site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरेन्द्र पाण्डेलाई ५३ दिनपछि सत्ता, अब के होला ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । गण्डकीमा निर्णायक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा थियो । ०८० को चैत २७ गतेसम्म आफ्नो आन्दोलन भएको जनाउँदै कुनै पनि गठबन्धनको सरकारमा सामेल नहुने उसले प्रस्ट अडान राखेको थियो । गण्डकीमा राप्रपाका दुई सांसद छन् ।

गण्डकीका दुवै गठबन्धनलाई सरकार बनाउन राप्रपाको साथ अनिवार्य थियो । केन्द्रमा फागुन २३ गतेपछि फेरिएको गठबन्धनले गण्डकीमा कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अल्पमतमा परे । विपक्षी एमाले–माओवादी गठबन्धनले सरकार बनाउने तयारी थाले ।

तर, राप्रपाको स्पष्ट अडानका कारण विपक्षीको सत्ता बन्ने सम्भावना क्षीण थियो । संविधानको धारा १६८ (२) अनुसारको सरकार बनाउन एमाले–माओवादी गठबन्धनलाई राप्रपा नभई हुँदैनथ्यो । अर्कातर्फ, राप्रपाकै अडानका कारण संविधानको यो उपधारा अनुसार सरकार बनाउन असम्भवजस्तै अवस्था गण्डकीमा आइपुग्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुई वा दुई भन्दा बढी दल मिल्दा पनि गण्डकीमा सरकार बनाउन चाहिने ३१ सांसद जुट्ने अवस्था नदेखिएपछि तत्कालीन मुख्यमन्त्री पाण्डे भने आफू नै मुख्यमन्त्रीमा निरन्तर रहिरहने स्थिति देखिरहेका थिए ।

सरकार गठनको तयारी गरिरहेको एमालेसँग २२, माओवादीसँग सात (सभामुखबाहेक र एकजना नेसपाका सांसदसहित) सांसद थिए । सरकार बनाउन थप दुईजना सांसदको समर्थन चाहिन्थ्यो । निर्णायक राप्रपा सत्तामा नजाने अडानका कारण एमाले–माओवादी गठबन्धनलाई बहुमत नपुग्ने हुँदा पाण्डे आफू नै सरकारमा निरन्तर रहिरने विश्लेषणमा थिए ।

Royal Enfield Island Ad

उपधारा २ को सरकार बन्न नसकेको अवस्थामा आफू नै ठुलो दलको हिसाबले मुख्यमन्त्री रहने उनको सोचाइ थियो ।

उनको राजीनामापछि प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गतेसम्मको समय सीमा दिएर सरकार गठनका लागि दलहरूलाई आह्वान गरे ।

तत्कालीन राजनीतिक परिस्थितिका बीच सरकार कसरी बनाउने भन्नेमा एमाले–माओवादी गठबन्धनमा पनि अलमल थियो । सभामुखलाई राजीनामा गराएर पनि सरकार बनाउन सक्ने अवस्था यो गठबन्धनसँग थिएन । किनभने सभामुख उपसभामुख दुवैले राजीनामा दिएको अवस्थामा पनि ज्येष्ठ सदस्य गठबन्धनकै थिए ।

विश्वासको मत लिने अवस्थामा बैठकको अध्यक्षता गर्नेले मत दिन नपाउने स्थितिका कारण सरकार बनाउने कसरी भन्ने अलमलमा एमाले–माओवादी गठबन्धन थियो ।

विपक्षी गठबन्धनमा देखिएको अलमल, प्रदेशसभामा सरकार बनाउन निर्णायक देखिएको राप्रपाका कारण पाण्डे २७ गतेसम्म कुनै पनि गठबन्धनले सरकारमा दाबी गर्न नसक्ने र उपधारा ३ अनुसार पुनः आफू नै मुख्यमन्त्री नियुक्त हुनेमा आशावादी थिए ।

संवैधानिक व्यवस्था हेर्दा र त्यतिबेलाको राजनीतिक घटनाक्रम हेर्दा पाण्डेले भनेझैँ उनी चैत २८ मा उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त हुनुपर्ने हो । तर, यसका लागि उनले ५३ दिन कुर्नुपर्‍यो ।

सर्वोच्च अदालतमा रिट दायर गर्नुपर्ने स्थिति आइपुग्यो । संविधान मिचियो भनेर उनी अदालतमा न्याय खोज्न गए ।

कुनै पनि दलले बहुमत पुर्‍याउन नसक्ने स्थिति देखिए पनि चैत २५ गते एमालेका खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरे । उनले आफूसँग एमालेका २२, माओवादीका ८ (सभाुमख सहित) र दीपक मनाङे (राजीव गुरुङ) को समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्त गर्न निवेदन पेस गरे ।

केन्द्रमा फेरिएको गठबन्धनका कारण प्रदेश प्रमुख भट्ट पनि एमाले कोटाबाट नयाँ प्रदेश प्रमुखको हैसियतमा गण्डकीमा आएका थिए ।

एमाले–माओवादी गठबन्धनले सभामुखलाई पनि गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको भन्दै कांग्रेसले मुख्यमन्त्री नियुक्त नगर्न भन्दै प्रदेश प्रमुलाई भेटेर असहमति पत्र पनि नबुझाएको होइन । तर, भट्टले त्यसैदिन अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरे ।

उपधारा ३ अनुसार फेरि मुख्यमन्त्री हुन्छु भनेका पाण्डेको यात्रा भने त्यसपछि सर्वोच्च अदालततर्फ मोडियो ।

चैत २७ गते दायर गरेको उनको रिटलाई सर्वोच्चले वैशाख १७ गते खारेज गरिदियो । अधिकारी सरकारलाई विश्वासको मत लिन दिनुपर्ने आशयको फैसला सर्वोच्चले गर्‍यो ।

अदालतको आदेश भन्दै चुप लागेका पाण्डे फेरि दोस्रोपटक सर्वोच्च धाउनुपर्‍यो । यसको कारण चाहिँ वैशाख २३ गतेको गण्डकीको प्रदेशसभामा विकसित घटनाक्रम हो ।

संविधानतः मुख्यमन्त्री अधिकारीले वैशाखको २४ गतेभित्र विश्वासको मत लिनैपर्ने बाध्यता थियो । तर, अधिकारीले त्यसको एकदिन अगावै २३ गते विश्वासको मत लिने जानकारी प्रदेशसभा सचिवालयलाई गराए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार टिकाउनका लागि ३१ मत चाहिन्छ भन्ने सामान्य गणित जो कोहीलाई थाहा नै थियो । अधिकारीले विश्वासको मत पाउँदैनन् र उनी पदमुक्त हुन्छन भन्ने आम बुझाइ थियो ।

सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभाको कारबाही अगाडि बढाए । विश्वासको मतको पक्षमा ३० मत खस्यो, विपक्षमा कांग्रेसको २७ मत पर्‍यो भने दुई सांसद रहेको राप्रपा तटस्थ बस्यो ।

मत परिणाको नतिजा घोषणा भइसकेपछि सभामुखले के निर्णय लिन्छन् भन्ने चासो सर्वत्र थियो । सभामुखले एमाले–माओवादी गठबन्धनलाई नै अनुकुल हुने गरी घोषणा गर्नेछन् भन्नेमा पनि विमति थिएन । अन्ततः सभामुखले आफ्नो मताधिकार सुरक्षित रहेको, आफूले मत नहाल्दा प्रदेशसभा सदस्यको संख्या ५९ हुने र ३० ले बहुमत हुने निर्णय सुनाउँदै खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरिदिए ।

त्यसलगत्तै कांग्रेस पर्सिपल्ट सर्वोच्चमा पुग्यो । सभामुखको घोषणा संविधान अनुकूल नभएको, असंवैधानिक तरिकाले विश्वासको मत पाएको घोषणा गरिएको तथा उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग राखेर पाण्डे फेरि अदालत ढकढक्याउन पुगे ।्

अन्ततः सर्वोच्च अदालतले सोमबार पाण्डेले दायर गरेको रिटबमोजिमको फैसला सुनायो । सर्वोच्चले परमादेश नै जारी गर्दै ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दियो । सोही आदेश बमोजिम मुख्यमन्त्री पाण्डे ५३ दिनपछि सत्तामा फर्किएका छन् ।

बुधबार मुख्यमन्त्रीको शपथ लिएसँगै उनले कांग्रेसबाट दुईजनालाई पनि मन्त्री बनाएका छन् । लमजुङका टकराज गुरुङ अर्थमन्त्री बनेका छन् भने कास्कीका विन्दुकुमार थापा ऊर्जा, जलस्रोत तथा सिँचाइँ र सामाजिक विकासमन्त्री बनेका छन् ।

तर, उनले पनि संविधानको धारा १६८ (४) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । जुन बाटो उनको लागि पनि सहज भने छैन । बुधबार नै उनले प्रतिपक्षमा रहेको अर्को दल राप्रपासँग पनि सरकारमा सहभागी हुनेबारेमा छलफल गरेका थिए । तर, राप्रपा तत्काल सरकारमा जान अनिच्छुक देखियो ।

ठुलो दलको हिसाबले मुख्यमन्त्री बने पनि सरकार टिकाइरहनका लागि उनलाई थप चार सांसदको समर्थन चाहिन्छ । राप्रपा आएको खण्डमा पनि उनीसँग २९ सांसदको समर्थन पुग्छ । तर, थप दुई सांसद जुटाउने परिस्थिति तत्काल भने देखिँदैन ।

अर्कोतर्फ असार १ गते बजेट र त्यो भन्दा अगाडि नै नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्नुपर्ने हुन्छ । नीति तथा कार्यक्रममाथिको छलफल सकिएर पारित गर्ने अवस्थामा नै बहुमत सांसद उनको पक्षमा नहुने देखिन्छ । ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुँदा पारित नभएको अवस्थामा उनी अल्पमतमा पर्ने देखिन्छन् ।

नीति तथा कार्यक्रम नै फेल भएपछि बजेट ल्याउन उनलाई नैतिक दबाब पर्छ । अर्कातर्फ, अल्पमतमा परेपछि अध्यादेशबाट नै नीति तथा कार्यक्रम र बजेट ल्याउने आशंका पनि विपक्षी दलमा देखिएको छ ।

तर, मुख्यमन्त्री नियुक्त भइसकेपछि उनले यही उपधारको सरकार निरन्तर रहने र विश्वासको मत पाउने जिकिर गरेा छन् । उपधारा ५ मा जाँदा मध्यावधितर्फ जान सक्ने जोखिम रहेको बताउँदै उनले आफूले विश्वासको मत पाउने दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro