काठमाडौं । करिब डेढ दशकअगाडि चलचित्र ‘लुट’ रिलिज हुँदा फरक धारको सिनेमा भनियो । ‘बलिउड फर्मुला’मा सिनेमा बनिरहेका बेला ‘लुट’ कथा भन्ने फरक शैलीसहित नेपाली चलचित्र उद्योगमा प्रवेश गरेको थियो ।
पाँच फाइट, चार गीत, हिरोहिरोइनको लभ र रोमान्स, सुरुमा बलियो खलनायक र अन्तिममा हिरोले लिने बदलामा सिनेमा बनिरहेका बेला ‘लुट’ फरक कथ्यशैलीसहित प्रदर्शन गरिएको थियो । ‘लुट’ले रेकर्ड ब्रेक कलेक्सन गर्यो । धेरैले अनुमान गरे– फरक धारको ‘लुट’ले नेपाली सिनेमाको ट्रयाक नै परिवर्तन गरिदिने भयो ।
धेरैको अनुमान मिल्यो । त्योजस्तै सिनेमा बनाउने क्रम सुरु भयो । बलिउड फर्मुलामा सिनेमा बनाइरहेका मेकरले ‘लुट’ले सुरुआत गरेको कथ्यशैली पछ्याए । ‘लुट’ जस्तै सिनेमा बनाउने लहर चल्यो । ‘लुट’ जस्तै सिनेमा बनाउन मेकरबीच प्रतिस्पर्धा नै देखियो ।
एकथरी मेकरले ‘नयाँ धार’का सिनेमा बनाउन थाले । पुराना मेकरले बलिउड शैली नै पछ्याइरहे । अहिले पनि नेपाली सिनेमामा कथा भन्ने शैली दुईथरी नै छ । पहिलो, ‘लुट’ फर्मुला । दोस्रो, बलिउड फर्मुला । भलै, यी दुवै धारका सिनेमामा हिरोको काँधमा कथा बोकाउने चलन छ । तटस्थ रूपमा कथालाई प्रधान बनाएर सिनेमा बनाउन नेपाली मेकरले सकेका छैनन् ।
पछिल्लो समय कथित ‘फरक धार’मा चलचित्र मेकिङको संख्या फर्मुला सिनेमाको भन्दा धेरै भइसकेको छ । अर्थात्, संख्यात्मक हिसाबले हेर्दा फर्मुलाभन्दा फरक धारकै चलचित्रको संख्या उच्च हुन थालिसकेको छ ।
“नेपाली सिनेमा उद्योगमा अहिले मेनस्ट्रिम सिनेमा कुन हो भन्ने विषय वास्तवमै बहसको विषय हो भन्ने लाग्छ,” निर्देशक नरेशकुमार केसी भन्छन्, “कथित फरक धार र मेनस्ट्रिम भनिएका कुन सिनेमामध्ये कुनलाई मूलधार भन्ने भन्नेमै दुविधाको अवस्था छ भन्ने लाग्छ ।”
सामान्यतः पपुलर नै मेनस्ट्रिम सिनेमा हुन् । जसमा दर्शकको धेरै रुचि हुन्छ, धेरै बक्सअफिस कलेक्सन गर्छ, त्यही नै मेनस्ट्रिम सिनेमा हो । “एकै वाक्यमा भन्दा स–परिवार जुन सिनेमा हेर्न दर्शक जान्छन्, त्यही नै मेनस्ट्रिम सिनेमा हो,” नरेश स्पष्ट पार्छन् ।
तर, नेपालमा अहिले सिनेमाको संख्या र यसको बजार अध्ययन गर्दा कुनै एकप्रकारका चलचित्र बढी रुचाइन्छ भन्ने नरहेको उनको तर्क छ । “कुनै समय चीनमा मार्सल आर्टका सिनेमा मेनस्ट्रिम थिए । जापानमा थ्रिलर, कोरियामा बच्चाका सिनेमा मेनस्ट्रिम थिए, किनभने ती सिनेमा सबैभन्दा धेरै हेरिन्थे,” उनी भन्छन्, “तर, अहिले नेपालमा कुनै एक जानराविशेषका सिनेमा मात्रै रुचाइरहेको भनेर तोकेरै भन्ने अवस्था छैन ।”
पछिल्लो समय नेपालमा धेरै हेरिनेमा ‘छक्का पञ्जा’ र ‘कबड्डी’का सिरिज हुन् । ‘कबड्डी’ नै नजिक रहेर बनाइएको ‘जारी’ चलेको थियो । ‘छक्का पञ्जा’ जस्तै नभए पनि सिचुएसनल कमेडी जानरामा ‘जात्रा’ सिरिज बनाइँदै छ । ‘जात्रा’ सिरिजका निर्देशक प्रदीप भट्टराईले बनाएका अधिकांश चलचित्र कमेडी जानराकै वरपर छन् ।
अरू चलचित्रले खासै व्यापार गर्न सकिरहेका छैनन् । करोड क्लबमा प्रवेश गर्ने सिनेमाले पनि ठूलो आँकडामा कलेक्सन गर्न सकेका छैनन् । “कलेक्सनकै हिसाबले हेर्ने हो भने अहिले हामीले फरक धार भनिएका सिनेमाको बक्सअफिस कलेक्सन राम्रो छ । यिनै सिनेमा हेर्न परिवारसहित दर्शक आएको देखिन्छ,” नरेश भन्छन्, “तर, हामीले मेनस्ट्रिम भनिरहेका सिनेमामा दर्शक गएको देखिएको छैन ।”
कलेक्सनका हिसाबले अहिले फरक धार भनिएका चलचित्रले नै राम्रो कमाइ गरेकाले यसैलाई मेनस्ट्रिम भन्न सकिने उनको धारणा छ । तर, अधिकांश सिनेमा यही धारमा बनाइँदा एकाध मात्र चलेकाले कसरी मूलधार भन्ने प्रश्न गर्न सकिने ठाउँ रहेको उनी बताउँछन् । यद्यपि, मूलधारका भनिएका सिनेमा फरक धारका जति नहेरिएकाले त्यसलाई कसरी मेनस्ट्रिम स्वीकार गर्ने भन्ने प्रश्न गर्न सकिने नरेशको तर्क छ ।
मूलधारका सिनेमाले कलेक्सन गर्छन् भनेर ठूलो परिमाणमा लगानी गरिए पनि अपेक्षित प्रतिफल प्राप्त भइरहेको छैन । तिनलाई ‘कमर्सियल’ सिनेमा भनिन्छ । तर, तिनै कमर्सियल भनेर निर्माण गरिएका चलचित्रले व्यापार गर्न सकिरहेका छैनन् ।
“कमर्सियल सिनेमा भनेर एउटै सिनेमामा तीन÷चार करोड लगानी भइरहेको छ । तर, तिनै सिनेमाको लगानी डुबिरहेको छ । जति धेरै लगानी भयो, त्यति धेरै लगानी उठ्ने प्रतिशत घट्दै जान्छ,” नरेश भन्छन्, “तीन करोडमा त त्यस्तै पर्यो भने सानो बजेटका तीनवटा आर्ट सिनेमा बन्छन् । जति कम लगानीमा सिनेमा बन्यो, लगानी रिकभर हुने सम्भावना पनि त्यति नै धेरै हुन्छ । अहिले मेकरले यो तथ्य किन बुझिरहेका छैनन् भन्ने हो ।”
नेपाली सिनेमा उद्योगमा अहिले सबैभन्दा धेरै घाटा नै कमर्सियल भनेर बनाइने चलचित्रबाट भइरहेको उनको भनाइ छ । सिनेमा उद्योगमा अहिलेको घाटा कम गर्न कमर्सियलभन्दा पनि आर्टहाउस मुभीमा लगानी गर्नु जायज हुनेमा उनी जोड दिन्छन् ।
अब्स्ट्रयाक र मेनस्ट्रिम भनेर के आधारमा सिनेमालाई वर्गीकरण गर्ने भन्ने विषयमा आफू पनि दोधारमा रहेको नायिका केकी अधिकारी बताउँछिन् । “ट्रेन्ड फलो गर्ने क्रममा एउटाले ट्रेन्ड सेट गर्छ होला, बक्सअफिस कलेक्सन राम्रो गरेपछि त्यसलाई मूलधार समात्यो भन्ने होला ?,” केकी भन्छिन्, “अब्स्ट्रयाक भन्नेबित्तिकै टाइटभन्दा अलि बेग्लै सिनेमा होला । जसले कमर्सियल रूपमा हिट सिनेमा दिइरहेका हुन्छन्, त्यो ट्रेन्ड फलो नगरी त्यसको विपरीत दिशामा हिँड्ने सिनेमा सायद अब्स्ट्रयाक मुभी होलान् ।”
समयानुसार सिनेमाको परिभाषा पनि परिवर्तन हुँदै जाने उनी बताउँछिन् । राजेश हमालको समयमा उनले काम गर्ने चलचित्र मेनस्ट्रिम रहेको स्मरण गर्दै केकी ‘लुट’ अब्स्ट्रयाक सिनेमामा गणना हुने तर्क गर्छिन् । “जब ‘लुट’ले नयाँ ट्रेन्ड सेट गर्यो र त्यसलाई फलो गर्दै अरू सिनेमा त्यस्तै बन्न थाले, त्यसपछि ‘लुट’ले सेट गरेको ट्रेन्डमा बन्ने सिनेमा मेनस्ट्रिम बन्यो,” उनी भन्छिन्, “अब अहिलेको ट्रेन्ड हेर्दा पहिलाका मूलधारका सिनेमा अहिले अब्स्ट्रयाक भए होला भन्ने लाग्छ ।”
पहिले अब्स्ट्रयाक भनिएका सिनेमा नै अहिले दर्शकले हेर्न थालेको र त्यसैले राम्रो कलेक्सन गरिरहेको केकी सुनाउँछिन् । ट्रेलरबाटै दर्शक हलसम्म जाने अवस्था कुनै सिनेमाले बनाउँछ भने त्यसैलाई मूलधार भन्नुपर्ने उनको धारणा छ । ‘लुट’ले सेट गरेको ट्रेन्डअनुसार धेरै सिनेमा बनाइएको र त्यस्तै चलचित्र तुलनात्मक रूपमा दर्शकको रोजाइमा पर्ने गरेको उनी बताउँछिन् ।
अहिले धेरै सिनेमाले ‘छक्का पञ्जा’ र ‘कबड्डी’को ट्रेन्ड फलो गरिरहेको केकीको भनाइ छ । “अहिले धेरै मेकरले ‘छक्का पञ्जा’ र ‘कबड्डी’कै ट्रेन्ड फलो गरिरहेको देखिन्छ । ट्रेलरमा पनि त्यस्तै देखिन्छ । फिल्म हेर्दा पनि प्रयास त्यस्तै देखिन्छ,” उनी भन्छिन्, “यो कुरा हुनेबित्तिकै त्यसले मूलधार समात्यो भन्ने नै हो । पहिला यिनै सिनेमा अब्स्ट्रयाक थिए । जसमा समावेश हुने फेस पनि कमर्सियल भ्यालु नभएको फेस भनेजसरी लिइन्थ्यो । समयको परिवर्तनसँगै मूलधारमा कुनै समयका अब्स्ट्रयाक मुभी आइपुगे भन्ने लाग्छ ।” मूलधारविपरीतका चलचित्र नै अब्स्ट्रयाक मुभी भन्ने उनको बुझाइ छ ।
इतिहासको अध्ययन गर्दा निश्चित समयपछि दर्शकको रुचिअनुसार सिनेमाको मेकिङ पनि फेरिँदै आएको देखिने केकी बताउँछिन् ।
निर्देशक प्रमोद कँडेल दर्शकमाझ बिक्री हुने चलचित्र नै मूलधारको सिनेमा भएको टिप्पणी गर्छन् । “वडा नम्बर ६ बनाउँदा दीपकराज गिरी र दीपाश्री निरौलाको टिम मेनस्ट्रिम थिएन । तर, ‘छक्का पञ्जा’मा आइपुग्दा उनीहरू मेनस्ट्रिम मेकरका रूपमा आइपुगे,” प्रमोद स्पष्ट पार्छन्, “‘लुट’ बनाउँदा निश्चल बस्नेतले अब्स्ट्रयाक मुभी बनाएका थिए । तर, निश्चलले ‘दिमाग खराब’ बनाउँदा मेनस्ट्रिम मेकरका रूपमा बनाएका हुन् ।”
‘दंगल’ बनाउँदा आमिर खान मेनस्ट्रिममा थिएनन् । तर, अहिले उनले बनाउने सिनेमा मेनस्ट्रिममा दरिइसकेको कँडेलको तर्क छ । “नेपालमा केही समयता कमेडी जानराका सिनेमा मेनस्ट्रिम भएको हो । अहिले एक्सन जानरा मेनस्ट्रिम हुन खोजिरहेको छ, तर सकिरहेको छैन,” उनी भन्छन्, “दर्शकले जे मन पराउँछन्, जुन कलाकार र निर्देशकले आफ्नो ब्रान्ड बनाउँछ, त्यही नै मेनस्ट्रिम हो ।”
लन्डनका प्रोडक्सन हाउसहरूले नियमित रूपमा सिनेमा बनाउन थालेपछि विश्वमा मेनस्ट्रिम चलचित्र मेकिङको सुरुआत भएको थियो । ती स्टुडियोहरूले स्टार भ्यालु भएका कलाकार लिएर सिनेमा बनाएर आमपब्लिकमाझ पुर्याउँथे । र, मिडियामा पनि सेलिब्रिटीका न्युजले ठूलो स्थान पाउन थालेपछि मेनस्ट्रिम सिनेमाको विकास र विस्तार भएको इतिहास छ ।