
“ए ! जा त्यो सानुचा बढार्नेलाई मुत् भन् । मूत भाँडोमा राखेर ले भन् ।” यो श्री ३ जङ्गबहादुरको हुकुम थियो । त्यहाँ भएका जङ्गी, निजामती सबै भाइभारदार आपसमा मुखामुख गरेर हेर्न लागे ।
मुसेकाजी भने दुवै हात झारेर एक अर्कोमा गुटमुटाएर टाउको निहुराएर निश्चल खडाको खडै थियो ।
कति चाँडो साँच्चिकै हातमा भाँडो लिएर सानुचा बढार्न आइपुग्यो । श्री ३ ले एकफेरा मुसेकाजीलाई माथिदेखि तलसम्म सरसरती हेरेर केही मुस्काए ।
“ए ! ल्याइस् ?”
हातमा भाँडो भएको, घुँडा टालेको सुरुवाल लगाएको सानुचाको दुवै खुट्टा काँप्यो ।
“ए ! त्यो मूत यसलाई छर्किदे ।”
नहेर्दै साँच्चिकै सानुचाको काँपेको औंला मूत भएको भाँडामा चोपियो ।
“ए ! के हेर्छस्, छर्किदे यसलाई ।”
सानुचा सुस्तरी सुस्तरी मुसेकाजीको सामुन्ने पुग्यो र त्यस्तै काँपेको औंलाले मूत छर्किदियो ।
“ए ! कहाँ गयो तेरो जात ? देखिस् अब तेरो जात ?” मुसेकाजीको जात हिँडिसकेको थियो । ऊ छोइछिटो लिनुपर्ने पानी नचल्ने भइसकेको थियो ।
त्यसपछि बाटोमा पन्छीपन्छी, हच्कीहच्की मुसेकाजी घरतिर लागेको थियो । घर नगई जाने कहाँ ? आखिर ऊ घर पुग्यो । घरको सँघारमा ढुङ्गाको पेटी थियो । ऊ त्यसैमा लामो सुस्केरा हालेर थचक्क बस्यो ।
छिँडीभित्रसम्म जाने उसलाई आँट आएन । स्वास्नीले झ्यालबाट लोग्ने आएको देखेकी थिई । हाम्फाल्दै भर्याङ ओर्लेर लोग्नेको सामुन्ने पुगी । लोग्नेले स्वास्नीलाई अपराधीले हेरे झैँ हेर्यो । हो–होइनजस्तो मसिनो हाँसो उसको ओठमा नाच्यो र थामियो । स्वास्नी कुरा बुझ्न खोजेर लोग्नेलाई हेरिरही ।
“मेरो जात गयो बुझिस् ? मेरो जात गयो । पानी नचल्ने भएँ म अब ।” मुसेकाजी जुरुक्क उठ्यो र गाईगोठतिर लम्कन खोज्यो ।
“होइन, के भनेको ? मैले कुरा बुझिनँ ।” स्वास्नी लोग्नेतिर टाँसिन खोजी ।
“होइन, मलाई नछो ।” लोग्ने एकदम पन्छियो ।
“अब मेरो बास त्यो गोठ ।”
धेरैबेरपछि बल्ल स्वास्नीले कुरा बुझी । श्री ३ को हुकुमको अघिल्तिर कसको के लाग्छ ! ऊ रुन पनि नसकेर त्यहीँ लोग्नेनिर थचक्क बसी । लोग्ने हतपत पन्छिएर गोठतिर लम्क्यो ।
जात गएको मुसेकाजीलाई रखवाली गर्दै पुर्याउन आउनेहरू हाँस्न पनि नसकेर बोल्न पनि नसकेर हेरिरहेका थिए । गाईगोठको गोठालो भित्तामा अडेस लागी विमुढ भएर उभिरहेको थियो ।
गोठमा गाई थिएन । चौरमा चर्न गएको फर्केको थिएन । एउटा बाछो त्यहाँ अकेला बाँधिएको थियो । त्यसको आँखा पनि टोलायमान थियो । गोठमा सुकुल आइपुग्यो । सुकुल बिछ्याइयो । मुसेकाजी त्यसमा बस्ने नबस्ने एकछिन अलमलियो र पछि बस्यो । स्वास्नीले कुरा बुझेर लोग्नेतिर प्रश्न गर्ने आँखाले हेरी अब ?
श्री ३ महाराज जङ्गबहादुरसँग सवारीसाथ बेलायत गएको मुसेकाजी फर्केर आएपछि कोसँग के गफ छाँटेको थियो त्यो गफ श्री ३ को कानमा पुगिहाल्यो । उसले गफैगफमा आफ्नो रबाफ देखाउन भनेको याद छ, “अरूले के खाए, कसको हातबाट खाए, को आइमाईसँग लसपस गरे त्यो भन्न सकिन्न । आफूले त अरू त्यस्तो कुनै कुरा गरिएन, शुद्ध भएर हिँडियो, बसियो र जात बचाएर आइयो ।”
फेरि श्री ३ को बारेमा कुरा उठ्दा उसले सायद भनेको थियो, “त्यस्तो प्रतापी महाराजबाट जे गरिबक्से पनि हुन्छ । ईश्वरले वरदान दिएको ईश्वरै समान हुन् । जे गरे पनि पाप लाग्दैन । दूधजस्ती सेती चिटिक्क कमर छिनिएलाजस्ती त्यस्ती हिस्सी परेकी मीम देखेर को लोभिँदैन । झन् ती बथानका बथान त्यसै मौसुफलाई घेरेर झुम्मिने । त्यस्तो प्रतापीको अघिल्तिर स्वयं देउताको पनि केही लाग्दैन ।” मुसेकाजीले त्यस्तै केही कुरा भनेको थियो ।
तर कुन पापीले हो न हो कुरा लगाएर, अझ कुरामा रफु भरेर श्री ३ को कानमा पुरÞ्यायो । अब श्री ३ बाट चोथाले मुखको मुसेकाजीले यो सजाय पायो र पानी नचल्ने अछूत भयो ।
अब उसले स्वास्नीसँगको संसर्गको त कुरै भएन आफ्ना छोराछोरीलाई काखमा राखेर मायाले मुसार्नसमेत नपाउने भयो । उसको अवस्था देखेर सबै हाँस्छन् । उसलाई आफ्नो अवस्था देखेर आफंैलाई पनि हाँसो उठ्छ । नहाँस्ने त त्यहाँ चोक बढार्न आउने पोडे मात्रै छ जसको आँखामा अर्कै भाव छ ।
अब मुसेकाजीले स्वास्नी, छोराछोरीलाई हातले इसारा गरेर आफूलाई नछुन पन्छाउनु परेन । उनीहरू आफैं पन्छिने भइसकेका थिए । अरू नोकरचाकर पनि आफैं पन्छिन थालेका थिए ।
मुसेकाजीले आफूले खाएको जुठो थाल आफैंले माझ्नुपरेको थियो । माझेको थालमा घरको भान्छेबाहुनले भात खन्याइदिन्थ्यो । यसमा अलिकति पनि तलमाथि पार्न हुँदैनथ्यो । अलिकति मात्रै लसपस भएमा श्री ३ को कोपको भाजन हुनुपर्ने ।
उहाँबाट थाहा नपाउने कुरै भएन । उहाँको आँखा, कान सर्वव्यापी । जात त जाने भयो भयो सन्तान, दरसन्तानले के गर्ने ! त्योबाहेक आफ्नो धर्म हो, चलिआएको धर्मको कुरा हो । यसलाई कसले नाघ्न सक्छ !
एक–दुई दिनपछि नै मुसेकाजीलाई गोठमा सुकुलमाथि बिछ्याएको डसनामा सुत्न थकथक नलाग्ने भयो । फेरि केही दिनमै त्यो सिरक डसना हेर्दाहेर्दै मैलो हुँदै गयो । धुने को, बिस्तारै–बिस्तारै फुसफुस दाह्रीजुँगा मुसेकाजीको अनुहारभरि फैलियो । हारेको आँखा लिएर मुसेकाजी दुई खुट्टा टेकेर टुक्रुक्क बस्ने भयो । एकदम पानी नचल्ने भएर ।
“जात चलाइपाऊँ भनेर बिन्तीपत्र चढाउनुपर्यो ।” पारि बागमतीको पण्डितबाजेले मुसेकाजीलाई अलि वरै आउने आँट गरेर भन्यो ।
मुसेकाजी अहिले टुक्रुक्क बसेको, पलेंटी मारेर बस्यो र केही हाँस्यो ।
“हो त नि ।” उसकी स्वास्नीले कुरा थपी ।
“बिन्तीपत्र चढाउने मैले ? मैले कागजमा कलम कोर्ने ? मैले लेखपढ गर्ने, म पानी नचल्नेले ?”
पण्डितबाजे बोल्न नसकेर हेरेको हेर्यै भयो । मुसेकाजीकी स्वास्नीले अहिले लोग्नेलाई केही खिज्याएको भावले हेर्न लागी ।
“शास्त्रमा पानी नचल्नेले लेखपढ गर्न हुन्छ भनेको छ र ?” मुसेकाजीले सोध्यो ।
“तर बिन्ती त चढाउनैपर्यो ।” पण्डितबाजेले भने ।
“हुन्छ बिन्ती चढाइदिनुस् । म बिन्तीपत्र लेख्ने होइन । कागजलाई अशुद्ध पार्न औंठाको सहीसमेत गर्ने होइन ।”
“हुन्छ म सकेको गर्छु ।“ पण्डितबाजेले लामो सास फेरेर भन्यो ।
पण्डितबाजेको ससुरा थापाथली दरबारमा पूजाकोठे थियो । मुसेकाजीलाई थाहै नदिई पण्डितबाजेले उसकी स्वास्नीको भाखामा बिन्तीपत्र लेखी बूढीऔंलाको छाप लगाउन लगाई श्री ३ को जुनाफमा टक्र्यायो । श्री ३ ले बिन्तीपत्रको व्यहोरा सुनेर एकछिन रमाएर खोपीमा भएका सबैलाई हेरे ।
“बिचरा !” उनले भने ।
खोपीमा एकदम शान्ति छायो ।
“भइहाल्यो त्यसलाई जात दिनू । ए, गुरुज्यूलाई बिन्ती गर्नू, त्यसलाई पतिया बक्स्योस् भनेर ।”
भोलिपल्ट बिहान मुसेकाजी लाज हो कि सरम केले हो अनकनाई–अनकनाई इनारतिर पुग्यो । घरको पुरानो खानदानी नाइले जे पर्ला पर्ला पछि आफूलाई शुद्धयाउँला भनेर मुसेकाजीको कपालदाह्री खौरिदिइसकेको थियो ।
बाहुनबाजेले इनारबाट शुद्ध लोटामा पानी ताने र मुसेकाजीले चलन गरेको बाल्टिनमा खन्याइदिए । मुसेकाजीले हरहर काशीसमेत नभनी (जुन पहिले नुहाउँदा भन्ने गर्थ्यो) आफ्नो लोटाले बाल्टिनबाट पानी झिकी आफ्नो टाउकोमाथि खन्यायो ।
स्वास्नीले अलि पन्छिएर इनारको डिलमा राखेको रुमालले आफ्नो आँग पुछयो, टाउको पुछ्यो । फेरि अलि पर थुपारेर राखेको लुगा उठायो । भोटो लगायो, लबेदासुरुवाल लगायो, पटुका बाँध्यो ।
पटुकामा दक्षिणा दिनुपर्ने पैसाको थैली घुसायो । तगेको कालो टोपी लगायो । जान तम्तयार भयो । जुत्ता लगाउन बिर्सेको जुत्ता पनि लगायो । धेरै दिन भयो जुत्ता नलगाएको । काने जुत्ताले फेरि पोल्यो । तैपनि ऊ हिँड्यो ।
गुरुज्यूनिवासको ढोकामा पुगेर मुसेकाजी एकछिन आत्तियो । तर एकछिनपछि ऊ ढोकाभित्र पसिसकेको थियो भित्री ढोकानिरको ढुङ्गाको पेटीमा ऊ बस्यो । धेरैबेरपछि गुरुज्यू त्यहाँ देखा परे । गुरुज्यूले नचिनेको जस्तो गरिरहे अनि सोधे, “यो को ?”
मुसेकाजी वाल्ल परेर गुरुज्यूलाई हेरिरह्यो ।
“ए, तँ मुसेकाजी ?” गुरुज्यूले चिने ।
मुसेकाजी अझै वाल्ल परेर गुरुज्यूलाई हेरिरहेको थियो । उसले आफ्नो आँखा गुरुज्यूतिरबाट बिस्तारै झार्यो । ऊ त यति सानो क्षुद्र । जुरुक्क उठेर उसलाई त्यहाँबाट भागूँजस्तो लाग्यो र तर ऊ उठ्न सकेन । ऊ शिथिल भइसकेको थियो ।
“ए, यो पतिया लिन आएको । प्रायश्चित्त गरेपछि पतिया पाउने नै भयो ।” गुरुज्यूले एकछिन व्यङ्ग्यपूर्वक मुसेकाजीलाई हेरे ।
चाँदीको थालमा पूजासामान आइपुग्यो । पञ्चपात्रमा जल थियो ।
“लौ टाउको थाप ।” गुरुज्यूले मुसेकाजीलाई हेरेर भने ।
मुसेकाजी एकछिन विमूढ भयो । उसले साँच्चिकै टाउको थाप्ने कि उठेर भाग्ने । तर उसले टाउको थाप्यो । उसले नबुझ्ने संस्कृतको श्लोक उसको कानमा पर्यो । टाउकोमा जल परेपछि ऊ झस्कियो । गुरुज्यूले जल छर्किदिएका थिए । गुरुज्यूको आँखामा उसको आँखा पर्यो । तर झट्ट उसले आँखा ओराल्यो, फेरि ऊ उठेर त्यहाँबाट भाग्न खोज्यो ।
“ए, दक्षिणा चढाउनुस् ।” पूजासामान बोकेर ल्याउनेले भन्यो । पातको दुना मुसेकाजीको सामुन्ने राखियो ।
“यसमा चढाउने ।” पूजासामान बोकेर ल्याउनेले भन्यो । पटुकामा घुसारेको थैली मुसेकाजीले बिस्तारै झिक्यो र गनेर आठ पैसा लियो, त्यो तेर्सिएको दुनामा राखिदियो ।
पूजासामान ल्याउनेले हो... भनेर मुसेकाजीको निधारमा टीका लगाइदियो र टाउकोमा फूल राखिदियो ।
“अब तपाईं शुद्ध हुनुभयो ।” गुरुज्यू अहिले बोले ।
मुसेकाजीले एकदम जिल्लिएर गुरुज्यूलाई हेरिरह्यो । ऊ अब तपाईं ? यति चाँडो ‘तँ’बाट ‘तपाईं’ ?
“अब तपाईंको जात आयो । तपाईंले जात पाउनुभयो ।”
मुसेकाजी दायाँबायाँ यताउति कतै नहेरी घर फर्किरहेको थियो । हिँड्दाहिँड्दै ऊ अचानक थामियो । उसले अचानक मूत छर्कने सानुचाको आँखा देख्यो । मूत छर्कन लाग्दा उसलाई हेरेको आँखा देख्यो कति निर्धो, कति माया गरेर त्यो आँखाले मुसेकाजीलाई हेरेको थियो ।
ऊ अझै ठिङ्ग उभिएको थियो । उसले त्यसै बखत अचानक गुरुज्यूको जल छर्कन लाग्दाको आँखा देख्यो । अनि ऊ फटाफट हिँड्यो । तर बाटोभरि कहिले गुरुज्यूको आँखा, कहिले सानुचाको आँखा, कहिले गुरुज्यूको आँखा, कहिले सानुचाको आँखा देखिरह्यो ।
घर पुगेपछि मुसेकाजी सरासर गोठतिरै लम्क्यो र गोठभित्र उभिएर थामियो । भएभरको स्वर गलामा ल्याएर उसले भन्यो, “मेरो बास यही गोठ । म यही गोठमा बस्छु ।”
मुसेकाजी केही गरे पनि भर्याङ उक्लेर घरमाथि जान मानेन । स्वास्नी, छोराछोरी रोए कराए, गोठमै सुत्यो, पहिलेजस्तै त्यसै गरी भात खायो, त्यसै गरी थाल माझ्यो र त्यसै गरी टुक्रुक्क बस्यो ।
यो खबर श्री ३ को जुनाफमा जाहेर भयो । श्री ३ महाराज जङ्गबहादुर धेरैबेरसम्म बोल्दै नबोलेर सोचिरहे ।
(जङ्गबहादुरको सवारीसाथ बेलायत जाने मुसेकाजी कुनै व्यक्तिको काल्पनिक नाम हो । यो कथा ऐतिहासिक तथ्यको आधारमा लेखिएको होइन, किंवदन्तीको भरमा लेखिएको हो ।)
(कथाकार गोठालेको ‘बाह्र कथा’बाट ।)