site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
के हो दिल्ली मदिरा घोटाला ? किन पक्राउ परे केजरीवाल ?
पीटीआई ।

काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । उनी पदमा रहँदा पक्राउ पर्ने पहिलो मुख्यमन्त्री हुन् । आम आद्‌मी पार्टी (आप)का अध्यक्षसमेत रहेका केजरीवाललाई बिहीबार राति उनकै निवासबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मिडिया रिपोर्टका अनुसार कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)ले केजरीवाललाई बिहीबार बिहान ११ बजे सोधपुछका लागि बोलाएको थियो । तर, ईडीको प्रक्रियाविरुद्ध उनी दिल्ली उच्च अदालत पुगे । उनले अदालतसमक्ष आफूलाई पक्राउ गर्नबाट रोक्न आग्रह गरेका थिए ।

तर, अदालतले उनलाई अहिलेको अवस्थामा कुनै आदेश दिन नसकिने जवाफ दिएको थियो । त्यसपछि ईडी बिहीबार साँझ ७ बजेतिर केजरीवालको निवास पुग्यो । ईडीको टिमसँग 'सर्च वारेन्ट' थियो । ईडीले दुई घण्टाको सोधपुछपछि उनलाई करिब ९ बजेतिर पक्राउ गरेको थियो ।

Dabur Nepal
NIC Asia

त्यसक्रममा नाराबाजी गर्ने आम आदमी पार्टीका कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनलाई ईडी हेडक्वार्डर लगिएको थियो ।

के हो केस ?

दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ । तर, आम आदमी पार्टीले भने केजरीवाललाई फसाउन खोजिएको बताउँदै आएको छ ।

यो प्रकरण सन् २०२१ बाटै सुरु हुन्छ । दिल्लीको अन्तःशुल्क विभागको प्रमुख हुँदा मनीष सिसोदियाले मार्च २०२१ मा नयाँ अन्तःशुल्क नीति घोषणा गर्छन् । उनले नयाँ नीतिमा मदिरा बिक्रीमा सरकारको कुनै भूमिका नरहने र निजी पसलले मात्र मदिरा बिक्री गर्न पाउने बताएका थिए । यसका लागि न्यूनतम ५०० वर्ग फिटको क्षेत्रमा पसल खोलिने र सडकमा कुनै पसलको काउन्टर नरहने बताइएको थियो ।

नयाँ नीतिले १,५०० देखि २,००० करोडको राजस्व बढ्ने अनुमान गरिएको थियो । तर, नयाँ नीतिअनुसार पनि दिल्लीमा मदिरा पसलको संख्या पहिलेको जस्तै ८५० नै रहने बताइएको थियो । दिल्लीको नयाँ मदिरा नीतिअनुसार रक्सीको होम डेलिभरी र पसलहरू बिहान ३ बजेसम्म खुला राख्न अनुमति दिने भनिएको थियो । त्यसपछि नोभेम्बर २०२१ मा नयाँ मदिरा नीति लागु भएको थियो ।

तर, दिल्ली सरकारको यो नीति निकै छोटो समयमै विवादित बन्यो । दिल्ली प्रहरीको आर्थिक अपराध शाखा तथा दिल्लीका राज्यपाल विके सक्सेनाले यो नीतिमा गडबड रहेको आशंका गरेका थिए । त्यसपछि जुलाई २०२२ मा दिल्लीका मुख्य सचिवको रिपोर्टको आधारमा मनीष सिसोदियामाथि मदिरा लाइसेन्सधारीलाई अनुचित लाभ हुने नीति फेरिएको आरोप लागेको थियो । त्यसपछि राज्यपालले सीबीआईलाई जाँचको आदेश दिएका थिए । लगत्तै सीबीआईले अगस्ट १९ मा मनीष सिसोदियाको घरमा छापा मारेको थियो ।

सीबीआईले सिसोदियाको घरसहित ३१ स्थानमा छापा मारेको थियो । त्यसपछि मनिष सिसोदियाले अनुसन्धानमा केही नभेटिएको बताएका थिए । तर, पछि फेब्रुअरी २७ मा सीबीआईले करिब आठ घण्टाको सोधपुछपछि सिसोदियालाई पक्राउ गरेको थियो । त्यसअघि सीआईबी यस प्रकरणमा तीनजनालाई पक्राउ गरिसकेको थियो ।

यसबीचमा अर्कोतिर ईडीले 'मनी लन्ड्रिङ'मा छुट्टै छानबिन गरिरहेको थियो । ईडीले यस प्रकरणमा जोडिएका एक व्यापारीले आम आदमी पार्टीलाई कम्तीमा १०० करोड रुपैयाँ घुस दिएको दाबी गरेको थियो । ईडीले तिहाड जेलमा लामो सोधपुछपछि सिसोदियालाई ९ मार्चमा पक्राउ गरेको थियो ।

एनटीभी इन्डियाका अनुसार मदिरा घोटाला प्रकरणमा केजरिवाललाई 'मास्टरमाइन्ड' बताइएको छ ।

नौपटक अटेर !

भारतीय सञ्चारमाध्यमका अनुसार ईडीले उनलाई नौपटक बयानका लागि बोलाइसकेको छ । तर, उनले ईडीको प्रक्रिया राजनीतिक प्रेरित रहको बताउँदै आएका थिए । यसअघि उनलाई ईडीले गएको २७ फेब्रुअरी,  २६ फेब्रुअरी,  २२ फेब्रुअरी, २ फेब्रुअरी, १७ जनवरी र ३ जनवरीमा बोलाइएको थियो । त्यसअघि २०२३ को २१ डिसेम्बर र २० नोभेम्बरमा बोलाइएको थियो ।

उनले भाजपा सरकारले आफूलाई फसाउन खोजेको बताउँदै आएका थिए । पटकपटक सोधपुछको जवाफ दिन अटेर गरेपछि बिहीबार राति उनकै निवास पुगेर ईडीले केजरीवाललाई पक्राउ गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro