site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उमेदवार छान्न कांग्रेस नेताहरूबीच 'नोकझोक', देउवा र खड्काबाहेक सबै एक ठाउँमा !

काठमाडौं । आगामी वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि यही चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । जसका लागि नेपाली कांग्रेसबाहेक लगभग सबै शीर्ष दलहरूले उमेदवारको टुंगो लगाइसकेका छन् ।

प्रतिस्पर्धी अरू दलका उमेदवारहरू घरदैलो अभियानमा गइरहँदा कांग्रेसले भने अझै उमेदवारको टुंगो लगाउन सकेको छैन । बरु उमेदवार चयनलाई लिएर पार्टीमा विवाद देखिएको छ ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसे‍को बैठकमा नेताहरूबीच 'नोकझोक'कै स्थिति सिर्जना भएको छ । पार्टीको संस्थापन पक्ष र संस्थापन इतर पक्षले उमेदवारको विषयमा आआफ्नै दाबी राखेपछि मंगलबार कुनै सहमति हुन सकेन । नेताहरू शेखर कोइराला, शशांक कोइरालासहितले बैठक बहिस्कार गरेपछि अर्को बैठक बुधबार बस्ने तय भएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टी सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले इलाम–२ मा डम्बर खड्कालाई उमेदवार बनाउने प्रस्ताव गरेका थिए । तर, अर्को पक्षले उनीहरूको प्रस्तावलाई सिधै खारेज गर्‍यो ।

संस्थापन इतर समूहका नेताहरू कोइराला, महामन्त्री गगन थापा, समहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे भेषराज आचार्यको पक्षमा उभिए । संगठन र कार्यकर्तामा आचार्यको पकड बलियो रहेको तर्क उनीहरूको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार सुरुमा महामन्त्री थापाले सभापति र उपसभापतिसँग छलफल गरेका थिए । तर, उनीहरूले अडान नछाडेपछि थापाले शेखरलाई देउवा र खड्कासँग संवाद गर्न आग्रह गरेका थिए ।

त्यसपछि कोइरालाले स्थानीयको सुझाव छाडेर निकटताका आधारमा निर्णय लिए चुनावी परिणामको जिम्मेवारी लिनुपर्ने चुनौती दिएका थिए । स्थानीयको चाहनालाई बेवास्ता गरेर लिइने निर्णयले पार्टीलाई दुर्घटनामा पुर्‍याउने चेतावनी उनको थियो ।

“इलामको सवालमा सबैले भेषराजले जित्छ भन्दै छन् । तपाईं किन बुझ्नुहुन्न ? भेषराजलाई टिकट दिनुभयो भने ठिक छ, होइन भने जित हारको जिम्मा तपाईं नै लिनुस्,” शेखरको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

शेखरको भनाइमा पूर्वमहामन्त्री शशांक कोइरालाले पनि समर्थन जनाए । “शेखर दाइले भनेको कुरामा मेरो पनि सहमति हो,” यति भनेर दुवै नेता बैठक कक्षबाट बाहिरिएका थिए ।

देउवाले भने निरन्तर खड्का गएको निर्वाचनमा ११४ मतले मात्र पराजित भएको तर्क गरेका थिए । ०७९ को निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

तर, देउवाको तर्कसँग इतर पक्षका नेताहरू सहमत भएनन् । बरु इतर पक्षलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्देम्बेले साथ दिए ।

एक नेताको भनाइमा त्यसपछि मात्र सभापति देउवा र उपसभापति खड्काले भने, "डम्बर मान्दैनन् । कसरी मनाउने ?"

उसो त बझाङको प्रदेशसभा उमेदवारको विषयमा पनि कांग्रेसमा विमति देखिएको छ । आजकै बैठकमा पार्टीको निर्णयविपरीत बझाङमा टिकट दिन लागिएको भन्दै शेखरले असहमति जनाएका थिए ।

“पार्टीले निर्णय गरेको छ । हारेको व्यक्तिलाई टिकेट नदिने भनेर,” नेता शेखरको भनाइ उद्धृत गर्दै ती नेताले भने, “फेरि तपाईंहरू हारेकोलाई बझाङमा टिकट दिन खोज्दै हुनुहुन्छ । के गर्न खोजेको ?”

मंगलबार कुनै सहमति हुन नसकेपछि बुधबारका लागि बैठक बोलाइएको छ । बुधबार दिउँसो २ बजे संसदीय बोर्डको र अपराह्न ४ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । संविधानसभाका अध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन हुन लागेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro