शिलु शर्मा
सुखजति सबै अरूलाई होस्, दुःख होस् मेरै भागमा
हाँसो सब अरूलाई होस्, आँसु होस् मेरै साथमा !
स्वार्थका जमातजति धनको डंगुरमा रहून्
निःस्वार्थ रहून् मन्दिर र बगैँचामा
हाँसिरहून्, बाँचिरहून् जीवन्त भई
प्रत्येक सरल मनका कुनाकुनामा ।
नपरोस् सच्चा हृदयको वेदना देख्न
नपरोस् अबोध शिशुको क्रन्दन सुन्न
नपरोस् नवयुवाको बेरोजगारीको भारी देख्न
नपरोस् नवदुलहीले परीक्षाका नाममा
कठोरताले भरिएको पराइघर सिँगार्न ।
अघाऊन् सबै मानिस, मेरो होस् बरु थाल रित्तै
अघाऊन् प्राणीजगत् सबै, मेरो होस् बरु पेट भोकै
पसिनाले सिञ्चित होस् मेरो गोरेटो
तर, न रंगियोस् युद्धका डोबहरूले शुद्ध माटो ।
निःस्वार्थ मानिस खुसी हुन्छ अरूको सफलतामा
खुसी चेहरा देखाउँछन् दुःख सहेर पनि सबको माझमा
तिर्खा मलाई लागे पनि प्यास बुझाऊन् पहिले अरूले
आफ्नै पसिनाले प्यास मेटाउँछु, यो बुझून् सबैले ।
कृतज्ञ हुनु छ, शान्त, शीतल प्रकृति र महान् मानवसँग सदा
जो आफ्नो कर्मको बलबाट फुलेका हुन्छन् सर्वदा
सच्चा कर्मले भविष्य र वर्तमान सिँगार्नुपर्छ
इतिहासको कष्टप्रद सभ्यताबाट सिकेर शान्तिको बिज छर्नु छ ।
वेदनालाई बनाउनु छ जीवन फुलाउने गमला
सादा कागजमा लेख्नु छ यही जीवनका गजल
आँसुलाई बनाउनु छ शीतलता दिने सुन्दर धारा
हाँसोलाई बनाउनु छ जीवनका चोट भर्ने सहारा ।