काठमाडौं सहरबाट छोरा रमेशले गाउँमा रहेका बाआमालाई तीर्थयात्रा गराउन गाडीको व्यवस्था गरेर फोन गर्यो । बाआमा भोलिपल्ट रात्रिबस चढेर काठमाडौँ आए ।
बाआमाले बस चढ्नुअघि तीन महिनापछि ब्याउने भैँसीको जिम्मा भाइबुहारीलाई दिए । तालाबन्दी गरेको भए तापनि घरमा चोर पस्छ कि भन्ने शंका थियो रमेशका बाआमालाई ।
भारतका प्रसिद्ध तीर्थस्थलहरूको भ्रमण गर्दा रमेशका बाआमा औधी खुसी थिए । चारधामका साथै अन्य नाम चलेका तीर्थस्थलमा पनि पुगे रमेशका बाआमा । करिब पन्ध्र दिनको अवधिमा तीर्थयात्रा सकेर रमेशसहित बाआमा काठमाडौँ आए ।
सहरमा साँघुरिएर बस्न सकस भएकाले गाउँमा जान हतार गरे बाआमाले । गाउँमा पुगेर घरको ढोका खोलेर हेर्दा मुसाले भुइँ खोतल्न भ्याइसकेको रहेछ । भर्याङतिर माकुरोले जालो बनाइसकेको रहेछ । माथि उक्लिएर रमेशकी आमाले बार्दलीमा निस्कनका लागि ढोका खोल्दै गर्दा साह्रै नमिठो दुर्गन्ध आएको महसुस गरिन् ।
उनले बुढालाई बोलाइन्, “ए बुढा, यहाँ आउनुस् त ! के गन्हाएको हो यस्तो डुङडुङ्ती ?”
बुढाले यताउती कुनाकाप्चा सबैतिर हेरे । कतै मुसा मरेको पनि देखिएन । बाहिर बार्दलीको डन्डीमा गौँथली बसेको देखेपछि बुढाले भित्र कोठाको माथि दलिनतिर गौँथलीको घर देखे ।
झट्ट अड्कल काटिहाले र बुढीलाई भने, “ए बुढी, बर्बादै भएछ नि !”
बुढीले सोधिन्, “के भयो र ?”
वास्तवमा त्यो दुर्गन्ध त्यहीँ गौँथलीको गुँडबाट आएको रहेछ । घरमा ढोकाबन्दी भएदेखि नै गौँथलीका बचेराहरू माउको प्रतीक्षामा रहेर भोकले छट्पटाए । अनि, तड्पिएर प्राणत्याग गरेका रहेछन् ।
बुढीले ढोका खोलेलगत्तै गौँथली भने आफ्ना बचेराहरू जिउँदै छन् कि भन्ने आसमा भित्र–बाहिर गर्दै उडिरहेको थियो ।
बुढाले मलिन अनुहार बनाउँदै मधुरो आवाजमा भने, “बुढी, हामीले गरेको तीर्थयात्राको कुनै अर्थ रहेन । अर्थहीन तीर्थयात्रा भयो । धर्म कमाउन हिँडेका हामीले पाप सँगाल्न पुग्यौँ । कम से कम हाम्रो ध्यान यी गौँथली र बच्चातर्फ गएन ।”