site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको चाहना एमालेसँग सहकार्य र सत्तासमीकरण‚ विषय अघि बढेको हो ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको ‘रोस्ट्रम’मा उभिएर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता संवादमा अग्रसर नभएको गुनासो गरे । गएको फागुन ३० गते संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने क्रममा ओलीले पछिल्लो तीन वर्षमा आफूले पटक–पटक संवादका निम्ति कांग्रेस नेतालाई भनेको बताए ।

“तीन/तीन वर्षसम्म, पुराना मित्र हौँ हामी । यो देशका समस्याबारे कुरा गरौँ न भन्दा कुरै चल्दैन‚” उनले भनेका थिए‚“वर्णाश्रम व्यवस्थामा के चल्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भनेको चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन ।”

उनी यतिमै रोकिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवा हिजो सत्तापक्षमा रहेको र आज आफू भन्दै उनले भने, “म भन्न चाहन्छु शेरबहादुरजीलाई– बसौँ, कुरा गरौँ न । प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

ओलीको अभिव्यक्तिले उनी प्रधानमन्त्री प्रचण्डसँगको वर्तमान सत्ता गठबन्धनमा सन्तुष्ट नरहेको अनुमान गर्न सकिन्छ । उनले रोस्ट्रममै उभिएर देशको समस्या समाधान, संविधान कार्यान्वयनजस्ता विषयमा सँगै काम गर्न सकिने मात्र बताएनन्, अबको १५ महिनापश्चात् माधव नेपाल र त्यसपछि आफू प्रधानमन्त्री बन्ने सम्झौता हल्लाबाहेक केही नभएको जिकिर गरे । अर्थात्, यस्तो सम्झौता कहीँ कतै नभएको उनले बताए ।

सचिव तहको नेतृत्वमा प्रचण्ड सरकारमा मन्त्री पठाउनु र रोस्ट्रममा उभिएर कांग्रेस–एमाले सहकार्य हुन सक्ने उनको आशयले नयाँ समीकरणको विषय नकार्न सकिँदैन ।

Global Ime bank

पुरानो गठबन्धन भत्किएपछि आफ्नै निवासमा बसेको बैठकमा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीले भेटौँ भन्दै बारम्बार फोन गरेको सुनाएका थिए । गठबन्धन भत्किन्छ भनेर सजग बनेर आफूले उनलाई नभेटेको देउवाले बताएका थिए । तर, प्रचण्डले भित्रभित्रै भेटघाट गरेर गठबन्धन भत्काएको उनको भनाइ थियो ।

त्योसँगै ओलीको आशयले केही महिनामा नयाँ सत्तासमीकरण बन्ने र कांग्रेस–एमालेको सहकार्य हुने सम्भावना बलियो देखिने एमाले नेताहरू नै बताउँछन् । “प्रचण्ड जति अस्थिर मान्छे नेपाली राजनीतिमा कोही छैन भन्ने प्रमाणित भएको कुरा हो । हामी सरकारमा जानु टेक्निकल विषय हो‚” एमाले एक नेताले बाह्रखरीसित‚“गठबन्धन धेरै जान्छ भन्ने हामीलाई लागेको छैन । आयु तोक्न सकिँदैन । तर‚ प्रचण्डसँग मिलेर सरकार अघि बढ्दैन भन्ने ०७४ मै देखिएको विषय हो । हामी धेरै एमाले सांसदहरू उत्साहित छैनौँ ।”

एमाले नेताका अभिव्यक्तिले परिस्थिति सहज नरहेको प्रस्ट हुन्छ । त्यसमाथि एमाले–कांग्रेस गठबन्धन बन्छ र बनाउनुपर्छ भनेर कांग्रेस सांसद लागिपरेका छन् । प्रतिनिधिसभाको पहिलो ठूलो दल कांग्रेस र दोस्रो एमाले मिले राजनीतिक स्थायित्व दिन सकिने निचोड निकालेर उनीहरू लागिपरेका छन् ।

नयाँ गठबन्धन निर्माणपछि फागुन २४ गते बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले धोका पाएकाहरू एक ठाउँमा उभिए आफू कहाँ पुग्छु भन्ने हेक्का राख्न प्रचण्डलाई चेतावनी दिएका थिए । “एमालेले एउटा दस्ताबेजमा लेखेको रहेछ– गएका ६ वर्षमा हामीमाथि पटक–पटक धोका भएको छ । यसलाई कसरी लिनुहुन्छ ? पार्टीहरूले लेख्दा रहेछन् नि दस्ताबेजमा,” लेखकले भनेका थिए, “म त के निष्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेन । तर, एकचोटि सोच्नु– यी जम्मै धोका पाएका एक दिन, एक ठाउँ उभिए भने तपाईं कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला ।”

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेर सदन चलेको दिन पनि रोस्ट्रममा उभिएर कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सोही आशयमा बोले । १४ महिनामा तीनपटक विश्वासको मत लिने क्रममा प्रचण्डका पक्षमा मत घट्दै गएको उनले उल्लेख गरे । उनले धोका खाएकाहरू एक हौँ भन्ने नारा लगाइए के हुन्छ भन्दै प्रश्न गरे ।

“पालैपालो विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने नि, धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि ! तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू ?‚” उनले भने‚ “यहाँ (प्रचण्ड)ले अघि (बैठकमा) कांग्रेसको कसैले राजनेता भनेको उद्धृत गर्न खोज्नुभएको छ । कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजी (केपी ओली)ले । तलबाट हाम्रा सभापति (शेरबहादुर देउवा)ले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरूको कुरा चल्न सुरु भयो भने यहाँको यात्राचाहिँ कतातिर चल्छ होला सम्माननीय प्रधानमन्त्रीज्यू ?”

यी सवाल–जवाफपछि कांग्रेस नेताहरू ‘माहोल निर्माण’का पक्षमा बोल्न थालेका छन् । कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्ने र त्यसरी देशलाई स्थायित्व दिन सकिने उनीहरूको तर्क छ । कांग्रेस सहमहामन्त्री समेत रहेका सांसद बद्री पाण्डे प्रमुख दुई दलबीच सत्तासमीकरणको आवश्यकता औँल्याउँछन् । यसरी समीकरण बनाइए व्यवस्थाको औचित्यमाथि उठाइएका प्रश्नको जवाफ दिन सकिने उनको धारणा छ ।

कांग्रेस–एमाले वर्तमान व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेकामा उनी जोड दिन्छन् । “कांग्रेस र एमाले भनेको ०४६ सालपछिका दुई मूल शक्तिहरू हुन् । एकप्रकारले यो व्यवस्थाका संस्थापक नै हुन्,” आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसित उनले भने, “हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउनभन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो ।”

पाण्डेको अभिव्यक्तिले बुझाउँछ, कांग्रेस नेताले एमालेसँग मिलेर नयाँ समीकरण बनाउन चाहेका छन् । प्रतिपक्षभन्दा कांग्रेसलाई सत्ता नै चाहिएको छ । यसरी गठबन्धन बनाउन सके प्रचण्डलाई जवाफ दिन सकिने निष्कर्षमा कतिपय कांग्रेस नेता पुगेका छन् । पटक–पटक धोका पाएको एमाले पनि यही कित्तामा उभिन सक्ने उनीहरूको बुझाइ छ ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेस सांसद रामहरि खतिवडा राजनीतिक स्थिरता वर्तमान आवश्यकता रहेको बताउँछन् । यसका निम्ति संविधानको गतिशीलता र प्रभावकारी कार्यान्वयनको विकल्प नभएको उनी सुनाउँछन् ।

स्थिर सरकार बनाउन निर्वाचन प्रणाली बदल्नुपर्नेमा उनी जोड दिन्छन् । राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित गराउन सके मुलुकलाई स्थिर सरकार दिन सकिने उनको धारणा छ । “यसका लागि कांग्रेस–एमाले मिल्नुको विकल्प छैन । यी विषय संविधान संशोधनसँग जोडिने विषय हो‚” उनले भने‚ “समानुपातिकलाई राष्ट्रियसभामा लैजाऔँ । प्रतिनिधिसभा पूर्ण प्रत्यक्ष बनाएर देश बनाउने कुरामा एक भएर हिँडौँ । स्थिर सरकार बन्न सक्छ । नभए स्थिर सरकार नबन्ने भयो । सधैँ टालाटुली बटुली हुन्छ । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।”

यसबारे केन्द्रीय नेतृत्वबीच छलफल हुन थालेको हो भन्ने प्रश्नमा उनले विषय अघि बढ्दै गरेको भन्दै केही समय धैर्य गर्न आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC