कतै खुइलिए खुइलिएझैँ लाग्ने
अद्भुत, बिल्कुल प्राचीन
एउटा सानो कचौरा बोक्न छाड्दैन माग्ने
मरे पनि दोबाटोमै तयार, तर माग्न छाड्दैन माग्ने
स्वाभिमानलाई थुक्क थुकेर
इतिहास जलाई वर्तमान खोज्दा, आफ्नै नाम जान्दैन माग्ने
जान्दछ त केवल माग्न
कचौरा ठोक्दै माग्न
रातो रङ पोतेर रोगीको अभिनय गर्न
औँलाहरू अंकुशे काँडाझैँ बनाउन
मुख बंग्याउँदै पक्षघाती बन्न
दिनदिनै माग्ने दिवस मनाउन
जयजयको लयमा माग्ने महिमा गाउन
कठै ! खप्पिस छ माग्ने पहेँला दाँत देखाउन
दिनदिनै माग्ने मोटाउँदै छ, तर कचौरा सुक्दै छ
म उसलाई हेरिरहन्छु, ऊ मलाई सत्रु ठान्छ
गजब दुनियाँ, कस्तो रमिता ?
बटुवा आउँछन् जान्छन्
माग्ने कचौरा जोडजोडले ठोक्छ
देशमा गरिबीको भुइँचालो आउने गरी
सधैँ बेजोड प्रस्तुति दिन्छ माग्ने
बटुवाको आँखामा आशा देख्छ माग्ने
बाँच्नुको अर्थ भिखको दानामा खोज्छ माग्ने
तर,
बटुवाको मौन इसाराले भने मलाई पीडा दिन्छ
उसको मुस्कानले जलाउँछ
हेराइले रिंग्याउँछ, पानीघट्टझैँ
अनि, मलाई एक्कासि भुइँदेउता चढ्न थाल्छ
आँसुले नदीमा, स्वासले बतासमा
अनि, धड्कनले माटोमा देश खोज्न थाल्छ
माग्ने आफ्नै तालमा जोडजोडले कचौरा ठोक्न थाल्छ
माग्ने दिवस मनाउँदै, माग्ने महिमा गाउन थाल्छ
बटुवा कौडी फ्याँकेर दाता बन्छ
माग्नेको जयजयकारसँगै
कचौराले भने आँखा गुमाइसकेछ
फूलबाट बास्ना झिकेझैँ
अर्कोले निलो नागबेली नीलम निकालिसकेछ
कौडीकै भरमा
भेक नपाउने गरी
बन्दागोभीको बाहिरी पत्र निकालेझैँ
जब अर्को बटुवा पनि लड्डुु बोकेर बसेको देख्छु
मन विस्फोट हुन्छ नरहने गरी
खुकुरीलाई पनि देवता चढ्छ र गर्जन गर्छ
खबरदार ! अगाडि नबढ कचौरा, मेरो हो हात नलगा
म माग्ने हैन
लड्डु तैँ खा तैँ खा
माग्ने घुटुक्क थुक निल्दै मतिर हेर्छ
पूरा सन्नाटा छाउँछ
आजलाई टर्छ माग्ने दिवस ।