
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् ।
सोमबारको प्रदेशसभा बैठकमा भएको मतविभाजनमा उनको पक्षमा ५६ मत पर्यो । विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे । बैठकमा १०८ सांसद उपस्थित थिए । वाग्मती प्रदेशसभामा ११० सांसद छन् ।
उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी (हानेपा)ले विश्वासको पक्षमा मत दिएका थिए । हानेपाका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित रहिन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जम्कट्टेलको विपक्षमा मतदान गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद भने तटस्थ रहे । माओवादी संसदीय दलका नेता जम्कट्टेल ०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले यसअघि ०७९ माघ ३ गते र सोही वर्षको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।