काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै उनले स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार क्रियाशील रहेको बताए ।
उनले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिरहेको बताए । उनले देशभरका सबै अस्पतालमा १० प्रतिशत शैय्या गरिब, विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलामा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिरहेको बताए ।
उनले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था गरिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारको बजेट निर्माणको प्रक्रिया नयाँ शिराबाट अघि बढाएको बताए ।