site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुग्ध किसानको रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्वसचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषिसचिव डा. गोविन्प्रसाद शर्मा र पशुपक्षी विकाससचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेका थिए ।

आफ्नो उत्पादनको भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलनरत छन् । किसानलाई भुक्तानीका निम्ति दुग्ध विकास संस्थान (डीडीसी)ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो ।

“किसानले दूधको भुक्तानी नपाएको अवस्थामा राज्य किसानका पीडा हेरेर बस्न सक्दैन । विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ,” पुनले निर्देशन दिँदै भने । निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पनि अर्थ मन्त्रालयले नरोक्ने उनले स्पष्ट पारे ।

अर्थमन्त्री पुनका अनुसार, कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिन लागिएको हो । चालु आर्थिक वर्षमा ५१ अर्ब रुपैयाँ बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कुल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ । मन्त्री पुनले बजेट समर्पणका निम्ति आजै पत्राचार गर्न कृषिमन्त्री र सचिवहरूलाई आग्रह गरे ।

दुग्ध किसानका लागि अर्थमन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने राजस्वसचिव डा. घिमिरेले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro