काठमाडौं । अभिनेता दयाहाङ राईले केही दिनअगाडि बाह्रखरीसँगको कुराकानीमा भनेका थिए– यो जानरा (सोसल ड्रामा)का सिनेमा र यस्ता पात्रमा कसरी काम गर्ने त्यसमा मैले छर्लंगै देखेर आएको छु । यसरी गर्ने भनेर त म भन्न सक्तिनँ होला, पढाउनुपर्यो भने जान्दिनँ होला, तर काम गर्नचाहिँ सक्छु । कसैलाई पढाउनुपर्यो भने यो यो प्रोसेस भनेर भन्न सक्तिनँ, तर काम गर्न सक्छु ।
दयाहाङ अक्सर कसैलाई देखेको वा अब्जरभेसन (अवलोकन) गरेको आधारमा चरित्रमा ढल्थे । सतही अब्जरभेसनले मात्र नपुग्ने भए आफैँले केही दिन त्यो जीवन भोग्ने प्रयास गर्थे । उनी मात्रै होइन, प्रायः अभिनेताले चरित्रमा रूपान्तरण हुन गर्ने प्रक्रिया यही नै हो । यसै गर्थे । गरिरहेका छन् ।
तर, दयाहाङले चलचित्र ‘गाउँ आएको बाटो’मा नयाँ तरिकारले चरित्र खोज्ने प्रयास गरे । त्यो निर्देशक नवीन सुब्बाको आइडिया थियो । भलै, उनले अन्त कतै भइसकेको अभ्यास यहाँ पनि प्राक्टिसमा ल्याउने प्रयास गरेका थिए ।
नवीनले दयासहित कलाकारहरूलाई टेक्स्ट एनलाइसिस मेथोडबाट क्यारेक्टर खोज्न भने । त्यो नेपाली सिनेमामा पहिलोपटक भएको नवीनको दाबी छ ।
टेक्स्ट एनलाइसिस मेथोड भनेको स्क्रिप्टभित्रै चरित्र खोज्ने हो । स्क्रिप्टभित्रकै इन्स्ट्रक्सनानुसार चरित्र निर्माण गर्ने हो । अभिनय इन्टरेक्टिभ र एक्टरेक्टिभ हुन्छ । एक्टरेक्टिभ भनेको व्यक्ति कसरी हिँड्छ, कस्तो देखिन्छ र उसको हाउभाउ कस्तो छ भन्ने हो । इन्टरेक्टिभ भनेको उसको मनोविज्ञान र मानसिकता कस्तो छ भन्ने हो । उसको विश्वास, पद्धति र विश्व दृष्टिकोण टेक्स्ट (स्क्रिप्ट)ले निर्धारण गर्छ ।
नेपालमा स्क्रिप्टभित्र होइन, स्क्रिप्टबाहिर रहेर अभिनय गर्ने चलन छ । अब्जरभेसन गर्न जाने र चरित्र निर्माण गर्ने भन्ने छ । तर, यो मेथोडले स्क्रिप्टभित्रबाट चरित्र निर्माण गर, बाहिर बहकिने काम नगर भन्छ । यही नै दयाहाङले नवीनसँग वर्कसपमा बस्दा सिके ।
स्क्रिप्टभित्र थुप्रै डटहरू हुन्छन् । यो मेथोडले त्यही डटको कनेक्सनबाट चरित्र निर्माण गर्नुपर्छ भन्छ । डटको कनेक्सनबाट त्यसभित्र आर्ट खोज भन्छ । डटभित्रैबाट कलर डिजाइन गर भन्छ ।
यो मेथोडले कलाकारले स्क्रिप्ट पढेर निर्देशकलाई मैले यो बुझेँ, यो पाएँ, त्यसैले यस्तो गर्छु वा गरेँ भन्न पाइँदैन भन्छ । यो मेथोड दयाहाङले आफ्नो अभिनय करिअरमा पहिलोपटक प्रयोग गरेका छन् । जबकि, उनका थुप्रै सिनेमाले विश्वका प्रतिष्ठित इन्टरनेसनल फिल्म फेस्टिभलको फन्को लगाइसकेका छन् । त्यसैले दयाहाङले यो चलचित्रमा मेरो फरक अनुभव रह्यो र अब यही जानराका सिनेमा र चरित्रमा ‘गाउँ आएको बाटो’बाट सिकेको कुरा गर्छु भनेका हुन् ।
थिएटरको स्कुलिङबाट आएका दयाहाङमा एउटै मुडमा अभिनय गर्ने अभ्यास थियो । जसका कारण को–एक्टरको मुड र क्यामेराको टाइमिङ नमिल्दा रियाक्ट गर्दा सहज देखिँदैन थियो । रेस्पोन्स खोज्ने र दिने सन्दर्भमा एकैखालको आदत आफ्ना सिनेमामा देखिएको उनले थाहा पाए ।
नाटकमा एउटै इमोसनमा लामो सिनमा अभिनय गरेका दयाहाङले चलचित्रमा पनि त्यही गरे । उनी मात्र होइन, नाटकबाट आएका कलाकारले अहिले पनि त्यही नै गरिरहेका छन् । त्यसैले टिप्पणी गर्ने गरिएको छ– नेपाली चलचित्र र नाटकको अभिनयमा फरक छैन ।
नाटकमा एउटै इमोसनमा एउटा सिन सकिन्छ । सिनेमामा एउटा सिनमा एकपटक कट् गरेपछि इमोसन होल्ड गर्नुपर्छ । होल्ड भएको इमोसन थुप्रै समय वा दिनपछि फेरि ब्याक ल्याएर काम गर्नुपर्छ । यही हो, दयाहाङले मैले छर्लंगै देखेर आएको छु, अरूलाई पढाउन त सक्तिनँ होला, तर म मेरा आउँदा चलचित्र र चरित्रमा लागु गर्न सक्छु भनेको ।