site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुःस्वप्न 
Sarbottam CementSarbottam Cement

यो कथा सत्य घटनामा आधारित छ । स्थान र समय कथाअनुकूल हुने गरी परिवर्तन गरिएको छ । पात्रहरूका नाम परिचय लुकाउन फेरिएका छन् ।

यस्तो पहिलो पंक्ति लेखिसकेपछि विदुरले अर्को पंक्ति लेख्न सकेन । केको सत्य घटना ? ठगेर लेख्ने घटनै छैन । उसले भोगिरहेछ । यी सबै के सत्य होइनन् ? तैपनि, पत्याउँदैन कसैले । नपत्याए पनि उसले केही त लेख्नु छ ।

ऊ आत्महत्या गर्न गइरहेको छैन, जसका लागि सुसाइड नोट लेखोस् । यो त दैनिक भोगिरहेको घटना हो । सत्य घटना भने पनि झुटो घटना भने पनि उसले भोगिरहेको छ । ऊसँगै अरूले पनि यसरी नै भोगिरहेका होलान् ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेलाई यति मात्र भनिराखौँ– विदुरले जे लेख्न गइरहेछ, त्यो अत्यन्त सत्य हो । आधाआधी सत्य होइन । अद्र्धसत्य । जस्तै, उसकी छोरी गायब गरिएकी छ । छोरी चौध वर्षकी थिई । थिई भन्न बाध्य छ । जिउँदो÷मरेको थाहा हुन सकेको छैन ।

छोरी हराएको हप्ता दिन भइसक्यो । सम्बन्धित निकायको कानमा हावा लागेको छैन । छोरी कहाँ छे, के हालतमा छे, मारिइसकी वा जिउँदे छे, त्यसबारे कुनै खबर छैन ।

Global Ime bank

विदुर चकित छ र अफसोसमा छ, छोरीको अपहरण किन गरियो ? कसले आँखा लगाइराखेको थियो, को पशुले ? कसले गर्‍यो अपहरण र ककसले गरे कुकर्म ? त्यसको पनि पत्तो लगाउन सकिएको छैन ।

खोजी हुँदै छ र अपराधी उम्कन पाउने छैनन् भन्ने भनाइ मात्र आइरहेछ अखबारहरूमा सम्बन्धित अनुसन्धान अधिकारीहरूको । उसले लिखितमा छोरी हराएको सूचना दर्ता गराइसकेको छ । पहिले निवेदन दर्ता गर्न आनाकानी गरिरहेका थिए । भने, ‘कसैसँग भागी होला ! राम्ररी पत्ता लगाएर यकिन भएपछि रिपोर्ट लेखाउन आउनोस् । अहिलेलाई जानोस् ।’

यिनीहरू रिपोर्ट लेख्न आनाकानी गरिरहेका छन्, उता विदुरलाई लागेको थियो– छोरीलाई निश्चय पनि अपहरणकर्ताहरूले अज्ञात ठाउँमा लगेर लुकाएका छन् । छोरी बलात्कृत...।

उसले अगाडि सोच्न सकेन, आङ सिरिङ्ङ भयो । आँखाअगाडि अँध्यारोले ढाक्यो । छोरी अवश अवस्थामा छे । कुकर्मले क्षतविक्षत अवस्थामा छे । कतिजनाले पालैपालो कुकर्म गरे ?

बाउ हुनाको नाताले उसले धेरै बीभत्स कल्पना गर्न सकेन । ती कतिजना थिए, जजसले उसको छोरीलाई मिलेर अपहरण गरे, अज्ञातमा लगे र पाशविक वासना शान्त गरे ? 

अनि ? अनि पछि सोच्न सकिने अवस्था थिएन । किन अपहरण गरियो भनेर भन्नलाई कारण खोलिरहनुपर्ने थिएन । छोरी हो र उसको अपहरण भएपछि किन गरियो भन्ने प्रश्न निरर्थक हुन्थ्यो ।

छोरीहरू के कारण अपहरित हुन्छन् र उनीहरूको अवस्था कस्तो हुन्छ भन्ने उत्तर निर्मम हुन्छ । फेरि, उसले यो सत्य घटना हो भनिरहनु परेन । सत्य त भइरहेको छ । छोरी उसकैकी थिई र उसैको अपहरण भएको थियो ।

छोरीलाई अपहरण गरेर लगेपछि उनीहरूले फिरौती मागेनन् । फिरौती माग्दा हुन् त उसले केही रकम जम्मा गर्न सक्ने थियो । छोरीको जीवनमरणको सवाल थियो, भएको जग्गाजमिन बन्धक राखेर भए पनि रकम उपलब्ध गराउने थियो ।

फिरौती नमागेपछि किन अपहरण गरियो भनेर जवाफ मागिरहनुपर्ने थिएन । पक्कै पनि उनीहरूले छोरीलाई कुनै अनकन्टार जंगलतिर लगेको हुनुपर्छ ।

अनकन्टार जंगलको कुनै छाप्रोमा वा यतै कतै मध्यसहरको बिल्डिङमा । अरूले थाहा नपाऊन्, जहाँ लगे पनि भो । एउटी असहाय र अबला नारीलाई डरत्रास देखाएर मनपरी गर्न सकिने थियो । नकरा, कराइस् भने मारिदिन्छौँ भनेर तर्साउन सकिन्थ्यो ।

पिक्चरमा देखाएझैँ पाखुरामा मर्फिन वा हेरोइनको नशाको इन्जेक्सन दिन सकिन्थ्यो । त्यसले छोरी लट्ठ परेकी हुनुपर्छ । होसमा नरहेकी हुनुपर्छ । बेहोस उसलाई अपराधीहरूले मनपर्दी पाशविक व्यवहार गरे होलान् । होसमा आएपछि छोरी चिच्याइहोली, कराइहोली— बाबा, बाबा !

आँसु बगाइराखी होली । जिउका लुगा सबै धुजाधुजा पारिएका होलान् । त्यतिले पनि अपराधीहरूको पाशविकता सन्तुष्ट भएन होला । छोरीले थाहा पाइहोली, अब जीवनको आस छैन । उसलाई मार्ने हुन् । मारेपछि जंगलमा लगेर फालून् वा अंगअंग काटेर बोरामा हालेर बीचबजारमा फालून्, फरक पर्दैन । जंगलमा लास सडेपछि भेटिने गरेको छ ।

समाजमा अपराध प्रवृत्ति बढेर गएको छ । अपराधीहरू शिष्ट आवरणमा छन् । अशिष्ट आवरणमा भएका अपराधीहरू पनि छन् । शिष्ट÷अशिष्ट दुवै छोरीहरूका पछि लागिरहन्छन् । मौका हेरिरहन्छन् । कुन बेला मौका पर्छ र मुसालाई बिरालोले नङरिला पन्जाले झ्याप हानेझैँ हान्ने हुन् ।

बलात्कार बढेर गएको छ । निर्दोष बालिकाहरू जताततै बलात्कृत भइरहेछन् । कतैबाट सुरक्षा छैन, अभयदान छैन । सबै रमिता हेर्नमै व्यस्त छन् । मानौँ, कसैलाई कत्ति पनि सरोकार छैन ।

छोरी एउटी थिई, त्यो पनि हराई । बलात्कारीहरूको सिकार त भइहोला । कि अर्को समभावना एउटा यो छ, विदेशतिर लगेर बेचिने । वेश्यालयमा वा घरेलु नोकरको हैसियतमा बसेर दिनरात मालिकबाट बलात्कृत भइरहने ।

बलात्कार पनि एउटा अपराध हो, तर त्यसको रोमाञ्च अर्कै होला खुँखार अपराधीहरूका लागि । अपराधजगत्मा बलात्कार सहज अपराध मानिन्छ । बलात्कार गर्‍यो, मार्‍यो जंगलमा फालिदियो । कसैको चासो रहँदैन । 

अपराधका साक्षीसूत्र मेटाउने ज्ञान अपराधीहरूमा बढेर गएको छ । सबै अपराधीहरू उसकै छोरीको पछिपछि लागेर छोरीको सिकार गर्ने ताकमा देखिन्थे ।

समयमै उसले चेत गरेन । समाज शिष्ट, सभ्य भएको गलत धारणा लिएछ । समाजमा अपराधको चाहना बढेर आएको छ । अपराधमै सहजता देख्न थाले । बलात्कारलाई पनि सहजताका साथ पूरा गर्न सकिने अपराध मान्न थाले । नारीमाथि पुरुषको आक्रमण सधैँ सहज रहेको छ ।

अपराधीहरूले कसरी अपहरण गरेर लगे विदुरकी छोरीलाई ? विदुरको चिन्ता थियो– मेरी छोरीलाई कता पुर्‍याए ? कारमा हालेर कि लगे कि ट्याक्सीमा ? डाक्टर बन्ने आकांक्षी थिई । सपना बीचैमा टुट्यो ।

आमाबाबुको सपना पनि त्यही थियो, सेतो कोटमा घाँटीमा आला झुन्ड्याएकी । छोरी राम्री थिई । हँसिली र मिलनसार । आमाबाबुलाई आफ्ना सन्तान राम्रा लाग्छन् । राम्रा सन्तान राम्रै हुन्छन्, यो तथ्य पनि थियो । छोरीमाथि कुन क्षण कुन अपराधीका आँखा लागे ?

खोजी हुँदै छ भनियो । सत्तामा बसेका नेता, उच्च ओहदाका प्रहरी, पदाधिकारी र सामाजिक कार्यकर्ताका शरणमा गयो विदुर । पत्नी पनि गई । रोएर लाचारी देखाएर छोरी खोजिदिन भनियो ।

खोजी हुँदै छ, चिन्ता नलिनुस् भनियो । जसको पनि आश्वासन त्यही थियो । उनीहरूले गर्न सक्ने केही थिएन । सुराकी लागिरहेको थिएन ।

छोरीलाई के धर्तीले निल्यो ? अपराधीहरू सधैँ एक कदम अगाडि हुन्छन् भन्ने भनाइ साँचो देखियो । तर, कुनै दिन कुनै जंगलमा एउटी बालिका वा किशोरीको क्षतविक्षत शव भेटियो भन्ने समाचारको प्रतीक्षाबाहेक अरू काम रहेन समाजको ।

त्यस्तो समाचार कति जागरूक भएर सुन्न प्रतीक्षारत रहने ? जिन्दगी भीरमा अडिएको अनुभव भयो विदुरलाई । एक सानो धक्का मात्र बाँकी । त्यसपछि जिन्दगी अतल अँध्यारो गर्तमा खस्नेछ ।

छोरीले बाबा बाबा भनेर बोलाएको सुन्यो विदुरले । बाबा भनेर बोलाउने गर्र्थी छोरी, अहिले पनि त्यही भनेर बोलाइरहेकी छ । मन एकतमासको भयो । खुसीले भरिएजस्तो भयो ।

छोरीले कहाँबाट त्यसरी बोलाइरहेकी छ ? विदुर एकाएक जाग्यो । छोरी बोलाइरहेकी थिई, ‘बाबा, बाबा ! आमाले खाना तयार भयो, बाबालाई बोलाएर ले भन्नुभा’को, हिँड्नोस् खाना खान । अफिस पनि जाने होला !’

विदुर कम्प्युटरमा काम गर्दागर्दै निदाएछ । दुःस्वप्न टुटेकोमा उसको मन उज्यालो भयो । आँखामा व्याप्त अन्धकार हट्यो । ए, यो एउटा दुःस्वप्न रहेछ !

ऊ भान्सा पस्यो र खान बस्यो । अगाडि पस्किएपछि खाना आयो ।

भित्र भान्सामा थिई छोरीकी आमा । उसले विदुरको छेउमा पानीको गिलास राखिदिई र खाना खान सुरु गरेको हेर्दै भनी, ‘छोरीको कहिले गर्ने हो गुन्युचोली ?’

विदुरले छोरीलाई हेर्‍यो । छोरीको अनुहारमा निर्दोष र निश्छल हाँसो थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement