काठमाडौं । नेपाली चलचित्र उद्योगमा कलाकारको खडेरी लागेको छ । धेरै सिनेमामा एउटै अनुहार दोहोरिनु नेपाली चलचित्र उद्योगको समस्या बनेको छ । बजारमा चलेका र दर्शकले रुचाएका कलाकार मुख्य भूमिकामा दोहोरिनु समस्या होइन । सपोर्टिभ रोलमा रहने कलाकार नै दोहोरिने गरेका छन् ।
चलचित्रको लिड रोलमा रहने कलाकार (नायक/नायिका) नेपालमा मात्र होइन, संसारभर नै दोहोरिन्छन् । उनीहरूका सिनेमा वर्षमा एक/दुइटा मात्र आउने हो । सपोर्टिभ क्यारेक्टरका सिनेमा हिरो/हिरोइनको भन्दा बाक्लै आउनु पनि अस्वाभाविक होइन । कारण, सिनेमा उनीहरूको काँधमा हुँदैन ।
छोटो रोल हुन्छ, धेरै सिनेमामा काम गर्ने समय पनि हुन्छ । पेसा नै अभिनय भएपछि काम पनि गर्नैपर्छ । तर, हप्तैपिच्छे रिलिज हुने सिनेमामा एउटै अनुहार देखिँदा दर्शकलाई नै पट्यार लाग्ने स्वयं कलाकार बताउँछन् ।
नेपाली चलचित्रमा अहिले हिरोका बुवाआमाको रोलमा खेल्ने कलाकार को–को भनेर दुईचार सिनेमा हेरे प्रस्टै थाहा हुन्छ । किनकि, उनीहरूको विकल्पै नभएजस्तो देखिएको छ ।
जनजाति अनुहारको हिरो भए उसको बुवाको रोलमा अधिकांश चलचित्रमा पुस्कर गुरुङ र माओत्से गुरुङ हुन्छन् । हिरो आर्य फेसको भए बुवाको भूमिकामा आजकाल धेरै सिनेमामा प्रकाश घिमिरे देखिन्छन् ।
किन देखिँदैनन् सपोर्टिभ क्यारेक्टरमा नयाँ अनुहार ? विकल्पविहीनजस्तै अवस्था रहेको निर्माता रोहित अधिकारीको जिकिर छ । “मेरो विचार र स्वयं अनुभवमा माओत्से गुरुङ, पुस्कर गुरुङ, प्रकाश घिमिरेको विकल्प छैन भन्ने लाग्छ । सायद विकल्प भएको भए एउटै अनुहार कसैले पनि दोहोर्याउने थिएन,” रोहित भन्छन्, “मैले नै वरिष्ठ बलराममा माओत्से गुरुङलाई लिएको छु ।”
छोटो रोलका निम्ति बढी मिहिनेत गर्नुपर्ने भएकाले धेरैले चासो नै नदिने गरेको उनको भनाइ छ । “पारिश्रमिकको हिसाबले पनि सपोर्टिभ क्यारेक्टर भनेपछि हिरो/हिरोइनको जस्तो पारिश्रमिक हुने कुरा भएन,” उनी भन्छन्, “आजकाल सिनेमा पनि गाउँले परिवेशका बनिरहेकाले गाउँले क्यारेक्टर गर्नुपरेपछि यसै पनि बढी मिहिनेत गर्नुपर्ने हुन्छ ।”
पुस्कर, माओत्से र प्रकाश नाटकबाट आएकाले उनीहरूले सहजै भनेजस्तो अभिनय गर्ने हुँदा पनि मेकरको रोजाइमा पर्ने गरेको उनको बुझाइ छ । “एउटा त आकर्षक पारिश्रमिक नहुने तर विभिन्न ठाउँमा जानुपर्ने भएकाले पारिवारिक बन्धनमा परिरहेका व्यक्ति सपोर्टिभ क्यारेक्टरमा नआइरहेको हुनसक्छ,” रोहित भन्छन्, “कलाकारले लामो समय अभिनयलाई निरन्तरता नदिनु पनि अर्को कारण हुनसक्छ । धेरै कलाकार बुवाआमाको रोल गर्ने उमेरमा नआइपुग्दै यो क्षेत्रबाट नै अलग भइसकेको हुनसक्छ ।”
गाउँको कथा भन्ने सिनेमाका लागिभन्दा सहरको कथावाचन गर्ने चलचित्रका निम्ति केही हदसम्म बुवाआमाको क्यारेक्टरमा समस्या नरहेको रोहितको अनुभव छ । “सहरी क्षेत्रको कथा भन्ने हो भने धेरै विकल्प छ भन्ने लाग्छ,” उनी भन्छन्, “सहरी क्षेत्रको कथा भन्दा बुवाको रोलमा सरोज खनाल, कृष्ण मल्लले नै खेल्नुहुन्छ ।”
पहिलो पुस्ताका केही कलाकार बुवाआमाको भूमिका गर्न तयार रहेको तर क्यारेक्टरका लागि मिहिनेत नगर्दा पनि अभावको अवस्था रहेको उनी बताउँछन् । “मिहिनेत गर्दा सकिने कुरा हो । प्रदीप खड्का आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर ‘प्रकाश’मा अभिनय गरेको होइन र ?” उनी भन्छन्, “तर, सानो रोलका लागि किन धेरै मिहिनेत गर्ने भन्ने मनोविज्ञानले काम गरिरहेको छ भन्ने लाग्छ ।” कम्फर्ट जोनबाट कलाकार बाहिर निस्कनुपर्नेमा उनी जोड दिन्छन् ।
कलाकार माओत्से गुरुङ आफूहरू धेरै सिनेमामा आइरहेको तथ्यलाई नकार्न नसकिने बताउँछन् । यसको कारण मेकरसँगको सम्पर्क र सम्बन्ध पनि भएको उनी सुनाउँछन् । आफूहरूजस्ता थुप्रै कलाकार रहेको तर उनीहरू निरन्तर मेकरको सम्पर्कमा नरहेकै कारण फ्रन्टमा आउन नसकेको उनको बुझाइ छ ।
एउटै अनुहार दोहोरिरहनुको अर्को कारण मेकरले रिस्क लिन नचाहेको हुन सक्ने माओत्से बताउँछन् । “आफूले काम गराइसकेको र पर्दामा हेरिसकेको कलाकारले यति काम गर्छ भन्ने मेकरलाई थाहा हुन्छ,” उनी भन्छन्, “यसअघि आफूले सँगै काम नगरेको र पर्दामा पनि धेरै नदेखेको व्यक्तिलाई लिँदा कस्तो काम हुन्छ भन्ने थाहा नहुने भएकाले रिस्क किन लिने भन्ने पनि मेकरकमा हुनसक्छ ।”
पछिल्लो समय सिनेमा बनाउने मेकरको शैलीले समेत आफूहरूले अवसर पाइरहेको हुन सक्ने उनी बताउँछन् । “अहिले जुन खालका सिनेमा बनिरहेका छन्, यो पनि कारण हुनसक्छ । अहिले ग्रामीण परिवेशका सिनेमा बनिरहेका छन्,” उनी भन्छन्, “सहरिया परिवेशमा हिरोइजम भएका सिनेमा बनेका भए सायद बाउआमाको क्यारेक्टर पनि त्यस्तै खालको हुन्थ्यो र हामीले अवसर पाउने थिएनौँ होला ।”
हरेक सिनेमामा एउटै क्यारेक्टर, उही अभिनय र शैली देख्दा दर्शकलाई भने पट्यार लाग्न सक्ने तथ्यलाई माओत्से नकार्दैनन् । “दर्शक भएर हेर्दा एउटै क्यारेक्टर, एकै खालको अभिनय, एउटै शैली देख्दा मोनोटोनस हुन्छ,” उनी भन्छन्, “तर, कहिलेकाहीँ दर्शकलाई देखिरहेको पात्र पनि प्यारो हुुनसक्छ । हरेक सिनेमामा भिन्नभिन्न क्यारेक्टर र शैलीका राम्रा काम गरेको छ भने त्यसलाई दर्शकले रुचाउने पनि हुन्छ ।” रिस्क लिएको खण्डमा भने मेकरले थुप्रै अप्सन भेट्टाउने उनको जिकिर छ ।
निर्देशक दीपेन्द्र के खनाल माओत्से, पुस्कर र प्रकाशको ‘एज ग्रुप’को कलाकार अरूको तुलनामा कम रहेको बताउँछन् । मेकर इमानदार भएर खोज्दा भने पर्याप्त कलाकार भेट्न सकिने उनको भनाइ छ । “मेयरमै हरिहर शर्मा, लोकमणि शापकोटा, सुभास गजुरेललगायत कलाकार हुनुहुन्छ,” दीपेन्द्र भन्छन्, “हामीले कति खोज्यौँ वा खाजेनौँ भन्ने मात्रै हो ।”
चलेको चलचित्रका कलाकार लिने चलन हाबी हुँदा पनि धेरै सिनेमामा एकै व्यक्ति दोहोरिरहेको उनको ठहर छ । “सुरुमै सिनेमाको लगानी कसरी सुरक्षित गर्ने भन्ने चक्करमा हामी मेकरले काम गरिरहेका छौँ भन्ने लाग्छ । यो कलाकार लियो भने यति फाइदा हुन्छ भन्ने मनोविज्ञानले काम गरिरहेको छ,” दीपेन्द्र भन्छन्, “कथा के हो, कुन कथाका लागि कुन कलाकार ठिक भन्नेभन्दा पनि कुन कलाकार राख्दा कहाँ कति फाइदा हुन्छ भन्ने कुराले धेरै कलाकारले अवसर पाएका छैनन् भन्ने लाग्छ ।”
चलचित्रको कथाले पात्र माग्ने गरे पनि त्यसलाई मेकरले नजरअन्दाज गरिरहेको उनको टिप्पणी छ । “कथा तयार भएपछि त्यसले कलाकार आफैँ डिमान्ड गर्छ । तर, हाम्रोमा त्यस्तो देखिएको छैन,” उनी अगाडि थप्छन्, “यसले सिनेमा बन्न सुरु नहुँदै बिग्रिन्छ ।”
नयाँ कथा भन्न फ्रेस अनुहार हुँदा दर्शकलाई विश्वास दिलाउन सहज हुने तर त्यो सुविधा जानाजान मेकरले नलिने गरेको उनी बताउँछन् । आफ्नै सिनेमाको कथालाई मेकरले अन्याय गरिरहेको उनको भनाइ छ । उनी भन्छन्, “चलचित्रमा हिरो/हिरोइन मंगोल फेसका छन् भने बाउआमा नै आर्य फेस राखेको देखिन्छ,” उनी भन्छन्, “यस्तो असंगतिबीच सिनेमा बनिरहेका छन् । यो वास्तवमा मेकर र समग्र सिनेमा उद्योगकै लागि घातक प्रवृत्ति हो ।”
सामान्य दर्शकले पनि प्रस्टै छुट्ट्याउन सक्ने त्रुटि नेपाली चलचित्र उद्योगमा भइरहेको उनी स्वीकार गर्छन् ।