site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिममा मन्त्रिपरिषद्ले पाएन पूर्णता
फाइल तस्बिर ।

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वमा सरकार बनेको एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले यही जेठ ३ मा विश्वासको मत पाइसकेका छन् । विश्वासको मत पाएलगत्तै एक–दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भनिएको थियो । तर, अहिलेसम्म पूर्णता दिन सकेका छैनन् ।

मुख्यमन्त्रीको दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल भइरहेको र सत्तासाझेदार दलले सहयोग नगरेको बताए । “हाम्रो कारणले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको होइन । यो सकसका बारेमा सत्तासाझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेतालाई तपाईंहरूले प्रश्न गर्न आग्रह गर्दछु,” उनले भने ।

मन्त्रालय फुटाएर कसैलाई मन्त्री बनाउँदा गलत सन्देश जाने उनले उल्लेख गरे । आफूहरू मन्त्रालय फुटाउने पक्षमा नरहेको पनि उनले बताए ।

कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सत्तासाझेदार दलहरूबीच कुरा नमिल्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भइरहेको बताइएको छ । एमालेले सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि तत्काल सरकारमा नजाने यसअघिको निर्णय अझै परिवर्तन गरेको छैन । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज पाठकले भने, “अर्को निर्णय नगर्दासम्म एमाले मन्त्रिमण्डलमा नजाने भन्ने हो । सरकारमा जाने वा नजाने विषयमा पार्टीको केन्द्रीय नेतृत्वसँग परामर्श र प्रदेशमा सत्तासाझेदार दलसँग छलफल गरिरहेका छौँ ।”

नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार विकास र टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारीमा छन् । अरू मन्त्रालय मुख्यमन्त्रीले आफैँसँग राखेका छन् । सामाजिक विकास, आर्थिक मामिला, उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन् ।

यसैबीच, सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन यही जेठ १३ गते सुरु हुँदै छ । प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन जेठ १३ गते आइतबार दिउँसो ३ बजे बस्ने गरी आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro