site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘अनैतिक’ करार गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ महिना पूरा नहुँदै बुधबार प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत लिए । उनले यसअघि २०७९ पुस २६ र चैत ६ गते विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले २०७९ पुस २६ गते संसद्को ९९ प्रतिशत बढी सांसदको विश्वास पाएका थिए । दुई सय ७४ सदस्य रहेको प्रतिनिधिसभामा सभामुखबाहेक २६८ सांसदको विश्वास पाएका उनले दुई महिनापछि फेरि विश्वासको मत लिनुपरेको थियो ।

सरकारबाट नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिरिएपछि उनले दोस्रोपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपरेको थियो ।

दोस्रोपटक २०७९ चैत ६ गते विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डले एमालेसहितका ८९ सांसदको समर्थन गुमाएका थिए । यसमा राप्रपाका १४ सांसद पनि थिए ।

Parliament-a-1710337515.jpg
 

Global Ime bank

२०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिँदा प्रधानमन्त्रीको मत २६८ बाट घटेर १७२ मा झरेको थियो । तेस्रोपटक २०८० फागुन ३० गते विश्वासको मत लिँदा यो संख्या अझ घटेर १५७ मा पुगेको छ ।

पहिलोपटक विश्वासको मत माग्दा विपक्षमा दुई मत थियो भने दोस्रोपटक ८९ पुगेको थियो । तेस्रोपटक प्रधानमन्त्रीका विपक्षमा ११० जना प्रतिनिधिसभा सदस्य उभिएका छन् । यसले प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डको साख गिर्दै गएको देखाउँछ । 

बुधबार पनि प्रधानमन्त्री प्रचण्डलाई यसअघिको गठबन्धनमा समेत रहेका जनता समाजवादी पार्टी (जसपा), र नेकपा (एकीकृत समाजवादी)ले ‘अनैतिक’ करार गर्दै विश्वासको मत दिए ।

नयाँ दल रास्वपाले 'जोखिम मोलेर विश्वासको मत दिएको' भन्दै कुनै पनि बेला विश्वासको मत फिर्ता हुन सक्ने बताएको छ ।

‘अनैतिक’ करार गर्ने दुई दल जसपा र एकीकृत समाजवादीको मत मात्र प्रधानमन्त्रीले नपाएका भए उनको प्रधानमन्त्री पद गुम्ने थियो । तर, ‘अनैतिक’ करार गर्दै जसपा र एकीकृत समाजवादीले विश्वासको मत दिए । रास्वपाले पार्टीभित्र र बाहिरबाट ‘मिसन ०८४’ भन्दै चुनौती दिनेलाई बिर्सिंदा प्रधानमन्त्रीको पद तेस्रोपटक सुरक्षित भएको छ ।

एकीकृत समाजवादीले भने ‘विश्वास नभएको व्यक्तिलाई विश्वासको मत’ दिएको भनेको छ । उसले व्यक्तिवादका विरुद्ध विद्रोह गरेर बनेको पार्टीलाई विद्रोहको मर्ममै प्रहार गरी बीच बाटोमा छोडेको भन्दै प्रधानमन्त्रीको कदमलाई ‘अनैतिक’ भनेर टिप्पणी गर्‍यो ।

Pandeyyy-1710337683.jpg
 

“हामी एकीकृत समाजवादीको तर्फबाट भन्दा यो देशमा पार्टीभित्रको व्यक्तिवादको विरुद्ध विद्रोह गरेर, आफैँले बनाएको पार्टी तोडेर विष पिएर तपाईंहरूलाई साथ दिएका थियौँ,” एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, “तपाईंले बाढीले बगाएर ल्याएको मुढो छोडेझैँ छोडेर हिँड्नुभयो । यो भन्दा अनैतिकता के हुन्छ ?”

पाण्डेले अनैतिकताको जगमा बनेको कुनै पनि कुरा बलियो हुन नसक्ने पनि बताए । त्यतिमात्र होइन, उनले 'जसलाई जहिले पनि धोका दिने पहिचानले प्रचण्ड भोलि एक्लै पर्न सक्ने' चेतावनी नै दिए । पाण्डेले कांग्रेसको मत लिएर चुनावबाट जित्ने र कांग्रेस नै गलत भएको भन्दै टिप्पणी गर्ने प्रवृत्तिले राष्ट्रिय मुद्दामा सहकार्यको आवश्यकता पनि सम्बोधन हुन नसक्ने टिप्पणी गरे । 

“शान्ति प्रक्रियाका धेरै काम बाँकी छन् । संविधान कार्यान्वयन गर्नका लागि थुप्रै काम बाँकी छन् । हिजो कांग्रेसको भोट लिएर जित्ने आज तिमीहरू पुरै बेठिक भन्नु ठिक हुन्छ ?,” प्रश्न गर्दै पाण्डेले भने, “कांग्रेसका तर्फबाट पनि आरोप लगाउने काम भयो । दुवै तर्फबाट भएको कुरा ठिक छैनन् । यो राजनीतिक विकृति हो ।”

सत्तामा प्रधानमन्त्रीसँगै रहेको जसपाले पनि प्रधानमन्त्रीमाथि गम्भीर प्रश्नसहित समर्थन जनाएको छ । उसले प्रधानमन्त्रीले फड्को मारेको सहयात्री दललाई पत्तै नहुने भन्दै प्रधानमन्त्रीको कार्यकाल कति लामो हुन्छ भनेर कसैले भन्न नसक्ने बताएको छ ।

जसपा नेता राजकिशोर यादवले त प्रधानमन्त्रीको अनुहारको तेज घट्दै गएको भन्दै यसले राम्रो संकेत नगरेको टिप्पणी गरे ।

“प्रधानमन्त्रीज्यू, विश्वासको मत माग्दै गर्दा तपाईंको अनुहारमा तेज किन घट्दै छ ? विश्वासको मत माग्नुभएको छ, मलाई शुभकामना दिऊँ पनि लागिरहेको छ । तर, कुन रूपमा दिऊँ शुभकामना ?,” यादवले भने, “तपाईं जनयुद्ध लडेर आएको अहिले ‘उथलपुथल’ गर्दिने हुनुभएको छ । तपाईं कहिले फड्को मार्नुहुन्छ, सहयात्रीहरूलाई थाहै नहुने ।”

Raj-Kishor-1710337584.jpg
 

उनले प्रधानमन्त्रीको कार्यकालको भविष्यवाणी गर्नै सहज नभएको भन्दै कार्यकाल सम्झनलायक बनाउन सुझाव दिए । 

“महाभारतको युद्धमा जानुअघि अभिमन्युलाई उसका काकाहरूले आयुष्मान भव भने तर कृष्णले अजश्री भव भने । अभिमन्युको आमा द्रौपतीले प्रश्न गरिन्, कृष्णलाई । भगवान् भएकाले कृष्णलाई सबै लिला थाहा थियो । त्यसैले आयु लामो भएर हुँदैन । जीवन सार्थक हुनुपर्छ भन्नुभयो,” यादवले भने, “त्यसकारण तपाईंको कार्यकाल लामो होला, यकिन भन्न सक्दिनँ । राष्ट्रका लागि उपलब्धिपूर्ण होस् भन्ने हाम्रो कामना छ ।”

उनले सरकारको आयु प्रधानमन्त्रीकै हातमा रहेको भन्दै स्वभाव र शैलीले कार्यकाल लामो जाने सम्भावना कमजोर रहेको संकेत गरे । 

रास्वपाले पुरानो गठबन्धन भंग भएकोमा गर्व गर्दै प्रधानमन्त्रीको 'लिगेसी' बनाउने प्रयत्नमा जोखिम मोलेर समर्थन गरेको बताएको छ । रास्वपाका उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले रास्वपालाई प्रधानमन्त्रीले गलहत्याउन नपर्ने बताए । उनले सरकारको आयु कति लामो जान्छ भन्ने प्रश्न नजोडी रास्वपा स्वार्थ बाझिएका दिन सरकारलाई दिएको समर्थन फिर्ता गरेर सरकारबाट बाहिरिने जनाउ दिए ।

Swarnim-Wagle-a-1710337514.jpg
 

“एउटा औसत नेताले त आफ्नो छविको ख्याल हुन्छ भने संघर्षपूर्ण इतिहास भएको वरिष्ठ नेतालाई त पक्कै हुन्छ,” वाग्लेले भने, “ब्याज खाएर होइन, प्रधनमन्त्रीको आफ्नो लिगेसीलाई फराकिलो बनाउने विषयमा हामीले जोखिम मोलेर साथ दिएका हौँ ।”

 

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu