत्पादित बस्तुमा कति मूल्य बराबरको मल, जल र श्रमको लगानी भएको छ र ? उत्पादन गर्ने ब्यक्तिले त्यसबाट लाभ कति पाउने हो त्यसको मूल्याङ्कन नै नगरी मात्र ब्यापारीले आफू अनुकूल लाभ पाउने गरी सरकारसँग भाऊ तोकी मागेको सिफारिसमा न्युनतम भाउ तोक्ने गरेको देखिन्छ ।
यसको मूलकारण हो, किसानले राजनीतिक दलहरूलाई लाभको भागबण्डा कहिल्यै पनि दिन जाँदैन र दिने प्रश्न पनि उठ्दैन । तर ब्यापारीले भने सशक्त दलका नेताहरूलाई आवश्यकता परेको बखतमा र निर्वाचनको समयमा एकमुष्ठ भेटी टक्र्याउने गरेको हुन्छ ।
अर्कातर्फ आमजनताले आफ्नो उपभोग्य बस्तु पसलहरूमा खरिद गर्न जाँदा पहिले पहिले महिना छ महिनामा भाउ बढने गरेको सुनिन्थ्यो ।
तर अब त, हप्ता हप्तामा बढेको देखिएको छ । यसरी आजभोली आम जनताले त्यो चरम महँगीको मार खप्नु परेको छ ।पोहोरको तुलनामा भाऊ दुइगुना बढेको छ । मन्दीले गर्दा आमजनताको रोजगारी खोसिएका छन् । आय आर्जन हुने बाटाहरू बन्द छन् ।
निम्न मजदुर वर्गले काम पाएका छैनन् । झन् यतिबेला दिन दिनै भाऊमा वृृद्धि भएपछि जनताको दैनिकी कसरी चल्ला, त्यतातिर सरकारलाई चिन्ता रहे या भएको देखिएको छैन ।
संसदले आमजनताकन हकहितमा कल्यणकारी कार्यहरूका योजनाहरू बनाएर यो महँगी र त्यसमाथिको चरम भ्रष्टाचारको निवारण गर्नुपर्ने थियो । तर संसदलाई रणभूमि बनाएर आपसी झगडामा लागेको देखिएको छ ।
कुन दलको कुन नेतालाई मकैको घोगा सरह नंग्याए जस्तो गरी नंग्याउनुछ । त्यसैमा लिप्त छन् सत्ता र प्रतिपक्ष । जनताको नजरमा अब जुनै दलको उच्चकोटीका नेता किन नहुन वा तिनका कार्यकर्ता नै किन नहुन, जुन जोगी आए पनि कान चिरिएको हुन्छन् भन्ने ठम्याइमा छन् ।
तसर्थ, अबका दिनहरूमा एकले अर्काको वस्त्र हरण गरी ‘द इम्परर्स न्यू ल्कोथ’ भन्ने कथाको नायक नाङ्गो राजा नै बनाएर एकले अर्कालाई सडक सडकमा घुमाएर प्रदर्शन गरे पनि आमजनताको नजरमा कुनै महान कार्य हुने छैन ।
नेपालमा पुरातनकालीन पजनी पद्धति यथावत् छ । तसर्थ, आफूलाई नटेर्ने व्यापरी, साहु महाजन, गन्यमान्य व्यक्तिलाई बखत खतमा ठिङ्गुरामा ठोकेर मानमर्दन गर्ने चलन पहिले पनि थियो र निरन्तर कायम छ ।
मन मिलुन्जेल गलै प्राणी, मन मिल्ल छाडेपछि तातो खरानी ।
यदि सरकार कल्याणकारी हो भने सरकारले कुनै व्यक्तिलाई भावी समयमा अपराधी बनाएर कटघरामा उभ्याउनुको सट्टा उपयुक्त हुन्छ उसलाई बेला बखतमा सचेत गराउनु र नियम कानुनभन्दा बाहिर जानबाट रोक्न सक्नुपर्छ ।
नेपालमा सरकार होस् वा प्रतिपक्ष दल नै किन नहुन आमजनतालाई परेको पिर मर्कासँग भन्दा पनि उनीहरू आफ्नै व्यक्तिगत स्वार्थतर्फ संवेदनशील देखिन्छन् । उनीहरूको प्रमुख लक्ष हुन्छ, कसरी दलभित्रको आफ्नो समूहलाई बलियो बनाई आफ्नो नेतृत्वमा सत्ता निरन्तर टिकाइरहने ?
दलभित्रको नेतृत्वको कब्जा कसरी निरन्तर आफू नमरुन्जेलसम्म आफू वा निकटतम व्यक्तिको साथमा कायम राख्ने ? दलभित्र रहेका आफ्ना विरोधीहरू र आफूभन्दा जान्ने विज्ञहरूको सफाया कसरी गर्ने ? सत्ताको दोहनमा आफू र आफ्ना परिवारको वर्चश्व कसरी कायम राख्ने ?
यी अनैतिक काम गर्न निश्चय नै पैसा, मवालीहरूको ताकत चाहिन्छ ।
यो अनैतिक मार्गमा लाग्न कानुनी, गैरकानुनी सबै कर्महरू गर्नुपर्ने हुन्छ । यी कामबकाट लोकप्रियता पाउने प्रश्न नै उठ्दैन । तथापि आजभोलिका नेताहरूलाई आमजनताको माझ लोकप्रिय हुनु परे जस्तो पनि लाग्दैन । ‘मनी–मसल’ भए सबै हुन्छ भन्ने उनीहरूको अवधारणा बनेको पाइन्छ ।
आमजनताले अहिलेको महँगी, भ्रष्टाचारको मारबाट बच्न केही त आफ्नै तर्फवाट प्रयास गर्न जरुरी हुन्छ । सर्वप्रथम, भएसम्म खर्च कम गर्ने, महँगा लुगा कपडा खरिद नगर्ने । लुगा–कपडा, गहना महँगो लगाउँदैमा व्यक्तिको व्यक्तित्व उच्च हँुदैन ।
स्वस्थ शरीर, स्वस्थ विचार र चिन्तारहित स्वभावले व्यक्तित्व बन्छ । अरुले के भन्ला भनेर व्यक्तित्व देखाउने उद्देश्यबाट फजुल खर्च गर्नु उपयुक्त होइन ।
आफूसँग अभाव हुँदा अरुले भाडामा चामल हाल्न आउँदैनन् । व्यक्तित्व र पहिचान बनाउने भनेको आफूले हो अरुले होइन । भोज–भत्तेर आदि नगर्ने, किनकि यो समय होइन । तथापि हामी जति धेरै खर्च गर्दछौं, त्यो तिनै दोहनकर्ता व्यापारी, नेता, मवाली, भ्रष्टाचारीलाई लाभ हुन पुग्छ ।
महँगा स्कुलमा सन्तान पढाउनु हुँदैन । सामान्य स्कूलमा पढाएर घरमा पढेलेखेका बाबु आमाले स्वयम् सन्तानलाई थप पढाउने । महँगा शुल्क लिने विद्यालय, निजी अस्पताल प्रचार प्रसार मात्र हो तिनले पैसा तान्ने मात्र काम गर्छन् । तर सेवा शून्य हुन्छ ।
नेपालमा जति पनि महँगा स्कूल, कलेज, विद्यालय र निजी अस्पतालहरू खुलेका छन् ती सबैमा प्रायःजसो कि त हिजोका वा आजका सत्ताधारी वा तिनका आसेपेका लगानी हुन् ।
यिनले सेवा भन्दा बढी लुट्ने काम गरेको देखिएको छ । घरको वरिपरी अलिकति पनि जमिन छ भने वा छैन भने पनि गमला बट्टाबट्टीहरूमा साग तरकारी आफैँ उत्पादन भरसक समय निकालेर पनि गर्ने ।
बरु इस्कूस, घिरौला, फर्सी, साग खाने बानी बनाउने, बाहिरको साग तरकारी प्रायःजसो विशाक्त हुन्छन् । तसर्थ, प्रयोग गर्नु परे पनि न्युन तौलमा खरिद गर्ने र पानीमा घन्टा दुई घन्टा भिजाएर धोइ पखाली मात्र खाने । किनकि स्वास्थ्य बिग्रिएपछि उपचार गर्न साह्रै महँगो छ । त्यो अवस्थामा घरबारसमेत बिक्री हुने अवस्था पर्न जान सक्छ ।