site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई भेटेर सांसद पौडेलले मागे यी कार्यका निम्ति बजेट

काठमाडौं । सांसद एवं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आउँदो बजेटमा समावेश गर्नुपर्ने बहुवर्षीय योजनाका बारेमा ध्यानाकर्षण गराएका छन् । सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहँदा त्यसमा समावेश गर्नुपर्ने भन्दै योजनाका बारेमा शनिबार उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

“काठमाडौं उपत्यकाका एवं सिंगो राष्ट्रका आमनागरिकका जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू सरकारको नीति तथा कार्यक्रमका बहुवर्षे आयोजनाका रूपमा सूचीकृत गराई तत्काल कार्यन्वयनका लागि आवश्यक बजेटको विनियोजन गरिदिनका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको छु,” उनले भने ।

Argakhachi Cement Island Ad

सांसद पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्रभित्रका मुहान पोखरी, विष्णुपादुका र चण्डेश्वरीमा रहेका खानेपानीका स्रोत संकलन गर्न एकीकृत पानी संकलन केन्द्र तथा ट्यांकी निर्माण गरी वितरणका निम्ति शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाई बहुवर्षे आयोजनाका रूपमा सूचीकृत गराई बजेटको विनियोजन गर्न माग गरेका छन् ।

त्यस्तै, रिङरोड दोस्रो खण्ड (कलंकीदेखि धोबीखोला–चाबहिल) विस्तार परियोजना, विष्णुमती नमुना करिडोर राष्ट्रिय गौरव परियोजना, टुकुचा खोला ढल व्यवस्थापन र टोखा नगरपालिका–२ स्थित भूतखेल मैदान खेलकुद विकास योजनालाई आउँदो बजेटमा पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको उनले जानकारी गराए ।

उक्त आयोजना सम्बन्धित क्षेत्रका नागरिक, सरकारी संस्थाका प्रतिनिधि तथा विज्ञसँग परामर्श गरेर तय गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्