site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

राँझा । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सयभन्दा बढी मजदुरले रोजगारी पाएका छन् ।

चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताए । “कामको खोजीमा दैनिक भौतारिनुपर्थ्यो, अहिले गाउँमा खुलेको उद्योगले ढोरपुर र ठाडागाउँका सबैजसोलाई रोजगारी दिएको छ,” उनले भने ।  

स्थानीय रामछविले खटिकले गाउँमा स्थापना भएको उद्योगले स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिएका कारण आफूहरूले रोजगारी पाएको बताए । उद्योग बन्द हुँदा सबैभन्दा बढी मार आफूहरूलाई पर्ने भएकाले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनै पनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन गर्नभन्दा पनि उद्योगलाई स्थापित गर्न मजदुर लाग्नुपर्नेमा उनले जोड दिए । 

सोही उद्योगमा तीन वर्षदेखि कार्यरत सुर्जा कार्की भण्डारीले गाउँमै स्थापना भएको उद्योगका कारण अहिले रोजगारी पाएपछि स्थानीयवासीको जीविकोपार्जनमा सहजता भएको बताए । देशमा काम नपाएर विदेश जानुपर्ने अवस्थामा योयो प्लाइउडले गाउँमै रोजगारी दिएर आफूहरूलाई ठूलो गुन लगाएको उनले बताए ।  

उद्योगमा ट्रेड युनियन गठनका नाममा काममा अवरोध भएकोप्रति उनलाई चित्त बुझेको छैन । आफूलाई उद्योग नै बन्द गराउने ट्रेड युनियन नचाहिएको उनले बताए । “ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि केही दिन उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ”, उनले भने । 

उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले उद्योग अझै पूर्ण रूपमा सञ्चालन नभएको बताए । अहिले तीन सय बढी मजदुरलाई रोजगारी दिएको उद्योग पूर्ण रूपमा सञ्चालन हुँदा आठ सय बढीले रोजगारी पाउने उनले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्