site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राजनीतिज्ञ, ज्योतिषी र त्यो हत्या : जसले बदल्न सक्छ एउटा देश !
SkywellSkywell

कजाखस्तान । युरोपेली मुलुक कजाखस्तानमा एक हाई प्रोफाइल हत्याको घटनाले घरेलु हिंसाको समस्यालाई सतहमा ल्याइदिएको छ । कुनै बेला निकै शक्तिशाली मानिएका राजनीतिज्ञकी पत्नीको हत्या आरोपमा दोषी ठहर्‍याउनुका साथै व्यापक दबाबबीच घरेलु हिंसा रोक्न एउटा नयाँ कानुन पनि ल्याइएको छ ।

यसले मानिसमा आशा जगाएको छ– यसखालका अरू पीडितलाई पनि अब न्याय मिल्नेछ । यो मामिला एक पूर्वमन्त्रीसम्बन्धी हो, जसले आफ्नै पत्नीको हत्या गरेका थिए । त्यसबारे अदालतले अध्ययन गर्दा तथ्य निकै गम्भीर थिए ।

देशका पूर्वअर्थमन्त्रीले कुटपिट गरी आफ्नी पत्नी सल्तनत नुकेनोवाको हत्या गरेका थिए । यो दृश्य आंशिक रूपमा सीसीटीभी क्यामेरामा कैद भएको थियो । राजधानी अस्तानामा एउटा रेस्टुरेन्टमा भेटिएको फुटेजमा स्थानीय समयानुसार बिहान ७.१५ बजे कुआंडिक विशिम्बायेवले आफ्नी पत्नी सल्तनतमाथि लात्ती र मुड्की प्रहार गर्दै गरेको देखिएको थियो । अनि, उनको कपाल तानेर विशिम्बायेवले घिसारिरहेका थिए । तर, यसको अघिल्लो १२ घण्टासम्म के भयो भन्ने बारेमा प्रस्ट छैन ।

Dabur Nepal
NIC Asia

यसक्रमका केही फुटेज उनको मोबाइल फोनबाट प्राप्त भएको छ, जसलाई अदालतमा पेस गरिएको छ । तर, सार्वजनिक गरिएको छैन । एउटा अडियोमा सुनाइएअनुसार, विशिम्बायेवले एक अर्को पुरुषका विषयमा सल्तनतलाई अपमानित गर्दै प्रश्न सोधिरहेका छन् ।

अदालतमा सुनाइएअनुसार, विशिम्बायेवले कैयौँपटक एक ज्योतिषीलाई फोन गरेका थिए । जबकि, उनकी पत्नी बेहोस थिइन् । त्यहाँ कुनै क्यामेरा थिएन । अन्त्यमा ८ बजे एउटा एम्बुलेन्स बोलाइयो । त्यति बेलासम्म उनको हत्या भइसकेको थियो । पोस्टमार्टम रिपोर्टका अनुसार, उनको हत्या ६ वा ८ घण्टाअघि नै भइसकेको थियो ।

अदालतमा पेस गरिएको फरेन्सिक रिपोर्टमा सल्तनतको टाउकोमा गहिरो चोट लागेको देखिएको थियो । टाउकोमा २३० एमएल रगत जम्मा भएको देखिएको थियो । अदालतमा बताइएअनुसार, उनको गला दबाउने प्रयास समेत गरिएको थियो ।

रेस्टुरेन्टमा यो घटना भएको थियो । त्यहाँ विशिम्बायेवका नातेदार बाखित्जान बौझानोव निर्देशक थिए । घटना लुकाएको आरोपमा उनलाई चार वर्षको जेल सजाय सुनाइएको थियो । अदालतमा सुनुवाइका क्रममा दाबी गरेअनुसार, विशिम्बायेवले उनलाई फुटेज डिलिट गर्न भनेका थिए ।

यही १३ मेमा अस्तानाको सर्वोच्च अदालतले ४४ वर्षीय विशिम्बायेवलाई ३१ वर्षीया सल्तनतको क्रुरतापूर्वक हत्या गरेको अभियोगमा २४ वर्षको जेल सजाय सुनाएको छ ।

कजाखस्तानमा हरेक वर्ष सयौँ महिला आफ्ना लाइफ पार्टनरको हातबाट मारिने गरेका छन् । तर, सजाय निश्चित गर्न सजिलो छैन । संयुक्त राष्ट्रसंघको अनुमानानुसार, देशमा भएका घरेलु हिंसाका चारमध्ये केवल एउटा मामिला मात्र अदालतसम्म पुर्‍याइन्छ । सल्तनतका भाइ भन्छन्, “कजाख महिला पहिलेदेखि नै चिच्याइरहेका छन् । तर, उनीहरूको सुनुवाइ भइरहेको छैन ।”

सल्तनतको बाल्यकाल रुसको सीमास्थित कजाखस्तानको पावलोदार सहरमा बितेको थियो । स्कुले शिक्षापछि उनी पूर्वराजधानी अल्माइटी गएकी थिइन् । त्यहाँबाट केही दिनका निम्ति आफ्ना एक मात्र भाइ ऐटबेक अमानगेल्डीका साथमा रहेकी थिइन् । ऐटबेकले बताएअनुसार, त्यसक्रममा राजनीतिज्ञसँग सम्बन्ध बढेको थियो । उनीहरूबीचको सम्बन्ध सुमधुर भएको थियो । तर, विवाहको एक वर्षभित्रै सल्तनतको हत्या गरियो ।

रिपोर्टका अनुसार, विशाम्बयेवलाई सन् २०१७ मा घुसखोरीको मामिलामा गिरफ्तार गरिएको थियो । र, १० वर्षको सजाय सुनाइएको थियो । तर, तीन वर्ष जेलमा बसेपछि उनी छुटेका थिए । सो समयमा सल्तनत एक ज्योतिषीका रूपमा काम गर्थिन् । उनका भाइका अनुसार, उनी जब नौ वर्षकी थिइन्, ‘गड मदर’ले उनलाई ज्योतिषको एउटा पुस्तक दिएकी थिइन् । त्यही बेलादेखि उनलाई यसतर्फ रुचि बढेको थियो । उनले बताए अनुसार, उनकी बहिनी बहुत खुस मिजास थिइन् । उनको सपना एक ज्योतिष स्कुल खोल्ने थियो । उनका भाइका अनुसार, उनी विभिन्न समस्यामा परेका महिलाको मद्दत गर्थिन्, चाहे परिवारका साथ परेसानीको मामिला होस् वा विवाहमा अप्ठ्यारो वा अरू ।

आफ्नो बयानका क्रममा ऐटबेकले जनाएअनुसार, विशिम्बायेवले सल्तनतसँग सुरुमा भेट्ने प्रयास गरेका थिए । तर, उनले इन्कार गरेकी थिइन । यद्यपि, उनीहरूबीच पछि भेट र कुराकानी भएको थियो ।

कुराकानीको केही महिनाभित्रै उनीहरूले विवाह गरे । तुरुन्तै समस्या पनि सुरु भयो । सल्तनतले चोट लागेका विभिन्न तस्बिर आफ्नो भाइलाई देखाएकी थिइन् । अनि, कैयौँपटक आफ्नो पतिलाई छोड्ने प्रयास गरेकी थिइन् । सल्तनतले आफूलाई मन पर्ने नोकरी छोडेपछि विशिम्बायेवले उनलाई अलगथलग गर्ने प्रयास गरिरहेका थिए । उक्त क्रम हत्यासम्म अघि बढ्यो ।

अदालतको फैसलामा न्यायाधीशले हत्यालाई क्रूरता भनेका छन् । विशिम्बायेवले शारीरिक नोक्सानी पुर्‍याएको स्वीकार गरे, जसका कारण सल्तनतको मृत्यु भयो । तथापि, यो सुनियोजित नभएको उनले बताइरहे । सुनुवाइका क्रममा विशिम्बायेवले न्यायाधीशलाई निष्पक्ष हुन अपिल गरे । उनका वकिलले ऐटबेकसँग सल्तनतको निजी सम्बन्धका बारेमा सवाल गरेका थिए । उनलाई दोषी ठहर्‍याउन उनले प्रयास पनि गरेका थिए ।

हिंसाविरुद्ध लड्नु साहसी कार्य
पूर्वी युरोप र मध्य एसियाका निम्ति एम्नेस्टी इन्टरनेसनलका उपनिर्देशक डेनिस क्रिवोशिव भन्छन्, “यदि, पीडितले अपराधका लागि उक्साएको पाइयो भने पीडितलाई पनि दोषी ठहर्‍याउन सकिन्छ । उसमाथि परिवार बर्बाद पारेको वा पति, अभिभावक र सासूससुराको इज्जत नगरेको दोष लगाउने गरिएको छ ।”

उनका अनुसार, घरेलु हिंसाको रिपोर्ट गर्नु साहसी कार्य हो । यस्ता उजुरी निकै कम पर्ने गरेको उनले बताए । संयुक्त राष्ट्रसंघको अनुमानानुसार, हरेक वर्ष करिब ४०० कजाख महिलाले घरेलु हिंसाका कारण ज्यान गुमाउँछन् । तुलना गर्ने हो भने यो आँकडा २०२३ मा इंग्ल्यान्ड र वेल्समा ७० थियो ।

कजाखको गृह मन्त्रालयका अनुसार, २०१८ देखि २०२२ का बीचमा घरेलु हिंसाका घटनामा १४१.८ प्रतिशतले बढोत्तरी भएको थियो ।

जब सल्तनतको अन्तिम घडीको जानकारी अदालत कक्षको लाइभ स्ट्रिमबाट देशको सामुन्नेमा आयो, तब सरकारलाई कडा कदम चाल्न बाध्य पार्‍यो । सोसल मिडियामा बहस चर्कियो र घरेलु हिंसाको कानुनमा सुधार ल्याउन माग गरिएको याचिकामा डेढ लाख मानिसले हस्ताक्षर गरे ।

२०१७ मा घरेलु हिंसाविरुद्ध कानुन ल्याइएको थियो । उक्त कानुन त्यति कडा थिएन । गएको अप्रिल १५ मा भने राष्ट्रपति कासिम जोमार्ट टोकायेवले कडा कानुनमा हस्ताक्षर गरे । नयाँ कानुन सल्तनत कानुनका रूपमा चिनिएको छ ।

नयाँ कानुनमा के छ ? 
नयाँ सल्तनत कानुनानुसार, घरेलु हिंसा गम्भीर अपराध मानिन्छ । पहिले यसलाई सामान्य अपराध मानिन्थ्यो । अब यो खालको अपराधमा पीडितको उजुरीबिना पनि मुद्दा चलाउन सकिन्छ । घरेलु हिंसा र बलात्कारका पीडितको मद्दतका निम्ति एक संस्था चलाउने दिनारा स्माइलोवा भन्छिन्, “कानुन कडा बनाउनुले मात्रै पनि हुँदैन । यदि, महिला २१ दिन अस्पतालमा बसेकी छैनन् भने मामुली चोट मान्ने गरिएको छ । हड्डी टुट्ने, नाकको हड्डी भाँचिने वा बंगारा भाँचिएको घटनालाई सामान्य चोट मानिने गरेको छ ।”

स्माइलोवाले २०१६ मा आफ्नो संस्थाको सुरुआतका केही दिनमै सयौँ महिलाको सन्देश आएको उल्लेख गरिन् । उनका अनुसार, सरकारका तर्फबाट कुनै कारबाही नहुनाले उनको संस्थाले पछिल्लो आठ वर्षदेखिका गम्भीर मामिला प्रकाशित गर्न लागिरहेको छ ।

उनी स्वयं भने कजाखस्तानमा बस्दिनन् । किनकि, गलत सूचना फैलाएको, फर्जी आरोप लगाएको भन्दै प्रशासनले उनलाई ‘वान्टेड’ सूचीमा राखेको छ ।

सल्तनतका भाइ ऐटबेकको भनाइमा, यो कानुन पनि पर्याप्त छैन । तथापि, कम्तीमा यसतर्फ सुरुआत भएको छ । मानिसलाई यो कुरा जानकारी भयो कि शक्तिशाली व्यक्तिलाई पनि सजाय मिल्न सक्छ ।

उनको भनाइ छ, “यो मुद्दाले मानिसलाई बताउनेछ कि कजाखस्तानको कानुन सबैका लागि समान छ र अदालतको सामुन्ने सबै बराबर हुन् ।” बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu