site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कोष्ठकभित्रका पीडाहरु र फुटनोट्स

प्रिय संवेदन !
...कुनै स्थायी ठेगानारहित जीवनको रङ्गमञ्चीय सिलसिलामा अभिनेताका कोष्ठकभित्रका पीडाहरूबाट लाग्छ, दर्शकहरू युगौंदेखि समयको कुनै प्रश्नविना नै अनभिज्ञ रहेका छन् र रहने छन् !

यतिखेर नाटकको पर्दा झरिसकेको छ, मञ्चको रौनकतामा पूर्णतः मध्यरात खसिसकेको छ । सारा दर्शकहरू नाटकको रसास्वादनपछिको विरेचित मन लिएर नाट्यशालाबाट आ–आफ्नो गन्तव्यतिर हिँडिसकेका छन् । अन्य सबै पात्रहरू, अभियन्ताहरू, सहयात्रीहरू पनि हिँडिसकेका छन् ।

एकछिनअघिको रमझम, उज्यालो, सङ्गीत, अपनत्वको भूमिका र आफ्नाजस्ताहरू अब कोही पनि बाँकी छैनन् । रङ्गमञ्च पूर्णतः उठिसकेको छ । यतिखेर मातापिता अनि पति तथा पुत्रको भूमिका निभाउने सबसे प्रिय आफन्तहरू पनि सबै सायद आ–आफ्नै घरमा आ–आफ्नै परिवारसित विशेष माहोलमा होलान् ।

प्रेमी पनि बहकिएर कुनै खण्डहरमा आफ्नो अस्तित्व खोज्दै होलान् । यहाँ त बस् अँध्यारो ! सन्नाटा ! नीरवता ! मौनता ! घाँसहरूले डम्म ढाकेको वर्षौं पुरानो एकान्त चिहानजस्तै...। मानौँ, त्यही चिहानबाट बिउँझिएकी उही सातजन्मको कसममा बाँधिएकी प्रेमिका, म ।

यस नाट्यशालाकै पहरेदार पनि खै कता हिँडेछन् ! वास्तविक यात्रा त आखिर एक्लो न हो ! मात्र एकछिन अगाडिकी नायिका म, यतिखेर खालीपन, शून्यता र एकान्तसँगै मरुभूमिमा प...र धूमिल धूमिल एक्लो ठिङ्ग उभिएको सुकेको रुखजस्तो आकृति लिएर यो रित्तो मञ्चमा विमूढ–विमूढ उभिएकी छु र तिमीलाई कोष्ठकभित्रका केही कुरा हृदयतः बताउन चाहन्छु; जो आजसम्म अव्यक्त नै रह्यो ।

प्रिय सम्बोधन ! हेर न ! सूत्राधार पनि नेपथ्यबाट नाटकको सूत्र पेस गरेसँगै नाटकको प्रारम्भतिरबाटै सायद कुनै अर्को नाटकको नेपथ्यमै अलप छन् । ए ! कोही छन् त नेपथ्यमा !? हँ कोही छन् त !...?? अहँ कुनै आवाज छैन !

नाटककार पनि कतै कुनै नयाँ नाटक पो सोचिरहेका छन् कि या नाटकको भूमिका–बाँडफाँड सोचिरहेका छन् या आफ्नै जीवनको भूमिका निर्वाह गरिरहेका छन्, कुनै अत्तोपत्तो नै छैन । सम्भवतः मलाई मेरै भूमिकामा एक्लो छाडेर आफूचाहिँ कुनै दर्शकको घरमा कफीसँगै वाह ! वाह ! को प्रशस्ति पिउँदै होलान् या त कुनै पात्रको घरमा भूमिका बदल्दिने सर्तमा मस्त घुस खाँदै होलान् ।

मलाई भने कुनै घुसविना नै नाटककारले जुन भूमिका दिए र निर्देशकबाट जुन भूमिकाका लागि म चुनिएँ; त्यही भूमिका मैले इमानदारीपूर्वक निर्वाह गरेँ । उनीहरूको भूमिका र इसारालाई काफी न्याय दिने म अहिलेसम्म पनि त्यही सिमानाभित्र सीमान्तकृत छु । मानौँ जिन्दगीको यो ट्रान्जिटबाट मुक्त हुने कुनै सम्भावना नै छैन ।

तर, के त्यो नै मेरो सम्पूर्ण परिचय हो त ! के त्यसबाहेक मेरो कुनै परिचय छैन ! मेरो कुनै अस्तित्व छैन ! कुनै सत्ता छैन ! यथार्थमा म जे हुँ त्यो आफू बनिरहने मेरो स्वतन्त्रता खै ! मेरो आत्माको आवाज जो म सुनिरहेछु, त्यसको सार नाटकमा किन रहेन ! नाटककार किन त्यस्तरी पूर्वाग्रही बनेका होलान् !

हो, नाटकका सारा संवादहरू मैले बिलकुल आफ्नै बनाएँ ! अर्थात् जुन चरित्रलाई मैले जिन्दगी दिएँ या जुन चरित्रमा मैले सास फेरेँ; भूमिकाअनुसारको त्यो पात्र; जो भित्रबाट म हुँदै होइन भने म के गरूँ ! म अब कसरी जिऊँ ! मेरो वास्तविक परिचय खै ! मेरो ठेगाना खै !

खासमा मैले आफूअनुसारको भूमिका पाउनुपर्ने होइन र ! कि त मलाई भूमिकाअनुसारको दुरुस्त बनाउनुपर्थ्यो, ता कि नाटकको अन्त्यपश्चात् पनि मैले आफैसँग नाटक गरिरहन नपरोस् ! कि त मैले नाटकमा भाग लिनै हुन्नथ्यो, कम्तीमा मैले यसरी कोष्ठकभित्र निसास्सिनुपर्ने त थिएन !

ठीक छ अब म आफूअनुसारको भूमिकासहितको अर्को नाटक लेख्न चाहन्छु । के म स्वयम् नाटककार हुन सक्तिनँ । के म स्वयम् मेरो भूमिका बदल्न सक्तिनँ ! तत्क्षण म मेरो वास्तविक ठेगाना पत्ता लगाउन चाहन्छु, जो मेरो आत्माले बार–बार पुकारिरहेछ ।

ओ मेरो जीवनका लेखक ! मेरो भूमिकाका ओ निर्देशक ! ओ मेरा ईश्वर ! आज म स्वयम् मेरो जीवनको नियति बदल्न चाहन्छु !...!!...कसैलाई कुनै आपत्ति छ ?...!!

०००

प्रिय संवेदन !
बुझ्यौ होला मेरा कोष्ठकभित्रका प्रश्निल पीडाहरू ! यस्तो बेला तिमी त हौ आखिर मेरो साथ ! मात्र तिमी; जो मसितै चितामा जल्ने छौ र नाटकमा अन्य पात्रको भूमिकाका लागि कपिराइटविना नै खुलेआम स्मृतिमा छाड़ने छौँ हाम्रा कोष्ठकभित्रका प्रश्न र पीडाहरू । तिनीहरूलाई हामीले नै छाडेर गएको रङ्गमञ्चमा प्रदर्शन हुने कुनै अर्को नाटकका पात्रहरूले संवादका रूपमा घोक्ने छन्, सायद !...!!

हुन त मेरो समयका बिन्दास लेखक नगरकोटी कहिलेकाहीँ रचनाको मूल पाठभन्दा फुटनोट्स नै मन पराउँछन् । तर, आम सन्दर्भ हेर्दा गेलहर्नले जस्तै कसैको जीवनकथाको फुटनोट हुन नचाहे पनि आखिर हामी कुनै अर्को नाटकको उही फुटनोट्समा लेखिने छौँ !! सायद हाम्रो अस्तित्व !...!! अफसोसका साथ भन्नुपर्दा जसरी मातापिता पनि समयक्रममा सन्तानका फुटनोट्स बनिदिन्छन्...!

हामी त इतिहासको फुटनोट्स मात्र बन्न पाउनु पनि हाम्रो अहोभाग्य नै हुने छ !...!!...!!!

(कवि/निबन्धकार मोमिलाको हालै सार्वजनिक कृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ को पुस्तक अंश ।)
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro