site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कलाश्री: साहित्य वार्षिक, मनशिला, सरुभक्तका मुक्तक र प्रवासी मन
Sarbottam CementSarbottam Cement

कलाश्री: साहित्य वार्षिक
(साहित्यिक पत्रिका: सम्पादक— मोमिला)
साहित्यकार मोमिला कविता र निबन्ध मात्र लेख्दिनन्, उनी साहित्यिक पत्रिका सम्पादन पनि गर्छिन् । उनैको सम्पादनमा रहेको पत्रिका हो ‘कलाश्री: साहित्य वार्षिक’ । जसको प्रकाशन हरेक वर्ष हुँदै आएको छ, बितेको ११ वर्षदेखि ।

११औं कलाश्रीको सम्पादकीयमा मोमिला लेख्छिन्: ‘...यो सृष्टिमा जति अँध्यारो छाए पनि उज्यालो सम्भावनालाई साक्षी राखेर अँध्यारोमा शब्दको आतसबाजी उतार्ने स्रष्टालाई सलाम ! यिनै उज्यालो सम्भावनायुक्त सम्यक् कर्मको जीवन्त साक्षी बन्न पुगेको छ— कलाश्री–साहित्य वार्षिक । यसरी कलाश्री सदाझैँ आस्था र विश्वासको जीवन्त स्मारक बन्ने छ भन्ने ओजिलो विश्वास लिएका छौँ । ...’

केही समयअघि प्रकाशनमा आएको २०७९ सालको कलाश्रीमा कविता, गीत, गजल, मुक्तक, कथा, निबन्ध, संस्मरण, नाटक, समालोचना, प्रवास, विश्वसाहित्य र पुस्तक परिचय अन्तरगत विभिन्न साहित्यकारका विविध रचनाहरू प्रस्तुत गरिएको छ ।
यसभित्र १६ कथा, १२ निबन्ध र संस्मरण, ७ समालोचना, विश्वसाहित्यका १३ रचनासहित चर्चित लेखकका पठनीय सामग्रीहरू समावेश छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रकाशनमा ल्याएको ४२२ पृष्ठको यस पत्रिकाको मूल्य ४००/– रुपैयाँ राखिएको छ ।
०००    

मनशिला
(मुक्तकसंग्रह: मुकुन्द पौडेल)
साहित्यकार मुकुन्द पौडेल काव्य लेखनमा समर्पित स्रष्टा हुन् । उनका केही कृतिहरू प्रकाशित छ । उनै सर्जक कवि पौडेलको मुक्तककृति हो: ‘मनशिला’ ।

Global Ime bank

कृति ‘मनशिला’भित्र कवि वियोगी बुढाथोकी, ज्ञानु अधिकारीले भूमिका लेखेका छन् भने नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने र साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले शुभकामना मन्तव्य लेखेका छन् ।

कृतिभित्र कृतिकार पौडेल लेख्छन्, ‘अघिल्लो पटक दुई कृति प्रकाशित भएपछि अलिकति उत्साहित हुन पुगेकै हुँ । जस्ले गर्दा केही न केही टाकनटुकन लेख्दै रहेँ । जुन चार सयको हाराहारीमा रहेका रचना थिए, ती मध्येमा अत्यधिक संख्या मुक्तक नै रहन पुगे । त्यसैले यस पटक मुक्तकसंग्रह नै छपाउने निधोमा पुगेँ । ...’

यसअघि पौडेलका एक कविताकृति र एक मुक्तककृति प्रकाशित छ । उनका केही गीतहरू पनि रेकर्ड भएर स्रोतामाझ पुगेका छन् ।
आवरण प्रकाशनद्वारा प्रकाशित ९६ पृष्ठको यस कृतिको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।
०००    

सरुभक्तका मुक्तक 
(मुक्तकसंग्रह: सम्पादक— डा. रुपक श्रेष्ठ)
नेपाली साहित्यिक वृत्तमा चर्चित नाम हो सरुभक्त । कथा, कविता, मुक्तक, उपन्यास, नाटकलगायत दर्जनौं कृतिहरू पाठकलाई दिइसकेका छन्, सरुभक्तले । 

उनको पहिले प्रकाशित र अप्रकाशित गरी पाँचवटा कृतिको समग्र संग्रहका रूपमा ल्याइएको मुक्तककृति हो— ‘सरुभक्तका मुक्तक’ । यस कृतिको सम्पादन गरेका छन् अर्का पोखरेली मुक्तककार डा. रुपक श्रेष्ठले ।

सम्पादकीयमा डा. श्रेष्ठले लेखेका छन्, ‘...नेपाली मुक्तकको आधुनिक इतिहास र विकासक्रम बुझ्न पाँच दशकदेखि स्वतन्त्र, र रुबाई शैलीका मुक्तक साधक सरुभक्त एकैजनाका मुक्तकहरूले पनि अहम् भूमिका निर्वाह गर्दछन् । यही विश्वासमा सरुभक्तका सुरुदेखिका प्रकाशित तथा आजसम्मका अप्रकाशित कृतिहरूको संग्रह प्रकाशन गर्ने जमर्को गरिएको हो । ...’

पुस्तकको प्रकाशकीयमा दुर्गाप्रसाद पोखरेल लेख्छन्: ‘यसमा संकलित अधिकांश मुक्तकहरू चतुष्पदीय शैलीमा लेखिएका छन् । जीवन जगत्का विविध विषयमा गवेषण गरी संरचित सरुभक्तका मुक्तकहरू नेपाली मुक्तक विधाको मानकीकरणमा कोशेढुङ्गा साबित हुनेछन् । ...’

सरुभक्तको यस कृतिभित्र जीवन यात्रा, समय यात्रा, प्रेम यात्रा, हजार बुद्धहरू, बन्द खामभित्र, मुक्तक कविता गरेर ६ भागमा १०५५ मुक्तकहरू समाविष्ट छ ।

यसभित्र सरुभक्तका बारेमा डा. मुरारी पराजुलीको एउटा लामो आलेख पनि समेटिएको छ ।

नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित ४०० पृष्ठको यस कृतिको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।
०००

प्रवासी मन
(मुक्तकसंग्रह: प्रतिमा के.सी. ‘प्रवासी’) 
गीत, कविता, गजल र मुक्तकमा कलम चलाउँदै आएकी स्रष्टा प्रतिमा के.सी. ‘प्रवासी’को पछिल्लो मुक्तक कृति हो— ‘प्रवासी मन’ । यस संग्रहभित्र उनका १ हजार ११२ मुक्तक रहेको छ ।

आफ्नो लेखकीयमा प्रतिमा के.सी. लेख्छिन्: ‘जीवन जिउने क्रममा जन्मभूमि छोडियो र कर्मभूमिमा कर्मको प्रकृति बदलियो । सन् २००६ मा सपरिवार बेलायततिर बसाई सरेपछि भने मेरो साहित्य लेखनले सहजता पायो । ...’

‘प्रवासी मन’भित्र डा. रुपक श्रेष्ठको भूमिका रहेको छ भने सरुभक्त, उषा शेरचन, रामकाजी कोनेलगायतको शुभकामना मन्तव्य राखिएको छ ।

नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाबाट प्रकाशित ३१२ पृष्ठको यस संग्रहको मूल्य ५००/– रुपैयाँ तोकिएको छ ।
 

   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement