
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र बागमती विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोसी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।
आर्मीसँग पराजित भएको कोसी प्रतियोगिताबाट बाहिरिएको छ । समूह 'ए' मा ४ खेल खेलेको कोसी एक खेलमा जित र तीन खेलमा पराजित भयो ।
आर्मी लगातार तीन खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी ६ अंकका साथ शीर्ष स्थानमा छ । आर्मीले अब एपीएफसँग बुधबार दिउँसो लिगको अन्तिम खेल खेल्नेछ ।
सबै चार खेल खेलेको कर्णाली दुई खेलमा जित र दुई खेलमा पराजित भएपछि चार अंकका साथ दोस्रो स्थानमा छ । दुई खेलमध्ये एकमा जित र एकमा पराजित एपीएफ दुई अंकका साथ तालिकामा चौथो स्थानमा छ ।
टस हारेर ब्याटिङ गरेको कोसीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल तयार पारेको थियो । कोसीका लागि दिपेश कँडेलले ३६ बलमा दुई छक्का र दुई चौकासहित अविजित ४० रन बनाए । श्रवण यादवले १४ बलमा पाँच चौकासहित २९ रन बनाए । त्यस्तै, अनिल लामिछानेले २१ रन र सुजन थपलियाले १४ रनको योगदान दिए ।
आर्मीका त्रितराज दासले दुई विकेट लिँदा पवन कार्कीले पनि दुई विकेट लिए ।
जवाफमा १३६ रनको लक्ष्य पछ्याएको आर्मीले १८.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । आर्मीको जितमा 'प्लेयर अफ द म्याच' त्रितराज दासले ३२ बलमा दुई छक्का र चार चौका प्रहार गरी ३५ रन जोड्दा सन्तोष कार्कीले २४ रन जोडे ।
कोसीका श्रिवण यादव र ज्ञानेन्द्र श्रेष्ठले २–२ विकेट लिए ।
दोस्रो खेलमा प्रतियोगिताबाट बाहिरिसकेको वाग्मतीले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको छ । जितसँगै वाग्मती समूह 'बी'मा तीन खेलबाट एकमा जित र दुईमा पराजित हुँदै दुई अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । चारै खेलमा पराजित भएको गण्डकी अंकविहीन भएर घर फर्किएको छ ।
टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १५० रनको स्कोर बनाएको थियो । गण्डकीका लागि ४७ बलमा एक छक्का र ९ चौका प्रहार गरी ६२ रन बनाउँदा अभिषेक थापाले २३ रनको योगदान दिए ।
वाग्मतीका इसान पाण्डेले दुई विकेट लिँदा रामनरेश गिरी, दिपेश श्रेष्ठ र तिलक भण्डारीले समान १–१ विकेट लिए ।
जवाफमा १५१ रनको लक्ष्य पाएको वाग्मतीले १९.२ बलमा ६ विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो । वाग्मतीको जितमा 'प्लेयर अफ द म्याच' रामनेश गिरी २७ बलमा ३ छक्का र ४ चौका प्रहार गरी अविजित ५० रनको पारी खेले । त्यस्तै, रविन जोशीले अविजित ३२ रन बनाउँदा आशसतोष घिरैयाले २९ रन बनाए ।
गण्डकीका सुवास भण्डारीले ३ विकेट लिँदा सन्दिप पराजुली र अविशेक थापाले १–१ विकेट लिए ।
बुधबार पहिलो खेल पुलिस र लुम्किनी तथा दोस्रो खेल दुई विभागिय टोली आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।