site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपेन्द्र यादव दुई कार्यकालमा २० महिना स्वास्थ्यमन्त्री, उपलब्धि शून्य 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीबाट राजीनामा दिए । गएको फागुन २७ गते मन्त्री बनेका यादवको कार्यकाल योपटक दुई महिना मात्र रह्यो ।

यसअघि, ०७५ जेठ १८ देखि ०७६ मंसिर ४ गतेसम्म उनले पहिलोपटक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । दुईपटक गरेर उनी २० महिना उक्त पदमा रहे । तर, स्वास्थ्य क्षेत्रमा उनको कार्यकालको उपलब्धि शून्यजस्तै छ । यादव दोस्रोपटक स्वास्थ्यमन्त्री बन्दा ‘फेलियर मन्त्री दोहोर्‍याएको’ भन्दै सरकारको आलोचना गरिएको थियो ।

२०७५/०७६ अर्थात् सन् २०१९ मा नेपालमा पहिलोपटक १९ वर्षयताकै सबैभन्दा बढी डेंगी संक्रमण फैलिएको थियो । उक्त वर्ष १९ हजार ९९२ जनामा संक्रमण फैलँदा स्वास्थ्य मन्त्रालय नियन्त्रणमा चुकेको थियो ।

सोही वर्ष पारित सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ मा गर्भपतनको अधिकतम अवधि २८ हप्ता राखियो । तत्कालीन मन्त्री यादवले गैरसरकारी संस्थाहरूको प्रभावमा परेर सो ऐन निर्माण अघि बढाएको आरोप छ । त्यो प्रावधानका कारण अहिले पनि सुरक्षित गर्भपतनको अवधि बहसकै विषय छ ।

त्यति मात्र नभई सोही कार्यकालमा ०७५ मंसिरमा उनले पार्टीगत स्वार्थमा ठूलो संख्यामा कर्मचारी हेरफेर गरेका थिए । कसैले आफ्नो पार्टीको ‘घोर विरोध’ गरेको त कसैलाई विशेष प्राथमिकता भन्दै कपिलवस्तुका एक सांसदले २५ जनाको नाम मन्त्री यादवलाई सिफारिस गरेको पत्र नै बाहिरिएको थियो । त्यति बेला उनले पाचौँदेखि छैटौँ तहका कर्मचारी समेत अन्धाधुन्ध हेरफेर गरेका थिए ।

योपटक दुईमहिने कार्यकालमा मन्त्रालयमा कम नै बसेका यादव सचिवालय समेत पूर्ण विस्तार नगर्दै बाहिरिए । पछिल्लोपटक यादव मन्त्री बन्दै गर्दा स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव, संघीय अस्पतालहरूको खुम्चिएको सेवा, अलपत्र आधारभूत अस्पताल र ठूला अस्पतालहरूमा चरम आर्थिक अभावजस्ता चुनौतीको चाङ थियो । यादव यी समस्याको समाधानमा भन्दा आफूअनुकूलका काममा बढी केन्द्रित रहे ।

यही वैशाख ६ गते उनले एकैपटक दशौँ र एघारौँ तहका १८ चिकित्सक/नर्सको जिम्मेवारी हेरफेर गरे । उनले राष्ट्रिय ट्रमा सेन्टरमा एघारौँ तहका प्रमुख कन्सल्टेन्टलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीबाट हटाएर दशौँ तहका व्यक्तिलाई उक्त जिम्मेवारी दिए । चार संघीय अस्पतालका एघारौँ तहका चिकित्सक/नर्सलाई प्रदेशको मुख्यमन्त्री कार्यालयले जिम्मेवारी दिने गरी कामकाजमा खटाए । सोही तहका १२ चिकित्सक/नर्सलाई पनि अन्तरमन्त्रालय सरुवा गरे ।

वैशाख ९ गते फेरि अर्को निर्णय गर्दै उनले नवौँ र दशौँ तहका चिकित्सक/नर्सहरूको सरुवा, कामकाज र केहीलाई पदस्थापन गरे । र, वैशाख १८ गते (अप्रिल ३०) विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन अमेरिकातर्फ लागे ।

वैशाख २५ (मे ७) गतेसम्म तय भ्रमण छोट्ट्याएर उनी दुई दिनअघि (वैशाख २४) नै  नेपाल फर्किए । आफ्नो पार्टी विभाजनपछि उनले भ्रमण छोट्ट्याएका थिए । यादवले दोस्रोपटक पनि नागरिकको स्वास्थ्यसँग सम्बन्धित कुनै नीतिगत तथा व्यावहारिक सुधारका काम गर्न सकेनन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro