site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रजनन् केन्द्रमा हुर्काइएका घडियाल नारायणीमा छाडियो
फाइल तस्बिर ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा हुर्काइएका १०५ वटा घडियाल गोही नारायणी नदीमा छाडिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रजनन् केन्द्रमा गोही हुर्काउने गरिएको छ । केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उनले बताए । विसं २०३५ सालमा स्थापना गरिएको घडियाल गोही प्रजनन् केन्द्रबाट हालसम्म एक हजार ९५७ वटा गोही देशका विभिन्न नदीमा छाडिएको छ ।

Argakhachi Cement Island Ad

हालसम्म राप्ती नदीमा एक हजार २०२ वटा, नारायणी नदीमा ४१९ वटा, बबइमा ११० वटा, सप्तकोसीमा ११५ वटा, कालीगण्डकीमा ३५ वटा,  कर्णालीमा ४१ वटा, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छाडिएको छन् ।

घडियाल प्रजनन् केन्द्रमा हाल ६२२ गोही रहेका उनले जानकारी दिए । अन्य नदीहरूमा गोही संरक्षण हुन नसकेपछि पछिल्ला वर्षहरूमा नारायणी र राप्ती नदीमा मात्रै गोही छाडिने गरिएको छ । अहिले राप्ती र नारायणी नदीमा तीन–तीन वटा भाले गोही छन् । घडीयाल प्रजनन् केन्द्रमा हाल दुईवटा भाले गोही छन् ।

प्रजनन् केन्द्रमा हुर्काएर नदीमा छाडिए पनि गोहीको सङ्ख्या बढ्न सकेको छैन । मानवीय गतिविधि र नदीसँगै बगेर भारतको जलक्षेत्रमा पुगेपछि संरक्षण चुनौतीपूर्ण भएको हो । रासस

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्