
काठमाडौं । कलाकार हरिवंंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । आचार्यले युट्युबमार्फत आज ‘मुटु फस्या थियो’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
हरिवंशको स्वर रहेको गीतमा उनलाई फिमेल भोकलमा समीक्षा अधिकारीले साथ साथ दिएकी छन् । गीतमा शब्द तथा संगीत हरिवंश स्वयंको छ ।
गीतमा नेपालमा रहेको विद्यमान बेरोजगारी, वाध्यात्मक वैदेशिक रोजगारी र त्यसबाट सिर्जित समस्यालाई चित्रण गरिएको छ । वैदेशिक रोजगारीसँगै खाली हुँदै गएको गाउँ, पारिवारिक विचलन र विग्रह गीतले समेटेको छ । काम देऊभन्दा सरकारले नागरिकको हातमा हरियो राहदानी थमाउने गरेको यथार्थ हरिवंशले गीतमा समेटेका छन् ।
राजनीतिक नेतृत्वको नीति र बेथितिले देशमै उद्यम गर्छु भन्ने युवाको सपनामा आगो झोसिरहेको बताएका हरिवंश विदेश जानु रहर नभएर बाध्यता भएको स्पष्ट पारेका छन् ।
नवराज उप्रेतीले खिचेको भिडियो सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज वली, अञ्जली अधिकारीलगायत कलाकारको अभिनय छ ।